तेहरान, फागुन २७ गते । इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते भएको समाचार फैलिरहेका बेला उहाँ सुरक्षित र स्वस्थ रहेको दाबी इरानी राष्ट्रपतिको छोराले गर्नु भएको छ । इजरायल र संयुक्त राज्य अमेरिकासँगको जारी युद्धको पृष्ठभूमिमा यस्तो दाबी सार्वजनिक गरिएको हो ।
इरानी राष्ट्रपतिको छोरा तथा सरकारी सल्लाहकार युसेफ पेजेस्कियानले बुधबार आफ्नो टेलिग्राम च्यानलमार्फत मोजताबा खामेनीको अवस्थाबारे टिप्पणी गर्दै उहाँ घाइते भएको खबर आफूले पनि सुनेको तर त्यसको पुष्टि नभएको बताउनुभएको छ । उहाँका अनुसार आफूले सम्पर्कमा रहेका केही व्यक्तिसँग सोधपुछ गर्दा उनीहरूले खामेनी सुरक्षित र स्वस्थ रहेको जानकारी दिएका छन् ।
“मैले मोजताबा खामेनी घाइते भएको खबर सुनेको थिएँ । मैले सम्पर्क भएका केही साथीलाई सोधेको छु । उनीहरूले भगवानको कृपाले उहाँ सुरक्षित र स्वस्थ हुनुहुन्छ भन्ने बताएका छन्”, पेजेस्कियानले सामाजिक सञ्जालमार्फत लेख्नुभएको छ । यसअघि सरकारी टेलिभिजनले खामेनीलाई ‘रमजान युद्धका घाइते पूर्व सैनिक’ भनेर उल्लेख गरेको थियो ।
तर उहाँ कहिले र कसरी घाइते हुनुभएको हो भन्नेबारे भने कुनै स्पष्ट विवरण दिइएको थिएन । मोजताबा खामेनी इस्लामिक गणतन्त्रका लामो समयसम्म सर्वोच्च नेता रहेका आयातुल्ला अली खामेनीका छोरा र उत्तराधिकारी हुनुहुन्छ । आयातुल्ला अली खामेनीको फेब्रुअरी २८ मा इरानमाथि गरिएको अमेरिका–इजरायल संयुक्त आक्रमणमा मृत्यु भएपछि मोजताबालाई नयाँ सर्वोच्च नेताका रूपमा अघि सारिएको हो ।
उक्त घटनापछि नै मध्यपूर्व क्षेत्रमा व्यापक युद्ध सुरु भएको थियो । ५६ वर्षीय मोजताबा खामेनी सामान्यतः सार्वजनिक जीवनमा कम देखिने व्यक्तित्वका रूपमा चिनिनुहुन्छ । उहाँ सार्वजनिक कार्यक्रममा विरलै देखिनुहुन्छ र प्रायः आधिकारिक कार्यक्रममा बोल्न पनि कमै देखिएको बताइन्छ । आइतबार सर्वोच्च नेता घोषणा गरिएपछि पनि उहाँले राष्ट्रलाई औपचारिक सम्बोधन गर्नु भएको छैन ।
साथै हालसम्म उहाँका तर्फबाट कुनै लिखित वक्तव्य पनि सार्वजनिक भएको छैन, जसले उहाँको अवस्थाबारे विभिन्न अनुमान फैलिन मद्दत गरेको छ । यसैबिच अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले बुधबार प्रकाशित गरेको एक रिपोर्टमा तीन जना नाम नखुलाइएका इरानी अधिकारीहरूलाई उद्धृत गर्दै मोजताबा खामेनी घाइते भएको उल्लेख गरेको थियो । उक्त रिपोर्टअनुसार उहाँको खुट्टामा चोट लागेको थियो, तर उहाँ सचेत अवस्थामा रहेको र सीमित सञ्चारका साथ अत्यन्त सुरक्षित स्थानमा बसिरहेको बताइएको छ । रासस-एएफपी