राममणि दाहाल
मकवानपुर, फागुन २७ गते ।मकवानपुरका मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले सबैको सहयोगमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले प्रत्यक्ष र समानुपातिकतर्फको मतदान र मतगणनापछि निर्वाचनका सम्पूर्ण कार्य सम्पन्न भएसँगै बुधबार हेटौँडामा धन्यवादसहित सम्मान गर्न आयोजित कार्यक्रममा उहाँले निर्वाचन शान्तिपूर्ण रुपमा र निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको पालना गर्दै सम्पन्न भएको बताउनुभयो ।
उहाँले निर्वाचन सफलतापूर्वक सम्पन्न कुनै एक पक्षको मात्र नभएर सबै पक्षको सकारात्मक सहयोगले सम्भव भएको भन्दै सहयोग पुर्याउने सबैपक्षलाई धन्यवादसहित आभार व्यक्त गर्नुभएको थियो ।
उहाँले मतदातादेखि उम्मेदवार र राजनीतिक दल, कर्मचारी सबैको सहयोगमा निर्वाचन हुन्छ हुँदैन भन्ने चुनौतीलाई चिर्दै निर्वाचन सम्पन्न भएको बताउनुभयो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी मनस्थिति र परिस्थिति दुवै ठीक नभएको अवस्थामा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउनुभयो ।
परिस्थिति पनि बिग्रेको थियो, मनस्थिति पनि बिग्रेको थियो, बिग्रेको परिस्थिति अनि विचलित मनस्थितिका बिच निर्वाचन सम्पन्न भएको छ, प्रजिअ अधिकारीले भन्नुभयो, यसमा धेरै पक्षको सहयोग छ, भूमिका छ, सबैको आआफ्नो पक्षले सहयोग गरेकोले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सम्भव भएको हो ।
उहाँले आचारसंहिता पालनामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धेरै काम भएकोले आचारसंहिता पालना भएको भन्दै गृह मन्त्रालयको नेतृत्वले सुक्ष्मढङ्गले सहयोग, समन्वय र सहकार्य गरेका कारणले पनि आचारसंहिता पालना र शान्तिपूर्ण निर्वाचन सम्पन्नभएको बताउनुभयो ।
कार्यक्रममा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत देवेन्द्रराज आचार्य, हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत भरत गौतम, प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतले आशङ्काका बिच कुनै अवान्छित गतिविधि बिना मकवानपुरमा निर्वाचन सम्पन्न भएको बताउनुभयो ।
कार्यक्रममा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय, सुरक्षाका चार वटै अङ्गका प्रमुख, प्रदेश निर्वाचन अधिकारी, हेटौँडा उपमहानगरपालिका, नेपाल पत्रकार महासङ्घलगायत दुवै निर्वाचनको निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारीलाई धन्यवादसहित आभारपत्र मुख्य निर्वाचन अधिकृत श्रेष्ठ र निर्वाचन अधिकृत आचार्यले वितरण गर्नुभएको थियो ।
निर्वाचन प्रयोजनका लागि गत माघ २ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय हेटौँडा उपमहानगरपालिका ११ स्थित कृषि थोक बजार केन्द्रमा स्थापना गरिएको थियो ।
तस्विर क्याप्शनः १० मकवानपुरका मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठ प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न सहयोग गरेबापत बुधबार हेटौँडामा आयोजित कार्यक्रममा मकवानपुरका प्रजिअ वसन्त अधिकारीलाई धन्यवाद पत्र प्रदान गर्दै ।