• २८ फागुन २०८२, बिहिबार

वचनको राजनीति,ओलीले हारेपछि इलाम छाडेर पाँचथर सर्नुभयो नेम्वाङ

blog

इलाम छाड्ने बेला जगतबहादुर नेम्वाङलाई बिदाइ गरिँदै । बाजी हारेपछि इलाम छोड्नुभएका नेम्वाङ (इन्सेटमा) ।

फिदिम समाचारदाता

फिदिम, फागुन २८ गते  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन हार्नुहुन्न, उहाँले हारे म इलाम छाड्छु भनेर बाजी राखेकै कारण इलाम नगरपालिका–१० मा बस्दै आएका जगतबहादुर नेम्वाङ इलाम छोडेर पाँचथर फर्कनुभएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका–४, चिलिङ्दिन थातथलो भई करिब १५ वर्षदेखि इलाम नगरपालिका–१० मा बसोबास गर्दै आएका नेम्वाङ एमालेको इलाम नगर कमिटी सदस्य हुनुहुन्छ ।

सामाजिक सञ्जालमा रमेश बुढाथोकीसँग ओलीले झापा–५ मा जित्नुहुन्छ कि हुन्न भन्ने विषयमा वादविवाद हुँदा उहाँले ओलीले कुनै हालतमा हार्नुहुन्न, उहाँ हार्नुभयो भने म इलाम छोड्छु भन्दै बाजी राख्नुभएको थियो ।

पूर्वप्रधानमन्त्री ओलीको हारपछि अरूले राजनीतिमा बेइमान गरे पनि आफूले त्यसो नगर्ने भन्दै पुख्र्यौली थलो फर्केको उहाँले बताउनुभयो । नेम्वाङले भन्नुभयोे, “इमानको राजनीति गर्नु पर्छ भन्ने मेरो सर्त हो । त्यसैले बाजी हारेपछि म गाउँ फर्केको हुँ ।” 

गाउँ फर्केपछि उहाँ इमानदार बन्नुभएको चर्चा सुरु भएको छ । नेपाली कांग्रेस पाँचथरका जिल्ला सचिव दीपक नेपालले नेम्वाङ आफ्नो पुख्र्यौली थलो पाँचथरको फाल्गुनन्द गाउँपालिका–४, चिलिङ्दिन फर्किएको बताउनुभयो । उहाँले भन्नुभयो, “पाँचथरे लिम्बू वचनमा अझ पक्का हुन्छन् । पाँचथरमा नेम्वाङलाई स्वागत छ ।”

एमालेका प्रदेश सभा सदस्य तथा कोशी प्रदेशका सांसद राम रानाले पनि सामाजिक सञ्जालको बहसका व्रmममा गरिएको प्रतिबद्धता नेम्वाङले पूरा गरेको बताउनुभयो । नेम्वाङले भन्नुभयो, “राजनीतिमा नेताले धेरै कुरा बोल्छन् तर पूरा गर्दैनन् भन्ने आरोप लाग्ने गर्छ । मैले भने बोलेको कुरा पूरा गरेको छु ।”

नेम्वाङको परिवारका सदस्य भने इलाममै छन् । उहाँका दुई छोरा र एक छोरी छन् । कान्छा छोरा भारतीय सेनामा कार्यरत छन् भने जेठो छोरा व्यापारमा संलग्न छन् । परिवार इलाममै बसिरहे पनि उहाँ भने पाँचथर फर्कनुभएको हो ।

पाँचथरमा पुख्र्यौली जग्गाजमिन भएकाले अब उतै बस्ने तयारीमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नेकपा (एमाले) को पार्टी सदस्यता पनि पाँचथरमै सार्ने निर्णय लिएको छु । यसबारे पाँचथरको पार्टी कमिटीसँग समन्वय भइरहेको छ ।”