• ३ वैशाख २०८३, बिहिबार

समानुपातिक प्रणालीले संसद् समावेशी : प्रधानमन्त्री

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख ३ गते । प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदलाई कुनै एउटा क्षेत्रविशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका ‘क्लस्टर’ को सच्चा पहरेदार बन्न आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार भएको छलफलमा उहाँले समानुपातिक सांसदको भूमिकालाई राष्ट्रिय मूलधार र समुदायको सेतुका रूपमा व्याख्या गर्नुभयो । प्रधानमन्त्री शाहले सांसदलाई स्पष्ट कार्यदिशा दिँदै भन्नुभयो, “तपाईंको पहिलो प्राथमिकता आफ्ना क्लस्टरका मुद्दा उठाउनु हो, त्यसपछि राष्ट्रिय कानुन निर्माणमा केन्द्रित हुनुहोस् र समग्र देश विकासमा ध्यान दिनुहोस् । प्रत्यक्ष निर्वाचित सांसद एउटा क्षेत्रमा बाँधिएका हुन्छन् तर तपाईंहरू देशभरका आफ्ना क्लस्टरका लागि आशाको केन्द्र हुनुहुन्छ ।”

छलफलका क्रममा केही सांसदले प्रत्यक्ष र समानुपातिकबिच भेदभाव हुने गरेको गुनासो गरेपछि प्रधानमन्त्री शाहले त्यसलाई प्रस्ट्याउँदै भन्नुभयो, “यसलाई विभेदका रूपमा नबुझिदिनुहोस् । यो छुट्टै छलफल तपाईंहरूका क्लस्टरका समस्या गहिराइमा पुगेर सुन्न र स्पष्ट ध्यानाकर्षण गराउनका लागि गरिएको हो ।  यो भेदभाव होइन बरु तपाईंले बोक्ने विशिष्ट मुद्दालाई न्याय गर्ने प्रयास हो ।”

प्रधानमन्त्री शाहले आगामी पाँच वर्षसम्म निरन्तर सहकार्यको प्रतिबद्धता जनाउँदै समस्या समाधानमा प्रविधि प्रयोगमा जोड दिनुभयो । छलफलमा उठेका तात्कालिक विषयमा ‘फलोअप’ गरिने र आगामी दिनमा आवश्यक सुझाव तथा समन्वयका लागि ‘डिजिटल माध्यम’ बाट सधैँ खुला रहने उहाँको भनाइ थियो । समानुपातिक प्रणालीले संसद्लाई पूर्ण र समावेशी बनाउने उहाँको धारणा थियो । प्रधानमन्त्री शाहले सांसदलाई कानुन निर्माण र संसदीय समन्वयमा निर्धक्क भएर प्रभावकारी भूमिका निर्वाह गर्न अनुरोध गर्नुभयो ।

महिला, दलित, मधेशी, खसआर्य, थारूलगायतका ‘क्लस्टर’ का सांसदले आफ्नो ‘क्लस्टर’ र समुदायका समस्याबारे सरकारलाई सुझाव दिएका नेपाली कम्युनिस्ट पार्टीका समानुपातिक सांसद गणेशबहादुर विश्वकर्माले बताउनुभयो । छलफलमा समानुपातिक सांसदले ‘क्लस्टर’ गत विकास समस्या, चुनौती र समाधानका उपायबारे धारणा राख्नुभएको थियो ।