• २७ फागुन २०८२, बुधबार

मध्यपूर्वका नेपालीको उद्धारका लागि 'सिचुएसन सेन्टर' स्थापना

३० लाख नेपालीको सुरक्षामा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री शर्मा

blog

पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्मा।

काठमाडौँ, फागुन २७ गते । अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्व लगायतका द्वन्द्वग्रस्त क्षेत्रमा रहेका लाखौँ नेपाली नागरिकको सम्भावित उद्धारका लागि सरकारले पूर्वतयारी सुरु गरिसकेको बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले युद्धको समयमा मात्र नभई पूर्वयोजनाका साथ काम गर्न मन्त्रालयको अगुवाइमा ‘सिचुएसन सेन्टर’ स्थापना गरिएको जानकारी दिनुभयो । मध्यपूर्वमा युद्ध भड्किँदा नेपाली नागरिकलाई किन तत्काल स्वदेश फर्काइँदैन भन्ने जिज्ञासालाई सम्बोधन गर्दै मन्त्री शर्माले यसमा श्रमिकहरूको मनोविज्ञान र बाध्यता जोडिएको बताउनुभयो ।

मन्त्री शर्माका अनुसार हाल औपचारिक रूपमा करिब १९–२० लाख र अनौपचारिक रूपमा समेत गरी २५ देखि ३० लाख नेपाली नागरिक विदेशमा छन् । "यति ठूलो सङ्ख्यामा रहेका नागरिकलाई आवश्यक परेका खण्डमा उद्धार गर्नु सामान्य कुरा होइन, यसका लागि राष्ट्रिय स्तरमै योजना र पूर्वाधार आवश्यक पर्छ," उहाँले स्पष्ट पार्नुभयो । सोही आवश्यकतालाई मध्यनजर गर्दै स्थापना गरिएको 'सिचुएसन सेन्टर' ले विदेशमा रहेका नेपालीको नियमित विवरण राख्ने, तथ्याङ्क सङ्कलन गर्ने र उद्धारका लागि आधार (बेस) को रूपमा काम गर्ने उहाँको भनाइ छ ।

राज्यले आफ्ना नागरिकलाई अलपत्र छाड्न नमिल्ने भन्दै उहाँले ३० लाख नागरिकको उद्धार गर्नुपरे पनि सरकार पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, ट्रान्जिटमा रोकिएका नेपालीको समस्या छिट्टै समाधान हुने उहाँले जानकारी दिनुभयो । मन्त्री शर्माले भन्नुभयो, "हाम्रा नागरिक रोजगारीका लागि गएका हुन्, युद्ध सुरु हुनेबित्तिकै फर्किहाल्ने मानसिकतामा सबै हुँदैनन् ।"

परराष्ट्र मन्त्रालयको आन्तरिक मूल्याङ्कन प्रस्तुत गर्दै मन्त्री शर्माले इजरायल र इरानबीचको युद्ध उत्कर्ष (पिक) मा पुगेर ओरालो लागिसकेको बताउनुभयो । युद्धको तीव्रता अब बिस्तारै घट्दै जाने र त्यहाँ रहेका नेपाली नागरिक प्रत्यक्ष निसानामा नरहेकाले धेरै आत्तिनुपर्ने अवस्था नरहेको उहाँले स्पष्ट पार्नुभयो । अमेरिका र इजरायलको घोषित उद्देश्य पूरा भइसकेकाले अब युद्धको तीव्रता (इन्टेन्सिटी) कम हुँदै जाने मन्त्रालयको निष्कर्ष छ ।