• २८ फागुन २०८२, बिहिबार

कञ्चनपुरका निर्वाचित सांसद समस्या बुझ्न गाउँ–बस्तीमा

blog

बलौरी–९ कुण्डामा मतदातासँग भेटघाट गर्दै सांसद जनक सिंह धामी। तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट
कञ्चनपुर, फागुन २८ गते ।
कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी भएका प्रतिनिधि सभा सदस्यहरू पछिल्लो समय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आएका छन्।

कञ्चनपुर क्षेत्र–१ बाट निर्वाचित सांसद जनक सिंह धामी बिहीबार बेलौरी नगरपालिका–९ का कुण्डा, रतनपुर, वडा नं. १० भुडा लगायतका क्षेत्रमा पुगेर मतदाताका समस्या बुझ्नुभयो। बेलौरी–९ का स्थानीय गोपाल चौधरीले कुण्डामा रोकिएका सडक योजना समयमै सम्पन्न गर्न पहल गर्न आग्रह गर्नुभयो।

सांसद धामीले मतदातासँगको भेटघाटमा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, नियम संशोधन र रोजगारीका अवसर सिर्जना गर्न कटिबद्ध रहनुपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसअघि सोमबार सांसद धामीले बेलौरीस्थित भीमदत्त चोक, कलकत्ता बजार, गोकुलपुर बजार, बेलडाडीस्थित चवौंन्नी बजार, लालझाडीस्थित चानदेव, कन्ज बजार तथा पुनर्वासका विभिन्न टोल–बस्तीमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गर्दै, सरकार गठन भए लगत्तै यस क्षेत्रको हितमा आवश्यक नीति नियम बनाइने प्रतिबद्धता जनाउनुभएको थियो।

त्यसैगरी, कञ्चनपुर क्षेत्र–३ बाट निर्वाचित सांसद ज्ञानेन्द्र सिंह महतले पनि जनतासँग भेटघाट गर्दै समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। बिहीबार भीमदत्त नगरपालिकाका विभिन्न वडा तथा दोधारा चाँदनी नगरपालिकाका टोल–बस्तीमा पुगेर सांसद महताले जनतामा अभिभावक राज्यको महसुस गराउने योजना रहेको बताउनुभयो।

सांसद महताले यस क्षेत्रका विकासका लागि आवश्यक नीति, नियम निर्माण गरिने र युवालाई रोजगारी प्रदान गर्न आवश्यक कदम चालिने पनि जनाउनुभयो। शपथग्रहणपछि जनताको समस्या बुझेर त्यस अनुरूप अघि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।