• २६ फागुन २०८२, मङ्गलबार

निर्वाचनको परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गरिने

blog

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी

काठमाडौँ, फागुन २६ गते । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको छ ।

गोरखापत्र अनलाइनसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भन्नुभयो, पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीको मत परिणाम आइसकेको छ । समानुपातिकतर्फको मतगणना कार्य पनि अन्तिम चरणमा पुगेको छ र सम्भवतः आजै सकिने छ । आयोगले आफ्नो तयारी पूरा गरेपछि चैत ५ देखि ७ गतेभित्र राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रतिवेदन पेस गर्ने तयारीमा जुटेको छ ।”

 संवैधानिक प्रावधान र सरकार गठनको प्रक्रिया

नेपालको संविधानको धारा ९३ (१) अनुसार प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ ।

संविधानको धारा ७६ बमोजिम राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । यदि कुनै पनि दलको स्पष्ट बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गरिने संवैधानिक प्रावधान रहेको छ ।

आयोगले अन्तिम प्रतिवेदन पेस गरेसँगै नयाँ सांसदहरूको शपथ ग्रहण र संसदीय दलको नेता चयनका लागि राजनीतिक दलहरूलाई बाटो खुल्नेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ स्थानमा विजय हासिल गरेको छ भने समानुपातिकतर्फ पनि ५० लाखभन्दा बढी मत प्राप्त गरिसकेको छ । दुवैको परिणाम सार्वजनिक हुँदा (रास्वपा) लाई झण्डै दुई तिहाइको बहुमत प्राप्त हुने भएकाले एकल सरकार हुने निश्चित छ ।

Author
नारद गौतम

लेखक गोरखापत्र अनलाइनका डिजिटल प्रमुख (निमित्त कार्यकारी सम्पादक) हुनुहुन्छ ।