गजेन्द्र गुरुङ
खजुरा, फागुन २७ गते । बाँकेको कोहलपुराम बिहीबारदेखि प्रथम कोहलपुर प्राइड लिग (केपीएल) टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक कोहलपुर स्पोर्टस् एकेडेमी कोहलपुरले बुधबार कोहलपुरमा पत्रकार सम्मेलनको आयोजना गरि बिहीबारदेखि कोहलपुृरमा प्रथम केपीएल क्रिकेट प्रतियोगिता हुन लागेको जानकारी दिएको हो ।
प्रतियोगिताका डाइरेक्टर विनायक गिरीले पेय पदार्थ कम्पनी क्याम्पा कोलाको प्रबन्धमा प्रतियोगिता सञ्चालन हुन लागेको जानकारी दिनुभयो । उहाँले फागुन २८ गते बिहीबारदेखि चैत २ गतेसम्म सञ्चालन हुने प्रतियोगितमा देशभरका ६ वटा क्रिकेट टिमले सहभागिता जनाउने बताउनुभयो ।
उहाँका अनुसार ब्राइटल्याण्ड स्कुल नेपालगन्ज, युनाइटेड भिजन क्रिकेट क्लब, एसपीए कलेज धनगढी, कोहलपुर स्पोर्टस् एकेडेमी, कोहलपुर, न्यू होराइजन स्पोर्टस् क्लब भैरहवा र हिमालयन क्रिकेट एकेडेमीले प्रतियोगितामा सहभागित जनाउने छन् ।
प्रतियोगिताका मिडिया कोअर्डिनेटर सञ्जय मण्डलले प्रथम हुने टिमले नगद चार लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिनुभयो । त्यसैगरी द्वितीय हुने टिमलाई नगद चार लाख तथा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने बेस्ट ब्याटर र बेस्ट बलरले क्रमशः १०÷१० हजार रुपियाँ नगद प्राप्त गर्नेछन् ।
उहाँले प्रतियोगितामा विनोद विष्ट, कुशल मल्ल तथा भीम सार्की लगायतका राष्ट्रिय खेलाडीको सहभागिता रहने बताउनुभयो । उहाँका अनुसार क्यानका सेक्रटरी पारस खड्काले उद्घाटन गर्ने प्रतियोगितामा पहिलो खेल ब्राइटल्याण्ड स्कुल र युनाइटेड भिजनबीच हुनेछ । प्रतियोगिताभर दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने प्रतियोगिता लिग चरणमा गरिने उहाँले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान लेखबहादुर क्षेत्रीले बाँकेको पर्यापर्यटनका साथै यस क्षेत्रको खेलकुद विकासका लागि प्रतियोगिता महत्वपूर्ण रहने बताउनुभयो । उहाँले क्लबले प्रतियोगिताको आयोजना गरेर क्रिकेट खेललाई प्रवर्धन गर्न पहिलो प्रयास गरेको भन्दै यसलाई निरन्तरता दिनका लागि सबै पक्षले सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित कोहलपुर क्रिकेट रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको संरक्षक कोहलपुर नगरपालिका रहेको छ । बाँके जिल्ला क्रिकेट सङ्घको समन्वय र कोहलपुर क्रिकेट स्पोर्टस् एकेडेमी कोहलपुरको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।