• २७ फागुन २०८२, बुधबार

गण्डकी प्रदेशकी एक्ली सांसद महिला

blog

कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएकी रास्वपा उम्मेदवार बिना गुरुङ ।

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन २७ गते । छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका एक सय ६५ सिटमध्ये १४ सिटमा मात्र महिलाले जित हात पारेका छन् । 

दैलेख १ मा नेपाली कांग्रेसकी बासना थापा निर्वाचित हुँदा बाँकी सबै १३ प्रतिनिधिसभा सदस्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित भएका हुन् । कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएकी रास्वपा उम्मेदवार बिना गुरुङ गण्डकी प्रदेशकै प्रत्यक्षतर्फ निर्वाचित एकमात्र सांसद महिला बन्नुभएको छ । 

उहाँ ३७ हजार सातसहित ५० मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका मनोज गुुरुङले १२ हजार सात सय ८० मतमात्र पाउनुभयो । यही क्षेत्रका निवर्तमान सांसदसमेत रहनुभएका नेकपा (एमाले)का दामोदर बैरागीले सात हजार नौ सय छ मतमै समेटिनुभयो ।

महिला उद्यमशीलता, स्थानीय उत्पादनको बजारीकरणसहित समाजसेवा सक्रिय उहाँ पहिलो प्रयासमै प्रतिनिधिसभा सदस्य चुनिनुभएको हो । सञ्जिवनी दिदीबहिनी केन्द्र नेपाल नामको गैरसरकारी संस्था स्थापना गरी त्यसको नेतृत्वसमेत गर्नुभएकी उहाँ २०७२ सालको भूकम्प र कोभिड महामारीका बेला विभिन्न क्षेत्रमा राहत तथा स्वास्थ्य सामग्री पु¥याउन दत्तचित्त हुनुहुन्थ्यो । समाजसेवाबाट परिचित बन्नुभएकी उहाँ प्रतिस्पर्धीभन्दा तीन गुणा मतले पछि पार्दै सांसद चुनिएपछि अहिले मतदातालाई धन्यवाद दिन घरदैलोमा हुनुहुन्छ । 

उहाँ अहिले रास्वपा गण्डकी प्रदेशकी कोषाध्यक्षसमेत हुनुहुन्छ । कास्की क्षेत्र नम्बर ३ मा एक लाख सात हजार पाँच सय ६० मतदाता रहेकोमा ६५ हजार चार सय सात मत खसेको थियो । निर्वाचनमा दुई हजार सात सय ५८ मत बदर भएको थियो । प्रतिनिधिसभा सदस्य गुरुङ पञ्चासे केबलकार परियोजनाको सञ्चालक समिति सदस्यसमेत हुनुहुन्छ । 

करिब दुई तिहाइको समर्थनमा रास्वपाको सरकार बन्ने निश्चित भएको छ । सत्तारुढ रास्वपाकी संसद उहाँ महिला सशक्तीकरण, सामाजिक विकास र सुशासनका लागि योगदान गर्ने वाचा गर्नुहुन्छ । “जनताले हामीलाई ठूलो भरोसा गर्नुभएको छ । नतिजा नदेखाएसम्म विजयको खुसी मनाउनुको खास अर्थ छैन,” उहाँले भन्नुभयो, “मैले टिकट पाउँदा नै भनेकी थिएँ, जबसम्म काम गरेर देखाउन सक्दिनँ, तबसम्म कुनै पनि बधाई र सम्मान लिने छैन ।”

आफ्नो क्षेत्रका ग्रामीण वडा र महानगरको भूगोल समस्याबारे जानकार रहेको बताउँदै उहाँले मत माग्न घरदैलोमा जाँदा जनताले दिएका सुझाव नै आफ्ना मुख्य एजेन्डा भएको सुनाउनुभयो । “सुशासन, नीतिगत सुधारसहित जनताले घरदैलोमा दिएका सुझाव, मार्गदर्शनअनुसार अघि बढ्छौं,” उहाँले भन्नुभयो, “जेनजी आन्दोलनको मर्मसहित जनताको यो विश्वास र जनमतलाई नतिजामा उतार्नका लागि नीतिगत तहमा भूमिका निर्वाह गर्छु ।”

पर्वतको महाशिला गाउँपालिका वडा ५ मा जन्मिनुभएकी उहाँ अहिले पोखरा महानगरपालिका वडा नम्बर ५ मा बसोबास गर्नुहुन्छ । प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएकी ५३ वर्षीया गुरुङ जनताले खोजेको परिवर्तन यही कार्यकालमा सम्भव हुने दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “मतमार्फत् जनताले दिएको आदेश हामी यही कार्यकालमा लागू गर्ने गरी लाग्छौँ । रास्वपाको नेतृत्व र नीतिले देशलाई नयाँ दिशा दिन्छ ।”