नवलपरासी समाचारदाता
कावासोती, वैशाख ३ गते । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाले पालिकाभित्रका बालिकालाई पाँच हजार रुपियाँसहितको बैङ्क खाता उपहार दिएको छ ।
‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका बालबालिकाको बैङ्क खातामा पाँच हजार रुपियाँ जम्मा गरेको छ । पहिलो पटक ३६ जना बालिकालाई रकम जम्मा गरिदिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुुभयो ।
हुप्सेकोट गाउँपालिकाभित्र स्थायी बसोबास गरेका दम्पतीले छोरी जन्माएमा सो रकम बैङ्कमा राखिदिने गरेको छ । चालु आवको फागुन मसान्तसम्म जन्मिएका ३६ जना छोरीको बैङ्क खातामा पाँच हजारका दरले एक लाख ८० हजार रकम गाउँपालिकाले निकासा भएको जानकारी उहाँले दिनुभयो । उहाँले भन्नुभयो, “छोरीको बैङ्क खातामा अभिभावकलाई समेत कम्तीमा पाँच हजार जम्मा गर्न आग्रह गर्ने गरेका छौँ ।”
छोरीकै नाममा हुने बैङ्क खाताको संरक्षक अभिभावक हुने छन् । छोरीका नाममा बैङ्क खातामा राखिएको रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षासहित बचत गर्ने बानीको विकास गर्न यो कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।
यसरी बैङ्कमा जम्मा हुने रकमले छोरीको सुनौलो भविष्यका लागि बचत गर्ने बानीको विकास हुनुका साथै अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा गरिएको छ । छोरी जन्मँदा खुसी नहुने समाजमा छोरीप्रति सम्मान र आत्मनिर्भरताको विकास गर्नुका साथै भ्रूण हत्या रोक्नका लागि पनि यो अभियान सुरु गरिएको हो ।
हुप्सेकोट गाउँपालिकाले आव २०७७/७८ देखि सो कार्यक्रम सुरु गरी अहिले बैङ्क खाता खोलेर रकम जम्मा गर्ने अभियान चलाएको छ । यो कार्यक्रम सञ्चालन भएपछि उमेर पुगेर बच्चा जन्माउने, नियमित स्वास्थ्य चौकी आएर गर्भ परीक्षण गर्ने, अस्पतालमै सुत्केरी हुनेलगायतका सकारात्मक बानीको विकास भएको हुप्सेकोट गाउँपालिकाले जनाएको छ ।