• ३ वैशाख २०८३, बिहिबार

थारु समुदायको मौलिक खेल ‘भोदि’ संरक्षणमा रामग्रामका युवा सक्रिय

blog

भोदि खेलमा सहभागि खेलाडीहरूलाई थारु कल्याणकारिणी सभाद्वारा सम्मान । तस्बिरः बिकास अधिकारी

बिकास अधिकारी
पश्चिम नवलपरासी, वैशाख ३ गते ।
थारू समुदायको मौलिक खेलको रुपमा रहेको ‘भोदि’ खेलको संरक्षणमा पश्चिम नवलपरासीको रामग्रामका थारू युवाहरू सक्रिय भएका छन् । उनीहरू नवलपुरमा आयोजित प्रथम राष्ट्रिय भोदि खेल प्रतियोगितामा समग्र लुम्बिनी प्रदेशको प्रतिनिधित्व गरेर उपविजेता बन्न सफल भएका छन् ।

थारू समुदायको परम्परागत खेलको विषयमा धेरै युवालाई जानकारी समेत नभएको अवस्थामा रामग्रामका थारू युवाहरू भने भोदि खेललाई पहिचानको रुपमा संरक्षण गर्न लागिपरेका छन् । भोदि खेलका प्रशिक्षक उदयराज चौधरीले थारू समुदायको परम्परागत खेलको रुपमा रहेको भोदि तर्फ युवाहरूलाई आर्कषण गर्न भोदिका विषयमा प्रशिक्षण दिदैँ आएको बताउनुभयो ।

दि खेलमा जमिनमा सानो खाल्डो (डाङ) खनिन्छ र त्यसमा १० वटा काठका लट्ठी (टाँचा) राखिन्छ । करिब १० मिटर टाढाबाट अर्को लट्ठीले हानेर ती लट्ठी निकाल्नुपर्छ । दुई अतिरिक्त सहित दस जना खेलाडी हुने उक्त खेलमा कम समयमा बढी लट्ठी निकाल्ने टोली विजेता हुन्छ । प्रतियोगितामा उपाधि जितेको गण्डकी प्रदेशले ५५ हजार जितेको छ भने द्वितीय भएको लुम्बिनी प्रदेशको प्रतिनिधित्व गरेको रामग्रामले ३५ हजार र तृतीय भएको कोशी प्रदेशले २५ हजार नगद, शिल्ड र प्रमाणपत्र पाएको खेल संयोजक रिमबहादुर महतोले जानकारी दिनुभयो ।

थारू कल्याणकारिणी सभा रामग्राम नगर कमिटीले भोदि खेल खेलेर उपविजेता भएका खेलाडी, प्रशिक्षक र टिम म्यानेजरलाई नवलपरासी सदरमुकाम परासी बुद्धचोकमा सम्मान गरेको छ । सभाका उपसभापति चन्द्रमणि चौधरीले भोदि खेल पहिचानसँग जोडिएको खेल भएको बताउँदै यसको संरक्षणमा तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । मौलिक संस्कृति संरक्षण गर्न सके मात्र सांस्कृतिक विविधताले धनी मुलुकको मान्यता स्थापित गर्न सकिने चौधरीको भनाइ थियो ।