अमृतप्रसाद पौडेल
म्याग्दी, वैशाख ३ गते । हिन्दू धर्मावलम्बीहरूको आस्थाको प्रमुख केन्द्रका रूपमा परिचित गलेश्वरधाममा सञ्चालन हुँदै आएको गुरुकुल शिक्षा परम्परा विभिन्न समयका स्वार्थ र व्यवस्थापन समस्याका कारण पटक–पटक अवरुद्ध हुँदै अन्ततः ओझेलमा परेको छ। विगतमा पटक–पटक बन्द हुने र पुनः सुरु हुने गरेको यो परम्परा अहिले भने गलेश्वर मन्दिरबाट बाहिर सारिएको करिब छ वर्षमै नामोनिसान मेटिने अवस्थामा पुगेको छ।
उपलब्ध तथ्यअनुसार गलेश्वर मन्दिरसँगै वि.सं. २०२६ सालमा घतानका गिरीराज सुवेदी, टिकानन्द सुवेदी, पात्लेखेतका जगन्नाथ पौडेल, श्रीदत्त पौडेल, तीनमानेका देवीप्रसाद सुवेदी तथा पुलाका गोपाल सुवेदीले अध्ययन सुरु गरेसँगै यहाँ गुरुकुल शिक्षाको सुरुवात भएको थियो।
गुरुकुललाई संस्थागत गर्न वि.सं. २०२८ मा तत्कालीन सरकारसमक्ष दरबन्दीका लागि राजदरबारमा बिन्तीपत्र पेस गरिएको थियो। त्यसपछि वि.सं. २०२९ मा नयाँ शिक्षा नीति लागू भएपछि विद्यालय सञ्चालनको अनुमति दिने जानकारी प्राप्त भएको घतानका टिकानन्द सुवेदीले बताउनुभयो।
वि.सं. २०३१ मा गलेश्वर निम्न माध्यमिक विद्यालय सञ्चालनको अनुमति दरबारको आदेशअनुसार सरकारबाट प्राप्त भएको थियो। तर गलेश्वरमा सञ्चालन हुनुपर्ने विद्यालयको अनुमति तोरीपानीमा विद्यालय स्थापना गरिएपछि गलेश्वरमा गुरुकुल सञ्चालनमा बाधा पुगेको उहाँको भनाइ छ। यस घटनापछि वि.सं. २०३२ देखि २०४० सम्म गुरुकुल शिक्षा गलेश्वरधाममा पूर्ण रूपमा बन्द रह्यो।
स्थानीय अगुवाको पहल र धार्मिक व्यक्तित्वहरूको अग्रसरतापछि वि.सं. २०४२ मा धान्याञ्चल आयोजना गरी वि.सं. २०४३ देखि गुरुकुल पुनः सञ्चालनमा ल्याइएको पण्डित भीमनाथ पराजुलीले बताउनुभयो। उहाँका अनुसार २०४३ मा गुरुकुल पुनः सुरु हुँदा कमलनयनाचार्य, वेदमा विद्यावारिधि गर्नुभएका गुरु पुरुषोत्तम, रंगराजलगायत गुरुहरूले अध्यापन गराउनुभएको थियो।
गुरुकुल सञ्चालनका लागि वि.सं. २०४८ मा स्थानीयवासीले व्यवस्थापन सम्हालेका भए पनि लामो समय गुरुकुल चल्न सकेन र केही वर्षपछि पुनः रोकियो।
वि.सं. २०५६ मा गलेश्वरमा विराट महायज्ञ सम्पन्न भए पनि त्यसपछि पुनः तीन वर्षजति गुरुकुल सञ्चालन अवरुद्ध भएको थियो। वि.सं. २०५९ देखि पुनः सञ्चालनमा आएको गुरुकुलमा वि.सं. २०६० मा मुगु, प्युठानको स्वर्गद्वारी र काठमाडौँबाट वटुक ल्याई अध्ययन गराइएको थियो।
तर वि.सं. २०७७ मा गुरुकुललाई विस्थापन गरी स्थानीय जडभरत प्राथमिक विद्यालयमा गाभिएपछि गुरुकुल परम्परा पुनः समाप्तप्रायः भएको अवस्था छ। गलेश्वर क्षेत्रमा जडभरत प्रावि बिलबहादुर कार्कीको अगुवाइमा २०३६ मा स्थापना भएको थियो। सोही विद्यालय हाल माध्यमिक तहसम्म पुगेको भए पनि संस्कृत अध्ययन गर्ने विद्यार्थी अहिले शून्य प्रायः रहेको शिक्षक मनोज पौडेलले बताउनुभयो।
झापास्थित सुवेक्षा कीर्तन मण्डलीका लक्ष्मीप्रसाद सुवेदीले विगतमा गुरुकुलमा वटुकहरूले वेद–शास्त्र अध्ययन गरेको देखिए पनि अहिले उक्त परम्परा हराउनु दुःखद भएको बताउनुभयो। “गुरुकुलले धर्म र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्थ्यो, तर अहिले त्यो नदेखिनु चिन्ताजनक छ,” उहाँले भन्नुभयो। धार्मिक यात्रामा आउँदा यस क्षेत्रमा गुरुकुल अध्ययन गर्ने वटुक देख्दा हुने उत्साह अहिले नपाउँदा दुःख लागेको उहाँले बताउनुभयो।
गुरुकुलीय शिक्षा शून्य भए पनि गलेश्वर मन्दिर क्षेत्रको संरचना र भौतिक पूर्वाधार भने मजबुत रहेको छ। गलेश्वर शिवालयमा स्वयं उत्पत्ति भएको शिवलिङ्ग भएकाले प्राणप्रतिष्ठा गर्नु नपर्ने गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव रेग्मीले बताउनुभयो। उहाँका अनुसार गलेश्वरमा ऐतिहासिक र धार्मिक महत्वका धेरै संरचना तथा सम्पदा रहेकाले दर्शन र पूजा–अर्चनाका लागि उत्कृष्ट गन्तव्य बनेको छ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव तेजेन्द्रबहादुर खत्रीका अनुसार यहाँ मुख्य मन्दिर, सत्सङ्ग भवन, पूजा–हवन कुण्ड, १०८ शिवलिङ्ग, बराह ताल, पुस्तकालय, शाकाहारी भोजनगृहलगायतका संरचना रहेका छन्। करिब नौ रोपनी क्षेत्रफलमा रहेको चक्रशिलामा स्वयं उत्पन्न ज्योतिर्लिङ्ग यहाँको प्रमुख आकर्षण मानिन्छ।
कोषका सदस्यसचिव सम्मरबहादुर थापाले स्वदेश तथा विदेशबाट आउने भक्तजनका लागि अन्नक्षेत्र तथा बसोबासको व्यवस्था समेत गरिएको जानकारी दिनुभयो। धार्मिक जनश्रुतिअनुसार भगवान् शिवले आफ्नी धर्मपत्नी सतीदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा गला पतन भएकाले “गलेश्वर” नाम रहन गएको विश्वास गरिन्छ।
स्थानीयवासीहरूले गलेश्वरधामजस्तो धार्मिक केन्द्रमा गुरुकुल शिक्षा पुनः सञ्चालनका लागि पहल गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।