काठमाडौँ, फागुन २६ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिनुभएको बधाई सन्देशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आभार व्यक्त गर्नुभएको छ । मङ्गलवार भारतका प्रधानमन्त्री मोदीको पोस्टमा प्रतिक्रिया दिँदै बालेनले नेपाल–भारत सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र परिणाममुखी बनाउन सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।
प्रधानमन्त्री मोदीले सोमबार रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनलाई टेलिफोन गरी चुनावी सफलताका लागि बधाई दिनुभएको थियो । मोदीले सामाजिक सञ्जालमा पोस्ट गर्दै आगामी नयाँ सरकारसँग आपसी समृद्धि र हितका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
झापा क्षेत्र नं. ५ बाट नवनिर्वाचित सांसद एवं रास्वपाका तर्फबाट प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार बालेनले मोदीको पोस्टमा मङ्गलवार लेख्नुभएको छ, “धन्यवाद छ शुभकामनाका लागि, सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू । नेपाल–भारतबिच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु ।”
सोही पोस्टमा बालेनले भारतीय क्रिकेट टोलीले लगातार दुई पटक विश्वकपको उपाधि जितेकोमा भारत सरकार र भारतीय जनतालाई बधाई समेत दिनुभएको छ ।
यसैगरी, रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री मोदीको पोस्टलाई साझा गर्दै नेपाली जनताको लोकतान्त्रिक जनादेशको सम्मान गरेकामा आभार व्यक्त गर्नुभएको छ । उहाँले आगामी सरकारलेविकास केन्द्रित कूटनीतिलाई प्राथमिकता दिँदै दुई देशबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने उल्लेख गर्नुभएको छ ।