• २७ फागुन २०८२, बुधबार

संसदीय दलको भूमिका : विषयगत प्रश्नोत्तर

blog

संसदीय दलको भूमिका 

१. संसदीय दल भनेको के हो ? संसदीय व्यवस्थामा संसदीय दलको भूमिका उल्लेख गर्दै नेपालमा संसदीय दलको गठन र सञ्चालनसम्बन्धी विद्यमान कानुनी व्यवस्था उल्लेख गर्नुहोस् । साथै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलले राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने अवस्थाबारे जानकारी गराउनुहोस् । 

कुनै राजनीतिक दलबाट निर्वाचित भई संसद्मा प्रतिनिधित्व गर्ने सदस्यहरूको सङ्गठित समूहलाई संसदीय दल भनिन्छ । यसले राजनीतिक दल र संसदबिच सम्बन्ध सेतुको रूपमा काम गर्छ । संसदीय दलमा संसदीय दलको नेतालगायत अन्य पदाधिकारी रहन्छन् । संसदीय दलको नेताले संसद्मा आफ्नो दलको तर्फबाट लिने निर्णय र उठाउने सवालको नेतृत्व गर्छन् । निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलले संसद्मा प्रतिनिधित्व नगर्न सक्छन् । आमनिर्वाचनको माध्यमबाट संसद्मा दलको हैसियत निर्धारण हुन्छ । संसद्मा आफ्नो हैसियतका आधारमा संसदीय दलले सरकार गठन गरी आफ्नो घोषणापत्र लागु गर्न प्रयत्नशील रहन्छ । सरकारमा भाग लिएको तथा सरकारलाई समर्थन गरेको वा सरकारमा भाग नलिएको आधारमा संसदीय दललाई सरकार पक्ष÷सत्ता पक्ष दल र प्रतिपक्ष दलका रूपमा हेरिन्छ । संसद्को बैठकमा सदस्यहरू बस्ने बेञ्च पनि सोहीबमोजिम निर्धारण गरिएको हुन्छ । 

संसदीय व्यवस्थामा संसदीय दलको भूमिका 

क) सरकार गठन तथा सञ्चालन

प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त हुने र निजको अध्यक्षतामा मन्त्रीपरिषद् गठन हुन्छ । प्रदेश सरकार गठनमा प्रदेश संसदीय दलको भूमिका रहन्छ ।

सरकारको तर्फबाट संसद्मा पेस हुने नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरी सरकार सञ्चालनमा सहयोग गर्न सम्बन्धित संसदीय दल जिम्मेवार रहन्छ ।

ख) घोषणापत्र तथा दलीय प्रतिबद्धता कार्यान्वयन

जनता समक्ष गरेका वाचा र प्रतिबद्धता कार्यान्वयन गर्न सरकारमा रहेको संसदीय दलले सरकारलाई सहयोग गर्छ ।

दलीय प्रतिबद्धता अनुसारका नीति तथा कानुन जारी गरी सरकारलाई सहयोग गर्न संसद्मा रहेका अन्य दल तथा विभिन्न पैरवी समूहसँग आवश्यक 

समन्वय गर्छ ।

ग) कानुन निर्माण

सत्ता पक्ष र प्रतिपक्षमा रहेका दलले सरकारले पेस गरेका विधेयकउपर छलफल गरी दलीय दृष्टिकोण प्रस्तुत गर्ने छ ।

संसदीय समितिहरूमा संसदीय दलका सदस्यलाई प्रतिनिधित्व गराई कानुन निर्माणमा सक्रिय सहभागिता जनाउने छ ।

विधेयक पारित गर्न वा रोक्न सङ्गठित रूपमा मतदान गर्ने छ ।

घ) सरकारका कामकारबाहीको निगरानी र जवाफदेहिताको खोजी

सदनमा सरकारका मन्त्रीलाई प्रश्न गरी जवाफदेही बनाउन आफ्ना सदस्यलाई निर्देशन दिने छ ।

सरकारका कामकारबाहीको सम्बन्धमा आफ्ना सदस्यलाई विभिन्न समितिमा प्रतिनिधित्व गराई अनुगमन गर्ने गराउने छ ।

संवैधानिक निकाय तथा सरकारका वार्षिक प्रतिवेदन उपरको छलफलमा आफ्ना दलका सदस्यलाई सहभागी गराउने छ ।

ङ) राष्ट्रिय सरोकार र सार्वजनिक महत्वका सवालमा जनताको आवाजको प्रतिनिधित्व

शून्य समयमा समसामायिक विषयमा आवाज उठाई सरकारको ध्यानाकर्षण गर्न आफ्ना सदस्यलाई निर्देशन दिने छ ।

राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता लगायतका राष्ट्रिय हित रक्षाका सवालमा सरकारलाई जवाफदेही बनाउन सदनमा आवाज उठाउन सदस्यलाई निर्देशन दिने छ ।

राष्ट्रिय हितविपरीत हुन सक्ने सन्धि सम्झौताको विषयमा दलीय अडान र दृष्टिकोण स्पष्ट गर्ने छ ।

च) ह्विप जारी गर्ने तथा संसद्मा दलीय अनुशासन कायम

सत्ता पक्ष र प्रतिपक्षमा रहेका संसदीय दलका सदस्यलाई संसदीय दलले विभिन्न विषयमा दलीय निर्देशन जारी गरी सङ्गठित मतदानका लागि आह्वान गर्छन् ।

ह्विपको उल्लङ्घन गर्ने सदस्यलाई सचेत गराउने तथा अनुशासनको दायरामा ल्याउने कार्य गर्छन् ।

छ) सभा सञ्चालनमा समन्वय र सहकार्य

सदनको कार्यसूची तय गर्न तथा सभाको कामकारबाहीका सम्बन्धमा सभामुखलाई परामर्श उपलब्ध गराउने ।

संसदीय दल गठन तथा सञ्चालनसम्बन्धी व्यवस्था

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले संसदीय दलसम्बन्धी व्यवस्था गरेको छ । ऐनमा उल्लेख भएबमोजिम संसदीय दल गठन तथा सञ्चालनसम्बन्धी व्यवस्था निम्न छन् ः

सङ्घीय संसद् वा प्रदेश सभाको निर्वाचनमा कम्तीमा दुई स्थानमा निर्वाचित भई प्रतिनिधित्व गर्ने दलले सङ्घीय संसदीय वा प्रदेश संसदीय दल गठन गर्न सक्ने छ ।

यसरी गठन हुने दलबाट निर्वाचित भएका संसद् सदस्य स्वतः सम्बन्धित संसदीय दलको सदस्य मानिने छ ।

सङ्घीय संसद् वा प्रदेश सभाका संसदीय दलका सदस्यले आफूमध्येबाट एक जना संसदीय दलको नेता निर्वाचित गर्छन् । संसदीय दलको नेताको निर्वाचन र अन्य विषय सम्बन्धित दलको विधानले निर्देशित गर्ने छ ।

संसदीय दलमा दलको नेताका अतिरिक्त आवश्यकता अनुसार उपनेता, सचेतक वा सदस्य–सचिव रहन्छन् । सामान्यतयाः दलको नेताले यी पदाधिकारी मनोनयन गर्छन् । 

संसदीय दलका नेता वा सचेतकले संसदीय दलका पदाधिकारीको विवरण सङ्घीय संसद् सचिवालय वा प्रदेश सभा सचिवालयमा उपलब्ध गराउनुपर्ने छ ।

संसदीय दलले सङ्घीय संसद् सचिवालय र प्रदेश सभा सचिवालयमा दलको विधान तथा नियमावली, संसदीय दलको छुट्टै विधान भएमा सोको एक प्रति, निर्वाचित जनप्रतिनिधिको नामलगायतका विवरण उपलब्ध गराउनुपर्ने छ ।

सङ्घीय संसद् सचिवालय वा प्रदेश सभा सचिवालयले संसदीय दलको कार्यसम्पादनका लागि कार्यालय स्थापना गर्न आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने छ ।

संसदीय दलले संसद्मा आफ्ना सदस्यलाई अनुशासित बनाई सव्रिmयतापूर्वक संसदीय कामकारबाहीमा भाग लिन निर्देशन गर्छ । यसका साथै देहायका प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्न संसदीय दलले ह्विप जारी गर्न सक्छ ः

सरकारको विश्वास वा अविश्वासको प्रस्ताव,

सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्ने विषय,

वार्षिक बजेट पारित गर्ने विषय,

राष्ट्रिय वा सार्वजनिक महत्वको अन्य कुनै विषय ।

राष्ट्रिय दलको मान्यता

आमनिर्वाचनले दलको हैसियत निर्धारण गर्छ । प्रतिनिधि सभा निर्वाचनमा कुनै राजनीतिक दलले प्राप्त गरेको परिणामको आधारमा राष्ट्रिय दलको मान्यतासम्बन्धी विषय निक्र्योल गरिन्छ । राष्ट्रिय सभा तथा प्रदेश सभाको निर्वाचनको परिणामले कुनै दल राष्ट्रिय दल बन्ने वा नबन्ने भन्ने विषय निक्र्योल गर्दैन । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ ले गरेको व्यवस्था अनुसार राष्ट्रिय दल बन्नको लागि राजनीतिक दलले प्रतिनिधि सभा निर्वाचनमा देहायको सफलता हासिल गर्नु पर्छ ।

क) समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत,

ख) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कम्तीमा एक सिट प्राप्त ।

अन्त्यमा संसदीय दलहरू संसदीय प्रणालीका अभिन्न अङ्ग हुन् । संसदीय कामकारबाहीलाई व्यवस्थित गर्नुका साथै सरकार गठन र सञ्चालनलाई सही मार्गदर्शन गर्न यिनीहरूको भूमिका महìवपूर्ण हुन्छ । राजनीतिक दलले निर्वाचनमा गरेका वाचा, प्रतिबद्धता तथा घोषणा लागु गराउने सम्बन्धमा संसदीय दलले संसद्को माध्यमबाट आवश्यक कार्य गर्छन् । संसद्मा सदस्यको भूमिकालाई प्रभावकारी बनाउन संसदीय दलले आफ्ना सदस्यको क्षमता विकास, उचित परामर्श तथा निर्देशन र दलीय अनुशासन कायम गर्ने कुरामा जोड दिनु पर्छ । 


२. निजामती कर्मचारीले आफ्नो कर्तव्य पालनाको क्रममा ध्यान दिनुपर्ने नैतिक दायित्व के के हुन् ? प्रचलित निजामती सेवा नियमावलीमा उल्लेख भएबमोजिमका यी दायित्व बुँदागत रूपमा उल्लेख गर्नुहोस् ।

निजामती कर्मचारीले राज्यकोषबाट पारिश्रमिक प्राप्त गर्छन् । कर्मचारीले प्राप्त गर्ने पारिश्रमिकको मूल आधार नै नागरिकबाट असुल हुने कर हो । त्यसैले कर्मचारीको कार्यव्यवहार र आचरण नागरिकमैत्री हुनुपर्ने मान्यता राखिन्छ । निजामती सेवा नियमावलीले व्यवस्था गरेबमोजिम निजामती कर्मचारीले आफ्नो कर्तव्य पालना गर्दा देहायबमोजिमका नैतिक दायित्वलाई ध्यान दिनु पर्छ ः

सेवाग्राहीप्रति समान किसिमको व्यवहार गर्ने,

राष्ट्र र जनताको बृहत्तर हितलाई प्राथमिकता दिने,

वस्तु तथा सेवा वितरणको मापदण्ड र कार्यविधिको पारदर्शिता कायम राख्ने,

सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने,

स्रोतसाधनको मितव्ययितापूर्वक परिचालन गर्ने,

कार्यसम्पादन प्रक्रियालाई सरलीकृत गर्ने,

न्यूनतम समयमा कार्य जिम्मेवारी सम्पादन गर्न प्रयत्नरत रहने,

आधारभूत मानवीय मूल्य र मान्यताप्रति सम्मान गर्ने,

सबै समुदाय र क्षेत्रप्रति समान दृष्टिकोण राखी समान व्यवहार र सम्मान गर्ने,

अन्त्यमा माथि उल्लेख गरिएका निजामती कर्मचारीका दायित्व जनमुखी र नतिजामुखी सार्वजनिक प्रशासन निर्माणका आधार पनि हुन् । हरेक निजामती कर्मचारी अन्तर्मनदेखि नै यी दायित्वप्रति प्रतिबद्ध भई पालना गर्नु पर्छ ।


३. राष्ट्रिय स्रोत अनुमान समितिका काम, कर्तव्य र अधिकार उल्लेख गर्नुहोस् ।

नेपाल सरकारले वार्षिक बजेट तर्जुमा गर्दा कुल स्रोतको अनुमान एवं खर्चको सीमा निर्धारण गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक राष्ट्रिय स्रोत अनुमान समिति रहने व्यवस्था छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले यस समितिका काम, कर्तव्य र अधिकार सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छ :

तीन तहको खर्च, राजस्व, वैदेशिक सहायता र आन्तरिक ऋण परिचालनको अवस्था र बजेट कार्यान्वयनको समीक्षा गरी उपलब्ध हुन सक्ने स्रोतको आकलन गर्ने,

आवधिक योजना, मध्यमकालीन खर्च संरचना तथा सरकारको नीति तथा कार्यक्रमको आधारमा आगामी तीन वर्षको खर्च आवश्यकताको आकलन गर्ने,

सम्भाव्य आर्थिक वृद्धि, राजस्व र अन्य स्रोत परिचालनको परिदृश्य, समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्व, बजेट कार्यान्वयनको अवस्था विश्लेषण गर्ने,

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाको विश्लेषण गरी त्यसबाट सरकारको राजस्व, वैदेशिक सहायता र आन्तरिक ऋणमा पर्ने प्रभाव आकलन गर्ने,

तीन तहमा प्राप्त हुन सक्ने कुल राष्ट्रिय स्रोत अनुमान र खर्चको आवश्यकताबिच सन्तुलन मिलाउने,

स्रोत अनुमान तथा खर्चको सीमा निर्धारण गरी सोसमेतको आधारमा मध्यमकालीन समष्टिगत वित्त खाका तयार गर्ने,

मन्त्रालयगत सीमा बाँडफाँट गर्दा नेपाल सरकारको प्रतिबद्धता, प्राथमिकता, नागरिकको जीवनस्तर तथा रोजगारीमा वृद्धि र गरिबी निवारणतर्फ बढी स्रोत सुनिश्चित गर्ने,

स्रोत अनुमान तथा खर्च सीमासम्बन्धी प्रतिवेदन तयार गरी अर्थ मन्त्रालयमा पठाउने ।

यसरी राष्ट्रिय स्रोत अनुमान समितिले तिनै तहमा उपलब्ध हुन सक्ने स्रोत तथा खर्चको अनुमान गरी समष्टिगत आर्थिक स्थायित्वसमेत ख्याल गरी बजेटको सीमा निर्धारण गर्छ ।


४. प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित हुन आवश्यक योग्यता र निर्वाचनसम्बन्धी प्रक्रिया उल्लेख गर्नुहोस् । 

प्रतिनिधि सभाको बैठक मर्यादित र व्यवस्थित ढङ्गले सञ्चालन गर्न तथा संसद्मा प्रतिनिधित्व गर्ने दलबिच समन्वय गरी सदनका कामकारबाहीलाई प्रभावकारी रूपमा अगाडि बढाउन सभाध्यक्षको आवश्यकता पर्छ । प्रतिनिधि सभाको सभाध्यक्षलाई सभामुख भनिन्छ । नेपालको संविधानको धारा ९१ मा प्रतिनिधि सभाको सभामुखसम्बन्धी व्यवस्था रहेको छ । प्रतिनिधि सभाका सदस्यले आफूमध्येबाट सभामुख निर्वाचित गर्ने हुँदा सभामुखका लागि छुट्टै योग्यताका आधार निर्धारण गरिएको पाइँदैन । प्रतिनिधि सभा सदस्यका लागि निर्धारण गरिएका योग्यताका आधार नै सभामुखका योग्यताका आधारको रूपमा लिन सकिन्छ । त्यसबाहेक सभामुखको निर्वाचन गर्दा सभामुख र उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नु पर्छ । सम्भव भएसम्म सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्छ । यस अर्थमा देहायका योग्यता भएको व्यक्ति सभामुख हुन योग्य भएको मानिन्छ :

नेपाली नागरिक,

पच्चिस वर्ष उमेर पूरा भएको,

नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको,

कुनै सङ्घीय कानुनले अयोग्य नभएको,

कुनै लाभको पदमा बहाल नरहेको,

प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको,

सभामुख निर्वाचन प्रक्रिया 

प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई सभामुख निर्वाचन गर्नुपर्ने अवस्था वा अन्य कुनै कारणले सभामुखको पद रिक्त भई निर्वाचन गर्नुपर्ने दुई अवस्थामा सभामुखको निर्वाचन हुने गर्छ । अघिल्लो अवस्थामा प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधि सभाका सदस्यले आफूमध्येबाट सभामुखको निर्वाचन गर्छन् । यस अवस्थामा सभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्छन् । पछिल्लो अवस्थामा अधिवेशन चालु रहेको भए पद रिक्त भएको मितिले र अधिवेशन चालु नरहेकोमा अधिवेशन प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र सभामुखको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन प्रव्रिmया सुरु गरिन्छ । यस अवस्थामा सभाको बैठकको अध्यक्षता उपसभामुखले गर्छन् । निजको पद पनि रिक्त रहेको अवस्थामा ज्येष्ठ सदस्यले अध्यक्षता गर्छन् । नेपालको संविधान तथा प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम सभामुख निर्वाचन प्रव्रिmया देहायबमोजिम अगाडि बढ्छ :

प्रतिनिधि सभाको निर्वाचनपश्चात् हुने सभामुखको निर्वाचन ज्येष्ठ सदस्यले तोकेको दिन र समयमा हुन्छ र त्यसको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवले प्रकाशन गर्छन् ।

निर्धारित समयभित्र कुनै सदस्यले अर्को सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनु पर्छ ।

प्रस्तावको सूचना प्रस्तावकले बैठकमा प्रस्तुत गरेपछि बढीमा तीन सदस्यले समर्थन गर्न सक्छन् । एक मात्र प्रस्तावको सूचना प्राप्त भएको अवस्थामा प्रस्तावित सदस्य सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिन्छ ।

एकभन्दा बढी प्रस्तावको सूचना प्राप्त भएको अवस्थामा सभाको बैठकमा प्रस्तावक र समर्थकले बोल्ने क्रम सकिएपछि सबै प्रस्तावमाथि सङ्क्षिप्त छलफल गरी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिन्छ ।

जुन प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्यको बहुमतबाट पारित हुन्छ । सो प्रस्तावमा प्रस्तावित सदस्य सभामुख पदमा निर्वाचित भएको मानिन्छ । यस व्रmममा हुने सभाको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा गरिन्छ ।

बहुमतद्वारा प्रस्ताव पारित हुन नसकेमा पुनः निर्वाचन प्रक्रिया अगाडि बढ्छ ।

बैठकको अध्यक्षता गर्ने व्यक्ति नै सभामुख पदका लागि प्रस्तावित भएमा त्यसपछिको ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने प्रावधान छ ।

यसरी प्रतिनिधि सभाका सदस्यले आफूमध्येबाट एक जना सभामुख निर्वाचित गर्छन् । सभामुख निर्वाचन प्रक्रिया पन्ध्र दिनभित्र सक्नुपर्ने गरी समय सीमा निर्धारण गरिएको छ । सभामा प्रतिनिधित्व गर्ने दलबाट सभामुख निर्वाचित भए पनि निर्वाचित भइसकेपश्चात् सभामुखले तटस्थ र निष्पक्ष रूपमा सभा नायकको भूमिका निर्वाह गर्नु पर्छ ।

प्रस्तुतकर्ता : अर्जुन शर्मा