लुम्बिनी, फागुन २८ गते । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल -याली गरिएको छ ।
‘सबैका लागि मिर्गौला स्वास्थ्य’ नारासहित वर्षमा एक पटक मिर्गौला जाँचौँ, आफनो मिर्गौला बचाऔँ भन्ने अभियानका साथ साइकल -याली तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो । केन डाईबेटिज एण्ड थाइरोइड सेन्टर, नेपाल सोसाईटी अफ नेफ्रोलोजी, बुटवल युनाइटेड साइक्लिङ क्लब, लायन्स क्लब अफ बटौलीको संयुक्त आयोजनामा सम्पन्न साइकल -याली कालिका मानविज्ञान विद्यालयबाट सुरु भएको थियो । -याली बुटवल नगर परिक्रमा गरी रामनगर हुँदै तिलोत्तमा नगरपालिकाको बनबाटिका जानकीनगरस्थित केन सेन्टरमा पुगेर समापन भएको थियो ।
कार्यक्रममा नेपाल सोसाईटी अफ नेफ्रोलोजीका अध्यक्ष डा शक्ति बस्नेतले विश्व परिवेशमानै मिर्गौला समस्या हुने सङ्ख्या बढ्दो रहेको बताउनुभयो । “विश्वमा ७८ करोड जनसङ्ख्या मिर्गौलाको समस्या भएका व्यक्ति छन्”, उहाँले भन्नुभयो, “नेपालका कुल जनसंख्यामध्ये १० प्रतिशतमा कुनै न कुनै किसिमको मिर्गौलाको समस्या छ ।”
केन सेन्टरका अध्यक्ष दिनेश कक्षपतीले आफनै परिवारमा मिर्गौला रोगबाट परेको समस्याको बताउनुभयो । उहाँले आफनो क्षेत्रबाट थोरै भएपनि सचेतना जगाउने अभियानमा सबैको हातेमालो जरुरी रहेको बताउनुभयो । पछिल्लो समयमा केनमा उपचार गर्न आउने मधुमेहका बिरामीहरुमध्ये करीब चार सय बढीको मिर्गौला बचाउन सफल भएको उहाँले बताउनुभयो । रासस