नवराज नेपाली
बागलुङ (गलकोट) वैशाख ३ गते । ढोरपाटन सिकार आरक्ष कार्यालय परिसरमा ७४ लाख खर्चेर पर्यटक सूचना केन्द्र स्थापना गरिएको छ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सहजताका लागि पर्यटक सूचना केन्द्र स्थापनाका लागि भवन निर्माण गरिएको छ ।
बिवाइसी बागलुङ अन्र्तगत दिगो पर्यटन प्रवर्धन परियोजनाको ७४ लाखको लागतमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको छ । सूचना केन्द्रमा सिकार आरक्षका गतिविधि, सिकारको जानकारी तथा नाउर, झारल र रेडपाण्डा जस्ता जनवारको खाग तथा छाला लगायतका बस्तु समेत राखिने छ ।
ढोरपाटन सिकार आरक्ष कार्यालय परिसरमा उक्त पर्यटक सूचना केन्द्र भवन निर्माण गरिएको हो । पर्यटकलाई सही सूचना प्रदान गर्ने उद्देश्यले सूचना केन्द्र निर्माण गरिएको बिवाइसी बागलुङका सचिव विक्रम पौडेलले जानकारी दिनुभयो ।
ढोपाटन घुम्न आउने पर्यटकहरुले ढोरपाटनमा रहेको नाउर, झारल, डाँफे, रेडपाण्डा जस्ता विभिन्न जनवारको जानकारी दिने उद्देश्यले वृहत सूचना केन्द्र स्थापना गरिएको पौडेलेको भनाइ छ ।
ढोरपाटनमा सिकार खेल्न विदेशी सिकारी हेलिकोप्टर चाटर्ड गरेर आउने गरेका छन् भने आन्तरिक पर्यटक स्थलमार्गमार्फत भ्रमण तथा अवलोकनमा आउने गरेका छन् । यसैलाई लक्षित गरी दिगो पर्यटन प्रर्धन परियोजनामार्फत ७४ लाख लागतमा सिकार आरक्षको मुख्य कार्यालय परिसरमा सूचना केन्द्र निर्माण गरिएको हो । सूचना केन्द्रको भवन तयार भइसकेको छ आवश्यक अन्य संरचना बनाउन बाँकी रहेको छ । भवन सिकार आरक्षलाई हस्तान्तरण पश्चात सूचना केन्द्र सञ्चालनमा आउनेछ ।
भवन हस्तान्तरण भएर सिकार आरक्ष मातहतमा आएपछि आरक्षको मुख्यालयमा भएको संग्रहालय तथा सूचना केन्द्रका सामाग्री त्यहाँ राखिने छ भने परियोजनालेनै डिजिटल सूचना बोर्डमा आरक्षका गतिविधि देखाउने छ । सूचना केन्द्रमा ढोरपाटन सिकार आरक्षको सिकार ब्लक, क्षेत्रफल, जंगली जनावारको संख्या, सिकार गरिएको संख्या, पर्यटकको संख्या, नाउर तथा झारलको डमी र डिजिटल सूचना बोर्ड राखिने ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीले जाककारी दिनुभयो ।
विशेषगरी सिकार खेल्न अनुमति प्राप्त नाउर तथा झारलको अवशेष, छाला र सिङ्ग सूचना केन्द्रमा राखिनेछ । “सिकार त चार हजारभन्दा माथिल्लो हिमाली भेगमा हुन्छ, आरक्षमा आउने पर्यटकलाई कम्तिमा सिकार खेल्ने जनवारको डमी, खाग तथा छाला देखाउन सकिन्छ भने सूचना केन्द्रमा राख्न थालेका छौं” सुवेदीले भन्नुभयो “वर्षेनी बढ्दै गरेका आन्तरिक पर्यटकलाई एकछिन भए पनि जानकारी दिएर भुलाउन सूचना केन्द्रले सहयोग पुर्याउछ ।”
सिकार आरक्षको मुख्यालय ढोरपाटन नगरपालिकाको वडा नम्बर ९ स्थित सिकार आरक्षको कार्यालय नजिकै सुविधा सम्पन्न सूचना केन्द्रको भवन तयार भइसकेको छ ।