धीरेन्द्रप्रसाद साह
राजविराज, फागुन २७ गते । सप्तरीमा चारवटै प्रतिनिधि सभा सदस्य क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको छ । जितेका चारमध्ये तीन जनाको राजनीतिक पुष्ठभूमी पुरानो दलसँग जोडिएको छ । जिल्लाको क्षेत्र नं १ बाहेकका तीन वटा क्षेत्रका विजेताहरुको पृष्ठभूमी पुराना दलसँग रहेको छ ।
क्षेत्र नं २ र ३ बाट जितेकाहरुको पुरानो राजनीतिक यात्रा मधेसवादी दलसँग जोडिएको छ । क्षेत्र नं २ बाट निर्वाचित रामजी यादवको राजनीतिक यात्रा मधेश केन्द्रित दलबाट सुरु भएको थियो । विसं २०७३ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट सक्रिय राजनीतिमा प्रवेश गर्नुभएको उहाँ मधेश आन्दोलनपछि विभिन्न मधेशवादी दलहरूको एकीकरणबाट बनेको राजपाले मधेशको अधिकार, पहिचान र संघीयताको मुद्दालाई अगाडी बढाएको थियो । पेसाले इन्जिनियर यादव राजपामा रहदा निर्णयाक भूमिकामा पुग्नु भएको थिएन र अवसर पनि प्राप्त नभएको उहाँले भन्नुभयो, राजपा म सामान्य कार्यकता थिए ।
जेनजी आन्दोलनले सिर्जना गरेको राजनीतिक बहसपछि पुनः सक्रिय भएको उहाँ निर्वाचनको केही समय अगाडी रास्वपामा प्रवेश गरेको बताउनुभयो । रास्वपाबाट उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा चुनाव निर्वाचित हुनुभएको छ । उहाँ मधेसवादी दल जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उमेशकुमार यादवलाई पराजित गरेर पुरानो दलमा सामान्य कार्यकर्ताबाट निर्णायक तहमा पुग्नु भएको छ ।
राजनीतिक जानकार बलराम शर्माअनुसार उहाँको जित व्यक्तिगत लोकप्रियता भन्दा पुराना दलप्रतिको बढ्दो असन्तुष्टि र नयाँ राजनीतिक विकल्पप्रतिको झुकावको परिणाम हो ।
यस्तै क्षेत्र ३ बाट निर्वाचित डा. अमरकान्त चौधरीको स्व बुवा चन्द्रकान्त चौधरी राष्ट्रिय जनता पार्टीबाट सोही क्षेत्रबाट २०७४ मा सांसद भइ मन्त्रीसम्म बन्नुभएको थियो । बुवाकै राजनीतिक पृष्ठभूमी आधारमा अमरकान्तको पुराना दल राजपा नै हो भन्ने बुझाइ छ । आफू सक्रिय राजनीतिकमा नरहेको तर राजपाको समर्थक रुपमा राजनीतिकमा लागेको अमरकान्तले बताउनुभयो । यो पहिलो सक्रिय राजनीतिक यात्रा रहेको बताउँदै उहाँले भन्नुभयो, "अहिले पनि दाता परिवारको हैसियतले गाउँको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको छु । समाजसेवी भएर काम गर्दै आएको छु । उहाँले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्नुभएको छ ।" अध्यक्ष यादव मधेश राजनीतिका स्थापित नेता मानिन्छन् र मधेश आन्दोलनपछि राष्ट्रिय राजनीतिमा पनि प्रभावशाली भूमिकामा रहनुभएको यादव गत आमनिर्वाचनमा यसै जिल्लाको क्षेत्र २ बाट पनि पराजित हुनुभएको थियो । त्यसअघि क्षेत्र २ बाट उपेन्द्र यादव भारी मतले विजयी हुनुभएको थियो ।
बुवाको किरियामा बसेकै बेला अमरकान्त चौधरी रास्वपाबाट उम्मेदवारी दिनु भएको थियो । उहाँले आफ्नो जित मधेशको परम्परागत नेतृत्वप्रति मतदाताको निराश, भ्रष्टाचारविरोधी र परिवर्तनको चाहना अनुरुप भएको बताउनुभएको छ ।
त्यसैगरी, जिल्लाको क्षेत्र ४ मा कांग्रेस छाडेर रास्वपाबाट उम्मेदवारी दिएका सीताराम साहले कांग्रेसकै उम्मेदवार तथा पूर्वमन्त्री तेजुलाल चौधरीलाई पराजित गर्नु भएको छ । कांग्रेसको क्षेत्रीयस्तसम्मको जिम्मेवारीमा रहेर नगरप्रमुख, प्रदेश साँसदमा समेत उम्मेदवार बन्नु भएको थियो । पार्टीको आन्तरिक गुटबन्दी, असहयोगका कारण पराजित भएको उहाँ निर्वाचनको केही दिन अगाडी रास्वपामा प्रवेश गर्नु भएको थियो । वन अधिकृतबाट अवकाश प्राप्त भएयता कांग्रेससँग आवद्ध रहेर स्थानीय राजनीतिक गतिविधिमा सक्रिय रहेपनि पार्टीभित्र अवसर र नेतृत्वको विषयमा असन्तुष्टि बढेपछि कांग्रेस परित्याग गरेको उहाँले बताउनुभयो । मतदाताले आफूलाई नयाँ राजनीतिक विकल्पको प्रतिनिधिका रूपमा स्वीकार गरेको उहाँले भन्नुभयो, मतदाताको रास्वपाप्रतिको जुन विश्वास छ, त्यो अनुसार काम गरेर देखाउछु ।
जिल्लाको क्षेत्र १ मा रास्वपाबाट निर्वाचित पुष्पाकुमारी चौधरी सामाजिक कार्यकर्ताको रुपमा परिचित हुनुहुन्छ । उहाँ लामो समयदेखि महिला सशक्तीकरण, सामाजिक सचेतना, शिक्षा तथा स्थानीय विकाससँग सम्बन्धित अभियानमा सक्रिय रहँदै आउनु भएको थियो ।
सप्तरीमा यी विजयी उम्मेदवारहरूको पृष्ठभूमि पुराना दलसँग जोडिएको भएपनि मधेशमा नयाँ दलको उदय नयाँ अनुहारको कारण मात्र नभई पुराना दलभित्रको असन्तुष्टि र राजनीतिक पुनर्संरचनाको परिणाम भएको संकेत गरेको अधिवक्ता डोमन साह बताउनुहुन्छ । पछिल्लो समय मतदाताको प्राथमिकता पहिचान र आन्दोलनको राजनीतिभन्दा विकास, सुशासन र प्रभावकारी नेतृत्वतर्फ सर्दै गएको उहाँले बताउनुभयो ।