- संस्थानका महाप्रबन्धक तथा गोरखापत्र दैनिकका प्रधान सम्पादकसमेत रहेका किशोर नेपालको हस्ताक्षर रहेको प्रकाशकीयको अन्त्यमा लेखिएको छ, “आजदेखि रङ्गीन बन्ने तपाइ हाम्रो धोको पूरा भएको छ ।”
- कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महप्रबन्धक लालबहादुर ऐरीको पहलमा डिजिटल प्लेटफर्मलाई सशक्त बनाउने योजना अन्तर्गत उपकरण उपलब्ध हुन थाले । त्यही योजना अनुसार, भिडियो छायाङ्कन गर्नका लागि संस्थानमै ‘गोरखापत्र स्टुडियो’ स्थापना भयो ।
गोरखापत्र संस्थानले डिजिटल प्रविधिमा महत्वपूर्ण फड्को मारेको छ । ‘स्मार्ट गोरखापत्र’ अभियान अन्तर्गत डिजिटल प्रविधिको उपयोग गर्दै संस्थानले आफ्नो समाचार सेवा थप चुस्त, सुलभ र प्रवाहमय बनाएको छ । नेपाली, अङ्ग्रेजी तथा नेपालमा बोलिने ४५ भाषामा सामग्री प्रकाशन, अनलाइन पोर्टलको विस्तार, मल्टिमिडिया सामग्री उत्पादन र सामाजिक सञ्जालको प्रभावकारी उपयोगलाई समयानुकूल बनाएको छ । गोरखापत्रले डिजिटल युगको माग पूरा गर्न सम्भव उपायहरू अपनाएको छ ।
१. डिजिटल प्रविधिको उत्पत्ति
‘डिजिटल’ अङ्ग्रेजी शब्द ‘डिजिट’ अर्थात् अङ्कबाट विस्तारित भएको हो । डिजिटल प्रविधि, डिजिटल मिडिया, डिजिटल मार्केटिङ, डिजिटल मुद्रा, डिजिटल बैङ्किङ र डिजिटल साक्षरता जस्ता अनेकौँ शब्द आजकल निकै चल्तीमा छन् । डिजिटल साक्षरता (२०७९ पृ.२) मा लेखिएको छ, “अङ्कको प्रयोग गरेर तथ्याङ्क उत्पादन, प्रशोधन र प्रसार गर्ने प्रविधिलाई सन् १९३० को दशकदेखि गणितज्ञ र इन्जिनियरहरूले ‘डिजिटल’ भनेर प्रयोगमा ल्याएको देखिन्छ । हामीले बुझ्ने नियमित गणितमा ० देखि ९ सम्म १० वटा डिजिट (अङ्कहरू) को प्रयोग हुन्छ । यी जम्मा १० वटा अङ्कको प्रयोगले अर्बौं/खर्बौंको हिसाब बुझ्न पनि सरल हुन्छ । जस्तै : सात अर्ब भनेको कति हो भनेर बुझाउन यी १० अङ्कभित्रैबाट काफी छन् । यी १० अङ्कको प्रयोगलाई डेसिमल नम्बर प्रणाली भनिन्छ । यस्तै गणितमा अर्को नम्बर प्रणाली पनि छ, जसमा ० र १ अङ्कको मात्र प्रयोग हुन्छ । यो प्रणालीलाई बाइनरी नम्बर प्रणाली भनेर चिनिन्छ । डेसिमलमा १० अङ्कले बुझाउने विवरण बाइनरीमा २ अङ्कको भरमा बुझ्न सकिन्छ ।”
डिजिटल प्रविधिमा यिनै बाइनरी दुई अङ्क ० र १ को मात्र प्रयोग हुन्छ । हामीले प्रयोग गर्ने इन्टरनेट, मोबाइल फोन, कम्प्युटर, डिजिटल क्यामरादेखि डिजिटल प्रविधि जोडिएका घरायसी सामान जस्तै वासिङ मेसिन र माइक्र ओभनमा पनि सबै प्राविधिक काम यी दुई नम्बरको सहायताले मात्र हुन्छ । हामीले कम्प्युटरमा फोटो, भिडियो, अडियो, ग्राफिक्स वा जुनसुकै भाषामा प्रयोग हुने अक्षर प्रयोग गरे पनि कम्प्युटर प्रणालीले भने यी सबैलाई ० र १ भित्र समेटेर मात्र बुझ्न र सङ्ग्रह गर्न सक्छ । डिजिटल प्रविधि आएपछि अधिकांश पुराना एनालग औजारहरू विस्थापित भएका छन् ।
सन् १९४० को दशकमा पहिलो पटक डिजिटल कम्प्युटरहरू विकास गरिए, जसमध्ये प्रसिद्ध ENIAC कम्प्युटर थियो । यिनले बाइनरी सिस्टममा काम गर्थे जहाँ ० र १ ले डाटा प्रसंस्करण गर्ने आधार बनाउँछ । सन् १९५० को दशकमा ट्रान्जिस्टरको आविष्कार भयो । यस प्रविधिले डिजिटल सर्किटलाई सानो र अधिक शक्तिशाली बनायो । यसले कम्प्युटिङ प्रविधिमा ठुलो क्रान्ति ल्यायो । विकिपिडियाका अनुसार सन् १९५७ मा मानक इलेक्ट्रिोनिक स्वचालित कम्प्युटर एसइएसी (SEAC) आविष्कार गरिएको थियो । त्यही वर्ष पहिलो डिजिटल छवि सिर्जना गर्न सफलता मिल्यो । यस छविलाई कम्प्युटरमा भण्डारण गरियो । १९६० को दशकमा डिजिटल सञ्जाल र नेटवर्किङको अवधारणा सुरु भयो । यसै समयतिर अर्पानेट (ARPANET) को विकास भयो, यसलाई इन्टरनेटको पुर्खा मानिन्छ र अर्पानेट डिजिटल सञ्चारका लागि आधार बन्यो । सन् १९७० को दशकमा माइक्रोप्रोसेसर र व्यक्तिगत कम्प्युटरको विकासले डिजिटल प्रविधिलाई सर्वसाधारणको पहुँचमा ल्यायो । इन्टेलले पहिलो माइक्रो प्रोसेसर ४००४ लन्च गर्यो र यसै दशकमा व्यक्तिगत कम्प्युटरहरू पनि बजारमा आउन थाले ।
२. डिजिटल क्रान्ति
सन् १९८० को दशकलाई डिजिटल क्रान्तिको महत्वपूर्ण कालखण्ड मान्न सकिन्छ । यस समयमा व्यक्तिगत कम्प्युटर, डिजिटल सञ्चार प्रविधि (जस्तै : मोबाइल फोन) र अन्य डिजिटल उपकरणको विकासले संसारभरि डिजिटल प्रविधिलाई फैलायो । तस्बिरको आकार र फाइललाई सानो बनाउन र सानो ठाउँमा धेरै तस्बिर राख्न मिल्ने प्रविधि सन् १९९२ मा तस्बिरको जेपिइजी (JPEG) ढाँचा तयार भयो । सन् १९९० को दशकमा इन्टरनेट व्यापक रूपमा सर्वसाधारणका लागि उपलब्ध भयो । वेब ब्राउजरको विकास, डिजिटल मल्टिमिडिया (जस्तै : डिजिटल फोटो, भिडियो) र इमेल जस्ता सेवाहरूको विकासले इन्टरनेटको लोकप्रियता झनै बढ्यो । सन् २००० को दशकमा स्मार्टफोनको विकासले डिजिटल प्रविधिको उपयोगलाई अझ व्यापक बनायो । साथै सामाजिक सञ्जाल, डिजिटल विज्ञापन र अनलाइन सेवाहरूले डिजिटल संसारलाई अझ प्रगतिशील बनायो । एप्पलको आइफोन र एन्ड्रोइड स्मार्ट फोनको प्रयोगले डिजिटल यात्रालाई अझ प्रभावकारी बनायो ।
३. कृत्रिम बुद्धिमत्ता (AI) को विकास
कृत्रिम बौद्धिकता (Artificial intelligence) को औपचारिक अवधारणा सन् १९५६ मा न्यु ह्याम्पसायरको डर्टमाउथ कलेजमा भएको सम्मेलनपश्चात् सुरु भएको हो तर यसको विकास र प्रयोग गर्न भने धेरै वर्ष मेहनत गर्नु पर्यो । सन् २०१० को दशकमा कृत्रिम बुद्धिमत्ता (ब्क्ष्), ब्लकचेन र क्लाउड कम्प्युटिङले डिजिटल प्रविधिको उपयोगलाई अझ उचाइमा पु¥यायो । आजको समयमा डिजिटल प्रविधि जीवनका हरेक क्षेत्रमा आवश्यक बनिसकेको छ । एआईको विकासले शिक्षादेखि स्वास्थ्य, व्यापारदेखि सामाजिक सञ्जाल सबै समेटिन्छ । यसरी ‘डिजिटल’ शब्दको विकास विज्ञान, कम्प्युटिङ र प्रविधिको क्रमिक प्रगतिसँगै भयो र यसले अहिलेको डिजिटल संसार निर्माण गर्यो । सन् २००७ मा एप्पलको आइफोन विकासले डिजिटल रूपान्तरणमा अर्काे फड्को मार्यो । यही अवधिमा कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ र बिग डाटाको विकास भयो । यी कम्पनीले डेटा एनालाइटिक्स प्रयोग गरेर उपभोक्ताको व्यवहारको विश्लेषण गर्न थाले । सन् २०१० देखि २०२० को अवधिमा नै क्लाउड सेवाहरूको प्रयोग बढ्न थाल्यो ।
४. नेपालमा डिजिटल प्रविधि
सुरुवाती समयमा नेपालका डिजिटल प्रविधिको विकास सुस्त गतिमा अगाडि बढे पनि पछिल्लो समयमा भने यसले उच्च प्राथमिकता पाएको छ । डिजिटल नेपाल फ्रेमवर्क, २०७६ (पृष्ठ १) का अनुसार, ‘विसं २०२८ को राष्ट्रिय जनगणनामा कम्प्युटरको प्रयोगबाट डिजिटल यात्राको थालनी गरेको नेपालले विसं २०७६ मा मोबाइलको पहुँच १०० प्रतिशत र इन्टरनेटको पहुँच ६० प्रतिशतमा पुर्याएर डिजिटल माध्यम प्रयोग सम्बन्धमा उल्लेख्य सफलता हासिल गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार नेपालमा सन् २०१७ मा मात्रै २२ लाख ५० हजार नयाँ इन्टरनेट प्रयोगकर्ता थपिएका छन् । आगामी केही वर्षसम्म यही वृद्धिदर कायम रहेमा इन्टरनेट पहुँचका सन्दर्भमा सन् २०२५ भित्र चीन र भारत जस्ता ठुला अर्थतन्त्र भएका देशको तुलनामा नेपाल पनि पुग्न सक्ने अपेक्षा गर्न सकिन्छ ।’
डिजिटल प्रविधिको सुरुवात भएको १२ वर्षपछि नेपालमा कम्प्युटर प्रविधि भित्रिन थाल्यो । कम्प्युटरका प्राथमिक प्रयोगहरू सरकारी कार्यालयमा, विशेष गरी केन्द्रीय बैङ्क र अन्य प्रमुख संस्थानमा हुन थाल्यो । नेपाल टेलिकम (तत्कालीन नेपाल दूरसञ्चार निगम) ले डिजिटल टेलिफोन प्रणालीको स्थापना गरी डिजिटल टेलिफोन सेवा सुरु ग¥यो । नेपालमा सन् १९९३ मा इन्टरनेट सुरु भएको थियो । सुरुवाती समयमा मर्कान्टाइल कम्युनिकेसन प्रालि लिमिटेडले डायलअप सेवामार्फत इआर (भारतको प्राज्ञिक तथा अनुसन्धान सञ्जाल) नेट र कनेक्ट डटकम डट एयुसँग कनेक्ट गरेर सानो सङ्ख्यामा रहेका ग्राहकलाई इमेल सेवा दिन थाल्यो । विसं २०५० (सन् १९९४) को सुरुवातसम्म नेपालको आफ्नै डोमेन (.np) थिएन, जसले गर्दा ग्राहक डट इन (भारतको) अथवा डट एयु (अस्ट्रेलियाको) डोमेनमार्फत काम चलाउन बाध्य थिए । दूरसञ्चार ऐन २०५३ आएपछि नेपालको आफ्नै डोमेन (gov.np.com) सुरु भएको थियो । इन्टरनेट सेवाको आगमनसँगै डिजिटल सञ्चार र इन्टरनेटमार्फत सेवाहरूको प्रयोग विस्तार हुन थाल्यो ।
यसै गरी २०५६ सालमा मोबाइल फोनमा डिजिटल प्रविधिको प्रयोग व्यापक भयो । त्यसको तीन वर्षपछि नेपाल टेलिकमले पहिलो पटक ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन (जिएसएम) मोबाइल सेवा सञ्चालन गर्यो, जसले डिजिटल मोबाइल सञ्चारको सुरुवात गर्यो । पछि एनसेल (मेरो मोबाइल) को आगमनले डिजिटल प्रविधिमा आधारित मोबाइल सेवाको प्रतिस्पर्धा सुरु गर्यो । डिजिटल प्रविधिको अर्को महत्वपूर्ण पाइलो टेलिभिजन प्रसारणमा देखा प¥यो । केबल टेलिभिजन र डिजिटल सेट–अप बक्सहरूको प्रयोगले टेलिभिजन सेवामा डिजिटल प्रविधिको व्यापक प्रयोग भयो । पछि नेपाल टेलिभिजनले डिजिटल प्लेटफर्ममा टेलिभिजन प्रसारण गर्न थाल्यो । यस्तै नेपाल सरकारले डिजिटल बैङ्किङ सेवा, इगभर्नेन्स र डिजिटल प्रविधिलाई सरकारी कामकाजलाई पनि प्रभावकारी बनायो । फाइबर आप्टिक इन्टरनेट सेवाको विस्तारले टेलिकम, बैङ्किङ र सञ्चारको क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग आजसम्म निरन्तर विकसित हुँदै आएको छ, जसमा निजी र सरकारी दुवै क्षेत्रकोे ठुलो योगदान छ ।
५. गोरखापत्रको डिजिटल यात्रा
डिजिटल प्रविधिको विकासमा गोरखापत्र पनि सँगसँगै अगाडि बढेको देखिन्छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेकाले पनि सरकारी नीति नियमलाई पालना गर्दै अगाडि बढ्नुपर्ने हुन्छ । नेपालको जेठो र सबैभन्दा ठुलो प्रकाशनगृह भएकाले पनि गोरखापत्रले प्रविधि भित्र्याउन भने कन्जुस्याइँ गरेको देखिन्न । विश्वमा आएका नवीन प्रविधिलाई भित्र्याउन गोरखापत्र संस्थानले चालेका पाइलाहरू :
५.१. टेलिप्रिन्टर र भेरिटाइपमा फड्को
गोरखापत्र सञ्चालक समितिका अध्यक्ष गोविन्दप्रसाद शर्माको अध्यक्षतामा विसं २०३५ फागुन २७ गते आइतबार बसेको बैठकले दुई थान टेलिप्रिन्टर खरिद गर्ने निर्णय गरेको देखिन्छ । यसको मुख्य उद्देश्य विश्वका प्रमुख समाचार एजेन्सी एपी, एएफपी, सिन्ह्वालगायतबाट समाचार प्राप्त गर्नु थियो । यो एनालग प्रविधिबाट सुरु भए पनि पछि यसले डिजिटल स्वरूप ग्रहण ग¥यो । यो एक यान्त्रिक उपकरण हो, जसले इलेक्ट्रिकल सिग्नललाई पठाएर टेक्स्टका रूपमा प्रिन्ट गर्छ र यसलाई टेलिटाइप पनि भनिन्थ्यो ।
गोरखापत्रमा झन्डै ३४ वर्ष सेवा गरेर सेवानिवृत्त भएका सहायक कम्प्युटर अधिकृत त्रिरत्न मर्हजनले २८ वर्ष जति टेलिप्रिन्टर हेर्ने काम गरेको सुनाउनुभयो । उहाँको भनाइ छ, “म गोरखापत्रमा २०३६ सालमा आएको हो, म आउनुअघि नै टेलिप्रिन्टर थियो, त्यतिबेला एएफपी आउँथ्यो । म आउनुअघि गोरखापत्रको ग्राहक थिएँ र ‘यहाँ मान्छेबिना नै काम हुन्छ’ भन्ने सुनेर अचम्म लाग्यो । पछि मैले त्यहीँ काम गर्न थालेँ । ‘टक टक गरेको आवाज’ आउँथ्यो र कागजमा छापेर तल झर्ने गर्दथ्यो । एकतर्फी समाचार आउँथ्यो । प्रिन्ट भएको कागजले कोठा भरिन्थ्यो । त्यसपछि एपीका समाचार आउन थाले र नगेन्द्र शर्मा महाप्रबन्धक हुँदा सिन्ह्वा पनि आउन थाल्यो । त्यसका लागि छुट्टाछुट्टै टेलिफोन लाइन चाहिन्थ्यो । विसं २०७० मा रिटायर्ड हुँदा चाहिँ आवश्यक पर्ने समाचार मात्रै छानेर प्रिन्ट गर्ने गरिन्थ्यो ।” सुरुमा समाचार एजेन्सीले यो प्रविधिलाई प्रयोग गरे पनि कम्प्युटर र इन्टरनेट जस्ता आधुनिक डिजिटल प्रविधिको विकाससँग टेलिप्रिन्टरको प्रयोग क्रमशः घट्दै गयो ।
त्यसै गरी सञ्चालक समितिका अध्यक्ष भारतदत्त कोइरालाको अध्यक्षतामा विसं २०३८ कात्तिक ३ गते सोमबार बसेको बैठकले फोटो कम्पोजका लागि भेरिटाइप र जनशक्तिको व्यवस्थापन गर्ने सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको पाइयो । बैठकको निर्णयमा भनिएको छ, “बैठकले टेन्डरमा सबैभन्दा कम मूल्यको ए.एम. भेरिटाइप र कम्पनीको कम्सेटको दुई युनिट खरिद गर्ने निर्णय ग¥यो । यसका लागि पूर्वाधार निर्माण गर्न तीन वटा कुरा (क) एक वातानुकूलित कोठा निर्माण गर्ने, (ख) दक्ष जनशक्ति तयार गर्ने र आवश्यक तालिम दिलाउने र
(ग) यस कार्यका लागि सात तहको चार पद सिर्जना गर्ने । यसमा अङ्ग्रेजी दुई र नेपाली कम्पोजका लागि दुई लिने । यसमा भाषाको स्तर राम्रो हुनुपर्ने, अङ्ग्रेजीमा प्रतिमिनेट ६० र नेपालीमा ४१ शब्दको गतिमा शुद्ध टाइप गर्न सक्ने हुनुपर्ने । त्यस प्रयोजनका लागि संस्थानमा सेवा दिइरहेका इन्जिनियरलाई नै भारतमा एक महिनाको तालिमका लागि पठाउने निर्णय भयो ।”
५.२. कम्प्युटर प्रविधिको प्रयोग
विसं २०३९ वैशाख २८ गते मङ्गलबार बसेको समितिको बैठकमा फोटो टाइप गर्ने मेसिन आइपुगेको र २०३९ जेठ २३ गते आइतबार बसेको बैठकमा फोटो टाइप गर्ने उपकरण जडान भइसकेकाले अब पत्रिका प्रकाशनमा ल्याइने उल्लेख छ । त्यसै गरी २०३९ असार १३ गतेको बैठकमा फोटो कम्पोज मेसिनको प्रयोग गरेर ‘दी राइजिङ नेपाल’ को सप्लिमेन्ट प्रकाशन गरेको जानकारी गराइएको पाइन्छ । यस्तै २०३९ साउन २५ गते सोमबारको बैठकमा गोरखापत्र र ‘दी राइजिङ नेपाल’ हाल वेब अफसेट मेसिनमा छपाइ थालेको र फोटो कम्पोजद्वारा राइजिङको काम सुरु भएकाले मुद्रण शाखामा कार्यरत १० जवानलाई अन्य शाखामा काम गराइएकाले सेवा परिवर्तन गर्ने निर्णय भएको पाइयो ।
गोरखापत्र संस्थानका तत्कालीन उत्पादन विभागका निमित्त निर्देशक गोपालप्रसाद भट्टराई नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाको स्मारिका–२०७१, (पृ.१२८) मा लेख्नुहुन्छ, “प्रविधितर्फ पनि हाते कम्पोजबाट लाइनो मनोकम्पोज जस्ता हटमेटल कम्पोज हुँदा २०३९ सालमा भेरिटाइपर मेसिन जडान गरी सोही मेसिनबाट कम्पोज फोटो पेपर (बोर्डमाइट) मार्फत पेज बनाउने काम भयो । यसरी बोर्डमाइटमा कम्पोजलाई पेस्टिङ गरी तयार गरिन्थ्यो । त्यस पेजलाई भर्टिकल रिप्रोग्राफिक क्यामरामार्फत नगेटिभ फिल्म बनाई छाप्ने काम धेरै समय चल्यो ।”
भेरिटाइपर मेसिन जडानबाट कम्प्युटरमा टाइप भएका अक्षर बोर्डमाइटमा छपाइ गरेपछि पृष्ठमा पेस्टिङ गरिन्थ्यो । यो प्रविधि हाते कम्पोजको तुलनामा धेरै उपयोगी र छिटो काम गर्न सहज र सफा बन्यो । बिस्तारै परम्परागत हाते कम्पोजको जनशक्ति अन्य शाखामा विस्थापित हुन थाले । गोरखापत्रका पूर्वकर्मचारी निरञ्जन तिमिल्सिनाका अनुसार त्यसपछि भेरिटाइपभन्दा अझै उन्नत किसिमको लाइनोटाइप भिœयाउने कार्य भयो । जसले काम छिटो र छरितो गर्न मद्दत पु¥यायो । यस प्रविधिको प्रयोग सुरु अङ्ग्रेजी दैनिक ‘दी राइजिङ नेपाल’ का सामग्री टाइप गर्न प्रयोग गरियो । त्यसपछि गोरखापत्रसहितका नेपाली भाषाका सबैको टाइप कम्प्युटर प्रविधिबाट हुन थाल्यो । यी एनालग प्रविधिका भए पनि डिजिटाइजेसनको बाटोमा अग्रसर गराउने आधुनिक प्रविधि थिए । जे होस्, परम्परागत छापा माध्यमको अभ्यास गर्दै आएको गोरखापत्रका लागि यो डिजिटल प्रविधितर्फको सुरुवाती यात्रा थियो । गोरखापत्र संस्थानद्वारा २०४२ सालमा प्रकाशित स्मारिकाको आवरण पृष्ठमा कम्प्युटरमा काम गर्दै गरेको तस्बिर प्रकाशित छ । त्यस स्मारिकामा शुभकामना चाहिँ कम्प्युटरबाट टाइप गरेको र अन्य सामग्री परम्परागत प्रविधिबाटै टाइप गरेको देखिन्छ ।
त्यसपछि प्रविधिमा आएको विकाससँगै आइबिएम कम्युटरको प्रयोग भएको पाइन्छ । सञ्चालक समितिका अध्यक्ष श्रीशशमशेर जबराको अध्यक्षतामा २०४६ मङ्सिर ११ गते बसेको बैठकले पब्लिसिङ डेक्सटप कम्प्युटर खरिदसम्बन्धी निर्णय गरेको देखिन्छ । अघिल्ला वर्षहरूमा बजेट राखेको तर त्यो आर्थिक वर्षमा बजेट नहुँदा न्युजप्रिन्ट खरिदका लागि छुट्याइएको बजेटबाट २० लाख रुपियाँ रकमान्तर गर्ने निर्णय सोही बैठकले गरेको थियो । निर्णयमा भनिएको छ, “...त्यसअघि २०४६।११।६ र २०४६।३।१६ मा क्रमशः युएस डलर २४,९०४ र २५,४३९.४० गरी दुई लट गरी एलसी खोलिएको थियो, ती कम्प्युटर बल्ल आएको ...” उल्लेख छ । सोही कारणले बजेट तत्काल व्यवस्थापन गर्नुपर्ने भएकाले रकमान्तर गर्ने निर्णय भएको हुनु पर्छ ।
‘गोरखापत्रको प्राविधिक रूपान्तरण’ शीर्षकका डा. हर्षमान महर्जन लेख्नुहुन्छ, “गोरखापत्र संस्थानले सन् १९८२ मा पूर्वप्रेस कार्यका लागि क्रुड कम्प्युटरको प्रयोग सुरु ग¥यो, जुन पत्रकारहरूले प्रत्यक्ष रूपमा प्रयोग गर्ने प्रविधि थिएन । गोरखापत्रका सञ्चालक समितिका सदस्य कमल दीक्षितका अनुसार संस्थानले सन् १९८१ मा फोटो कम्पोजिङ मेसिन किन्न प्रयास गरेको थियो । सन् १९८२ (विसं २०३९) मा तत्कालीन महाप्रबन्धक भारतदत्त कोइरालाको नेतृत्वमा फोटो टाइपसेटिङ मेसिनको प्रयोग सुरु भयो । भारतदत्त कोइरालाका अनुसार साधारण टाइपराइटरको विपरीत यस मेसिनमा प्रयोगकर्ताले टाइप गर्न, सम्पादन गर्न, सच्याउन र सामग्री सेभ गर्न सक्थे । पत्रकारहरूले यस प्रविधिमा काम गर्ने अपेक्षा राखेका थिए । केही पत्रकारले यसलाई प्रयोग गरे पनि ठुलो सङ्ख्याले प्रयोग गरेनन् । उदाहरणका लागि ‘दी राइजिङ नेपाल’ मा काम गर्ने पत्रकार गोपाल शर्माले जिज्ञासावश यस मेसिनमा केही समाचार सामग्री लेखेका थिए । सन् १९८० को दशकको अन्त्यतिर अङ्ग्रेजीमा काम गर्ने पत्रकारहरूलाई डेस्कटप कम्प्युटर उपलब्ध गराइयो । संस्थानले नेपाली भाषामा काम गर्ने पत्रकारलाई कम्प्युटर तालिमका लागि संस्थानले पठाए पनि धेरैले मेसिनको प्रयोग गरेनन् ।”
५.३. शताब्दीपछिको नयाँ मोड
विसं १९५८ वैशाख २४ गते सोमबार प्रकाशन सुरु भएको ‘गोर्खापत्र’ ले रङ्गीन कलेवरमा पाठकसम्म पुग्न शताब्दीभन्दा बढी समय कुर्नु प¥यो । एनालग अर्थात् पुरानो प्रविधिबाट अगाडि बढेको गोरखापत्रले डिजिटल तस्बिर र रङ्गीन छपाइले आधुनिक युगमा प्रवेश गर्न निकै ठुलो सङ्घर्ष गरेको पाइयो । गोरखापत्रका फोटो पत्रकार गोपाल चित्रकारले शतवार्षिकी स्मारिका–२०५७ (पृ.६७) मा अब गोरखापत्रमा ‘डिजिटल’ पद्धतिले प्रवेश पाउनु पर्छ भन्ने विचार राखेका छन्, “डिजिटल पद्धतिमा तस्बिरको गुणस्तर नबिग्रने र घट्ने अनौठो गुण छ । यो पद्धतिले पुरानो तस्बिर छपाइलाई निकै पछाडि छोडेको छ । तस्बिर खिचेर धुलाएर छपाइ गर्दा करिब एक घण्टाको समय लाग्न सक्छ भने यस पद्धतिमा समय नै लाग्दैन भन्नु अत्युक्ति नहोला । डिजिटल क्यामराले खिचेको तस्बिर बनाइरहनुपर्ने झन्झटबाट मुक्ति प्राप्त भएको छ ।”
गोरखापत्रमा डिजिटल क्यामरा र रङ्गीन तस्बिरले प्रवेश पाए पनि गोरखापत्र र यसका सहप्रकाशनले डिजिटल प्रविधिको प्रयोग गरेर रङ्गीन कलेवरमा बजारमा जान भने निकै सङ्घर्ष गर्नु प¥यो । यसको मुख्य कारण थियो, एकै पटक बहुरङमा (फोर–कलर) मा छपाइ गर्ने मेसिनको अभाव । चित्रकारको यो लेखाइले सार्थकता पाउन अरू दुई वर्ष लाग्यो । सुरुमा परीक्षणका लागि शनिबारीय अङ्कको छापेर दैनिक पृष्ठको छपेको पाइन्छ । विसं २०५९ असार १ गते चार पृष्ठको शनिबारीय अङ्क डिजिटल तस्बिर प्रविधिको प्रयोग गरेर छापिएको थियो । विसं २०५९ असार १० गतेबाट गोरखापत्र दैनिक आधुनिक प्रविधिको मेसिनमा रङ्गीन छापिन थाल्यो ।
श्यामश्वेतपछि रङ्गीन प्रविधिको सुरु भएपछिको गोरखापत्रको पहिलो पृष्ठमा ‘शताब्दीपछिको नयाँ मोड’ शीर्षकको प्रकाशकीय लेखिएको छ । प्रकाशकीयमा भनिएको छ, “अखबार प्रकाशनको इतिहासमा एक शताब्दीभन्दा बढी पार गरिसकेको ‘गोरखापत्र’ ले आज पुनः अर्को मोड लिएको छ । सप्तरङ्गी इन्द्रेणीको प्राकृतिक रङ्गप्रति मानिस त के स्वर्गका राजा मानिएका पौराणिक पात्र इन्द्रसमेत ‘इन्द्र धनुषी’ आकर्षण रहेको पाइन्छ ।” संस्थानका महाप्रबन्धक तथा गोरखापत्र दैनिकका प्रधान सम्पादकसमेत रहेका किशोर नेपालको हस्ताक्षर रहेको प्रकाशकीयको अन्त्यमा लेखिएको छ, “...आजदेखि रङ्गीन बन्ने तपाइ हाम्रो धोको पूरा भएको छ ।”
सम्प्रेषण–२०७३ (पृ.१३५) मा नारद गौतम लेख्नुहुन्छ, “२०७१ असोजबाट अत्याधुनिक प्रविधिको वेब अपसेटमा छपाइ सुरु भयो भने २०७३ जेठमा सिटुपी (कम्प्युटर टु प्लेट) मेसिन खरिद गरी संस्थानमा जडान गरियो । यो डिजिटल यात्राको अर्को फड्को थियो । यो अत्याधुनिक प्रविधिको यन्त्र जडानबाट कम्प्युटरबाट टे«सिङ प्रिन्ट दिनुपर्ने, पेस्टिङ गर्नुपर्ने (एफोर साइजको चार पाना जोड्नुपर्ने), एक्पोज गर्नुपर्ने जस्ता झन्झटबाट मुक्ति मिल्यो ।”
५.४ इमेल चल्दा रुवाबासी
मर्कन्टाइल कम्युनिकेसनका विनय श्रेष्ठका अनुसार गोरखापत्र दैनिकको सचिवालयमा पहिलो पटक विसं २०६९ पुस २३ (सन् २०१३ जनवरी ७ तारिख दिउँसो २ बजेर ४१ मिनेट) मा gopa@mos.com.np निर्माण भएको थियो । सन् २०१३ फेब्रुअरी १० मा फेरि सोही नामको अर्को इमेल निर्माण भएको भनाइ मर्कन्टाइलकै कर्मचारी असीम प्रधानले जानकारी दिनुभयो । त्यो इमेल मर्कन्टाइल कम्युनिकेसनले निःशुल्क उपलब्ध गराएको थियो ।
त्यतिबेला प्रधान सम्पादकको सचिवालयमा काम गर्नुभएका संस्थानका कर्मचारी रामकुमार बस्नेतको स्मरण रोचक नै छ । त्यतिबेलाको घटनाक्रम स्मरण गर्दै बस्नेत भन्नुहुन्छ, “मर्कन्टाइलले गोरखापत्रलाई निःशुल्क इमेल उपलब्ध गराएको थियो । इमेल हेर्ने र डाउनलोड गर्ने काम मैले गर्थें । इमेल आयो भनेपछि सम्पादकहरू पनि लाम लागेर आउनुहुन्थ्यो । रिपोर्टरहरू नयाँ मेल आउला र समाचार लेखौँला भनेर मेरैछेउमा बस्नुहुन्थ्यो । नयाँ प्रविधि आउँदा सबैलाई चासो थियो र रमाइलो पनि लाग्थ्यो । आएका इमेल प्रिन्ट गरेर सम्पादकलाई दिन्थेँ । अरूलाई त रमाइलो थियो तर मेरो चाहिँ रुवाबासी चल्थ्यो । विज्ञापन शाखाका प्रमुखमा केशरबहादुर केसी हुनुहुन्थ्यो । उहाँले विज्ञापनका लागि इमेल ठेगाना दिनुहुँदो रहेछ । ‘टाइम्स अफ इन्डिया’ बाट इमेल आउँथ्यो र सम्पादकीय सचिवालयको फोन नम्बर ४२२९२१ (हाल ०१–५३२२९२१) मा कल आउँथ्यो । मेसिनको विज्ञापन ‘दी राइजिङ नेपाल’ मा छाप्नका लागि आउँथ्यो । अङ्ग्रेजी भाषामा राम्ररी कुरा गर्न सक्दैन्थेँ, अनि मेरो रुवाबासी चल्थ्यो, कुन सम्पादकलाई बोलाएर कुरा गराउने भनेर ! पछि हटमेल र जिमेल आएपछि त सहज भइगयो ।”
५.५ ‘दी राइजिङ नेपाल’ का सामग्री वेबमा प्रकाशन
गोरखापत्र प्रकाशनको ६४ वर्षपछि विसं २०२२ पुस १ (१६ डिसेम्बर १९६५) गते प्रकाशन सुरु भएको अङ्ग्रेजी भाषाको दैनिक अखबार ‘दी राइजिङ नेपाल’ डिजिटल अवतारमा उदायो र यसका सामग्री वेबमा प्रकाशन भए । ‘दी राइजिङ नेपाल’ ब्रोडसिट आकारको नेपालका पहिलो दैनिक अखबार हो । सन् १९९९ मा बेलायती वैज्ञानिक टिम बर्नर लीले इन्टरनेटको विश्वव्यापी सञ्जालका लागि आवश्यक नेटवर्क वल्र्ड वाइड वेब (डब्लुडब्लुडब्लु) को आविष्कार गरे । त्यसपछि इन्टरनेटले गति लियो र सन् १९९३ तिर वेबसाइटको निर्माणका लागि आवश्यक पर्ने एचटिएमएल कोडको विकास भयो । यिनै कोडहरूको सहायताबाट वेब पेजको डिजाइन गर्न सजिलो भयो ।
सन् १९९२ मा अमेरिकाको ‘सिकागो ट्रिब्युन’ ले कागजमा छापिएको समाचार सामग्रीलाई नै इन्टरनेटमा राखी पहिलो पटक अनलाइन पत्रकारिताको सुरुवात ग¥यो । इन्टरनेटको विकास भएसँगै संसारभर सूचना र सञ्चारको क्षेत्रमा अभूतपूर्व क्रान्ति आयो । नवीन प्रविधिको विकाससँगै विश्व पत्रकारिताको अभ्यासमा नयाँ आयाम थपियो, डिजिटल पत्रकारिता । डिजिटल पत्रकारितालाई नेपालमा अनलाइन पत्रकारिता भन्ने गरिन्छ भने साइबर पत्रकारिता, मोबाइल पत्रकारिता (मोजो), ‘नेट जर्नालिज्म’ पनि भन्ने गरिन्छ ।
‘गोरखापत्र प्रकाशन शैली’ (२०८० पृ.८५) मा उल्लेख भए अनुसार विश्वव्यापी रूपमा सूचना प्रविधिको क्षेत्रमा आएको नवीन प्रविधिलाई आत्मसात् गर्दै गोरखापत्र संस्थानले पहिलो पटक २०५३ फागुन १२ गते सन् (१९९७ फेब्रुअरी २३) आइतबारबाट ‘दी राइजिङ नेपाल’ मा प्रकाशन गरेका समाचार सामग्रीलाई इन्टरनेटमा राखेर डिजिटल पत्रकारिताको दौडमा अग्रपङ्क्तिमा सामेल भयो । मर्कन्टाइल कम्युनिकेसनमार्फत इन्टरनेट (अनलाइन) मा सामग्री राखेको थियो । ‘दी राइजिङ नेपाल’ को प्रविधिबाट सामग्रीलाई इन्टरनेटमा राखेर संस्थानले डिजिटल प्रविधिमा आफ्नो उपस्थिति देखाउन थालेको हो ।
मर्कन्टाइल कम्युनिकेसनका विनय श्रेष्ठका अनुसार विसं २०५६ फागुन २१ (२००० मार्च ४) मा ‘नेपाल न्युज डटकम’ (nepalnews.com) मा ‘गोरखापत्र’, ‘कान्तिपुर’, ‘दी काठमाडौँ पोस्ट’, ‘महानगर समाचारपत्र’, ‘दी राइजिङ नेपाल’ तथा साप्ताहिक पत्रिकाहरू ‘विमर्श’, ‘देशान्तर’ ‘दृष्टि’, ‘टेलिग्राफ इन्डिपेन्डेट’, ‘कोसेली’ का समाचार सामग्री प्रकाशन गरिएका थिए । मर्केन्टाइलले ती सामग्री निःशुल्क रूपमा प्रकाशन गरेको थियो । सन् २००० सम्ममा कुनै मिडियाका आफ्नै वेबसाइट नभएको भनाइ पनि श्रेष्ठको छ ।
विसं २०५९ वैशाख २४ गते मङ्गलबारदेखि भने डब्लुडब्लुडब्लु डट गोरखापत्र डट ओआरजी डट एनपी (www.gorkhapatra.org.np) नामको डोमेनमा समाचार प्रकाशन हुन थाल्यो । विसं २०६९ मङ्सिर (सन् २०१२ डिसेम्बर) देखि नयाँ डोमेन नाम https://www.gorkhapatraonline.com बाट पुनः प्रकाशन सुरु भयो ।
‘अनलाइन पत्रकारिता–२०७७ पृ.४)’ मा लेखिएको छ, “मर्कन्टाइल कम्युनिकेसनले सन् १९९६ देखि आफ्नै डोमेन ‘साउथ एसिया डट कम’ सुरु ग¥यो, जसमा ‘दी काठमाडौँ पोस्ट’, ‘दी राइजिङ नेपाल’, ‘साप्ताहिक इन्डिपेन्डेन्ट’ र मासिक ‘हिमाल’ साउथ एसियामा प्रकाशित सामग्री पनि राखिन्थे । सन् १९९६ देखि कर्मन्टाइलले समाचारसम्बन्धी छुट्टै अङ्ग्रेजी साइट ‘नेपाल न्युज डटकम’ सुरु ग¥यो । यो साइटमा ‘कान्तिपुर’, ‘गोरखापत्र’, ‘दी काठमाडौँ पोस्ट’, ‘दी राइजिङ नेपाल’ लगायतका प्रमुख दैनिक र साप्ताहिक पत्रिकामा प्रकाशित सामग्री राखिन्थे । नेपाल न्युज डट कम एग्रिगेटर साइट थियो ।”
विसं २०७६ मा गोरखापत्र संस्थानले डिजिटल प्रकाशनका लागि अनलाइन विभाग गठन गर्नुका साथै २०७६ असारमै गोरखापत्र अनलाइनको सम्पादकमा रामप्रसाद हुमागाईंलाई नियुक्त ग¥यो । यो कदमले नयाँ प्रकाशनको सुरुवातलाई मान्यता दिएको पाइन्छ । सोही वर्षदेखि नयाँ साजसज्जा (लेआउट) मा नयाँ वेबसाइट सुचारु गर्न थालियो । यो अवधिसम्म गोरखापत्र अनलाइन सरकारी निकायमा औपचारिक दर्ता भएको थिएन । अनलाइन प्रकाशनलाई दर्ता गर्ने सरकारको नीति आएसँगै विसं २०७६ साल भदौ २४ गते सूचना विभागमा १५३८–२०७६/७७ दर्ता भई गोरखापत्र अनलाइन सञ्चालनमा छ ।
गोरखापत्र अनलाइन प्रकाशनका लागि २०७९ चैत २६ गतेबाट निमित्त सम्पादकमा नारदमुनि गौतमलाई नियुक्त गरियो । २०७९ वैशाख १ गतेबाट डोमेन नाम https://www.gorkhapatraonline.com फेरि परिष्कृत साजसज्जामा उदायो । यसमा ‘गोरखापत्र’ दैनिक, ‘मधुपर्क’, ‘युवामञ्च’ र ‘मुना’ का सामग्री र गोरखापत्र अनलाइनका उत्पादनका साथै छापा माध्यमका पिडिएफ पृष्ठहरू तथा ४५ भाषाका पिडिएफ प्रकाशन हुँदै आएका छन् । सबै डिजिटल माध्यमको सम्पादकीय नेतृत्व गर्ने जिम्मेवारी निमित्त कार्यकारी सम्पादक नारदमुनि गौतमलाई डिजिटल प्रमुख (संयोजक) र गोरखापत्र अनलाइनको निमित्त सम्पादकको जिम्मेवारी विसं २०८१ कात्तिक ६ गतेबाट लोकबहादुर चौधरीलाई तोकियो ।
अङ्ग्रेजी भाषाका समाचार सामग्री प्रकाशन गर्न https://www.risingnepaldaily.com वेबसाइट सञ्चालनमा छ । यसमा ‘दी राइजिङ नेपाल’ डेली र ‘राइजिङ नेपाल’ अनलाइनमा तयार पारिएका समाचार सामग्री वा लेखरचना प्रकाशित हुन्छन् । २०७९ चैत २६ गतेबाट यसको संयोजक नन्दलाल तिवारीलाई तोकिएको छ । अनलाइनका सामग्री मोबाइल एपमा पनि राखिएका छन् । गोरखापत्रका फेसबुक, ट्विटर, युट्युब र टिकटक पनि सञ्चालनमा छन् । यसका अतिरिक्त गोरखापत्र संस्थानको बेग्लै कर्पोरेट वेबसाइट https://www.gorkhapatra.org.np छ ।
५.६ इपेपर प्रकाशन आरम्भ
संस्थानका सूचना प्रविधि विभागका प्रमुख रेखादेवी श्रेष्ठका अनुसार गोरखापत्र संस्थानका प्रकाशनलाई आर्थिक वर्ष २०६१/६२ बाट नै फ्लपी डिक्स र सिडीमा राख्न थालिएको हो । ‘गोरखापत्र’ र ‘दी राइजिङ नेपाल’ का पिडिएफ संस्करणहरू विसं २०६६ माघ २ (सन् २०१० जनवरी १५) गतेदेखि वेबमा प्रकाशन भएका हुन् । गोरखापत्रले डिजिटल प्रविधिको प्रयोग गर्दै आफ्ना छापा संस्करणलाई पिडिएफमार्फत डिजिटलमा देश विदेशमा रहेका पाठकलाई उपलब्ध गराउन सुरु गरेको हो । यस कार्यले इन्टरनेटमा पहुँच भएका पाठकले अनलाइनमा छापाका संस्करण पढ्न पाउन थालेका हुन् । त्यसै गरी गोरखापत्र संस्थानका लोकप्रिय मासिक प्रकाशनहरू ‘मधुपर्क’, ‘युवामञ्च’ र ‘मुना’ का पिडिएफ संस्करण विसं २०६८ माघ १ (सन् २०११ जनवरी १५) गतेबाट प्रकाशन सुरु भए । छापा संस्करणलाई डिजिटल संस्करणमा प्रकाशन सुरु भएसँगै भौगोलिक सीमा भङ्ग भई विश्वव्यापी पहुँच बढ्यो । यस्तै बहुभाषिक पत्रकारिताको अभ्यास गर्दै आएको गोरखापत्र दैनिकमा ‘नयाँ नेपाल’ मा प्रकाशित पृष्ठले पनि विसं २०६९ माघ (सन् २०१२ जनवरी) बाट विद्युतीय अवतार ग्रहण गरे । यसले विभिन्न भाषिक समुदायको पहुँच अभिवृद्धिमा ठुलो योगदान पुग्यो ।
विसं २०७७ सम्म आइपुग्दा नेपालमा बोलिने विभिन्न ४३ वटा मातृभाषाका समाचार सामग्री गोरखापत्रमा प्रकाशन गरेर त्यसलाई पिडिएफमा प्रकाशन गर्न सुरु भयो । यस अभियानले नेपाल र विश्वमा छरिएर रहेका विभिन्न भाषिक समुदायसम्म पुग्न डिजिटल प्लेटफर्मको प्रयोगलाई अझै सशक्त बनायो । विसं २०८२ पुस ५ गते शुक्रबार वाम्बुले राई भाषाको पृष्ठ प्रकाशन गरेपछि भाषाको सङ्ख्या ४५ पुगेको छ । यी सबै भाषामा प्रकाशित सामग्रीको पिडिएफ गोरखापत्र अनलाइनमा प्रकाशन गरिएको पाइन्छ । यी पिडिएफको लिङ्क गोरखापत्र अनलाइन, गोरखापत्रको फेसबुक पृष्ठ र ट्विटर (एक्स) मा राखिन्छ, जसले गर्दा सामाजिक मिडियामार्फत पनि पाठकले आफ्नो रोजेको समयमा पढ्न पाउने भए ।
५.७ नयाँ माध्यम र सामाजिक सञ्जाल
गोरखापत्र अनलाइन प्रकाशनले नयाँ माध्यम (न्यु मिडिया) र सामाजिक सञ्जाल (सोसल मिडिया) को प्रयोग गर्न थालेको पनि बर्सौं भएको छ । गोरखापत्र अनलाइनले सबैभन्दा पहिला फेसबुक पृष्ठ सन् २०१२ डिसेम्बर ३० मा खोलेको देखिन्छ तर त्यसको निरन्तरता भने भएको देखिँदैन । हाल सञ्चालनमा रहेको गोरखापत्र अनलाइन सन् २०२० जनवरी २२ देखि भने निरन्तर सञ्चालनमा देखिन्छ । यसमा पनि सुरक्षाको भरपर्दो व्यवस्था नहुँदा झन्डै तीन महिना पृष्ठ नै अरूको नियन्त्रणमा गएको र साइबर ब्युरोको सहयोगमा पुनस्र्थापित भई सञ्चालनमा रहेको पाइन्छ ।
त्यसै गरी गोरखापत्र अनलाइनको युट्युब च्यानल (गोरखापत्र अनलाइन टिभी नामबाट चलेको) सन् २०१९ मे १४ मा जोडिएको हो । सुरुमा केही भिडियो सामग्री प्रसारण भएको पाइए पनि सन् २०२३ बाट भने सङ्ख्यात्मक र गुणात्मक उपस्थिति सबल बन्दै आएको देखिन्छ । यस्तै गोरखापत्र ट्विटरमा सन् २०१९ मार्चमा आबद्ध भएको थियो भने यसअघि पनि गोरखापत्रको नाममा ट्विटरमा आबद्धता भए पनि पहुँच बाहिर गएको भनाइ प्राविधिक पक्ष हेर्ने सविन बजगाईंको छ । गोरखापत्रको इन्स्टाग्राम सन् २०२१ डिसेम्बरबाट सञ्चालन छ । पछिल्लो समय निकै लोकप्रिय बनेको टिकटकमा सन् २०२२ जुन ६ मा आबद्ध भएको देखिन्छ । यसले पनि निकै उतारचढाव भोगेको पाइयो । नेपाल सरकारले विसं २०८० कात्तिक २७ मा बसेको मन्त्रीपरिषद् बैठकले नेपालमा टिकटक सञ्चालनमा बन्देज लगाउने निर्णय गरेको थियो भने २०८१ भदौ ६ गतेको मन्त्रीपरिषद् बैठकले सर्तहरू पालना गर्ने गरी खुला गर्ने निर्णय गरेको थियो । त्यसैले गोरखापत्र अनलाइनको टिकटक पनि करिब नौ महिना बन्द रहेको पाइन्छ । यसै गरी अङ्ग्रेजी भाषाको ‘राइजिङ डेली’ अनलाइनको फेसबुक पृष्ठ सन् २०१९ नोभेम्बरमा र ट्विटर २०२१ अप्रिलबाट सञ्चालनमा आएको देखियो । यी माध्यमको सुरक्षाका लागि सन् २०२२ डिसेम्बरबाट छुट्टै मोबाइल उपलब्ध भएपछि डिजिटल मिडियाको सुरक्षा सतर्कता अपनाउन सहज भयो ।
५.८ विद्युतीय अभिलेखीकरण
गोरखापत्र स्मारिका–२०७४ (पृष्ठ ४२) मा संस्थानका तत्कालीन महाप्रबन्धक सुशील कोइराला ‘विद्युतीय अभिलेखीकरण’ उपशीर्षकमा लेख्नुहुन्छ, “आधुनिक नेपालको इतिहासको आधा कालखण्ड ओगटेको गोरखापत्र देशको ऐतिहासिक घटनाहरूको जिउँदो साक्षी हो । यसमा भाषा, कला, साहित्य, इतिहास, संस्कृति, अर्थ, कृषि, समाज, राजनीतिलगायत समस्त पक्षका महìवपूर्ण घटना र दस्ताबेज सङ्गृहीत छन् तर न्यून गुणस्तरको कागज र अवैज्ञानिक व्यवस्थापनका कारण नष्ट प्रायः हुँदैछन् । अनुसन्धानकर्ताका लागि उपयोगी र पाठकका लागि रोमाञ्चित पार्न सक्ने यी प्रतिहरू सुरक्षित गरी संसारको जुनसुकै ठाउँबाट जुनसुकै अङ्क र सामग्री अनलाइन भुक्तानीद्वारा हेर्न सक्ने बनाउने अभिप्रायले यसका सम्पूर्ण प्रकाशनलाई विद्युतीय अभिलेखीकरण र डिजिटलाइज्ड गरी अनलाइनमा राख्ने व्यवस्था मिलाउन अभिलेखीकरणको काम अघि बढाइएको छ । आगामी आवमा यो काम सम्पन्न भएपछि यसबाट समेत संस्थानले थप आम्दानी गर्ने छ ।”
विसं २०७४ मै डिजिटलाइजेसनको काम सक्ने महाप्रबन्धक कोइरालाले उल्लेख गरे पनि सो कार्य तीव्र गतिमा अगाडि बढ्न सकेको देखिँदैन । विसं २०७४ माघ १७ गते अध्यक्ष गोविन्द पोख्रेल र महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको निर्णय अनुसार गोरखापत्रको डिजिटल अर्काइभिङका लागि अभिलेखालयसँग सम्झौता गरेको पाइन्छ । त्यसमा २०२८ देखि २०३२ सम्मका अङ्कहरू प्रविधिमा सुरक्षित गर्ने अभिलेखालयसँग सम्झौताको आवश्यक प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।
५.९ अर्काइभिङ स्टुडियो र नयाँ समझदारी
संस्थानमा कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीले नेतृत्व समालेपछि भने विद्युतीय अभिलेखीकरण कार्यले गति लिएको पाइन्छ । संस्थानमै अर्काइभिङ स्टुडियो निर्माणदेखि आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापन भएकाले विद्युतीय अभिलेखीकरणको कार्यले गति लियोे । २०७९ जेठ १२ गते बिहीबार गोरखापत्र संस्थानका प्रकाशनलाई डिजिटाइजेसन गर्न गोरखापत्र संस्थान र राष्ट्रिय अभिलेखालयबिच समझदारीपत्रमा हस्ताक्षर भयो । संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र अभिलेखालयका महानिर्देशक सौभाग्य प्रधानाङ्गले संस्थानका प्रकाशनहरू डिजिटाइजेसन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको पाइयो । गोरखापत्र अनलाइनमा प्रकाशित समाचारमा लेखिएको छ, “संस्थानले ‘गोरखापत्र’, ‘दी राइजिङ नेपाल’ सहितका प्रकाशनहरूको डिजिटल अभिलेख तयार पार्दै छ । १२२ वर्षको इतिहास बोकेको संस्थानले हाल सञ्चालित तथा यसअघि बन्द भइसकेका सबै प्रकाशनको डिजिटल अभिलेखीकरण गरी वेबमा आधारित सर्चेवल टेक्स्ट डेटाबेस विकास गर्दै छ । उक्त डेटाबेसमा पाठकहरूले संस्थानका सबै प्रकाशन सजिलै पढ्न पाउने छन् ।”
संस्थानको सङ्कलनमा रहेका ऐतिहासिक तस्बिर तथा फिल्म रिलहरूको पनि डिजिटाइजेसन गरिने छ । अभिलेखालयसँग विसं १९५८ देखि २०२८ सम्मका गोरखापत्रका अङ्कहरू माइक्राेफिल्म प्रविधिमा सुरक्षित छन् । सम्भव भएसम्म माइक्राेफिल्मबाट र सम्भव नभएमा हार्डकपीबाट डिजिटलमा रूपान्तरण गर्ने तथा २०२९ सालपछिका गोरखापत्रलाई हार्डकपीबाट डिजिटाइजेसन गरी आधुनिक प्रविधिमा सुरक्षित गर्ने समझदारीपत्रमा उल्लेख छ । संस्थानका सबै प्रकाशनको गुणस्तरीय डिजिटल इमेज तयार तथा सङ्कलन गरी एकत्रित गर्ने र यसरी तयार गरिएका डिजिटल इमेजहको बहुप्रति उत्पादन गरी संस्थान र अभिलेखालयमा छुट्टाछुट्टै भण्डारण गर्ने सम्झौतापत्रमा उल्लेख छ ।
५.१० मोबाइल एप्लिकेसनको विकास
आफ्नो डिजिटल यात्रालाई अझ पाठकमैत्री र विश्वव्यापी पहुँच विस्तार गर्ने क्रममा विसं २०७५ फागुन १७ गते मोबाइल एप्लिकेसन अनुप्रयोग (एप) सञ्चालनमा ल्याइयो, जसले गर्दा मोबाइलबाट समाचार हेर्ने पाठकलाई धेरै सजिलो बनायो । यो कार्य संस्थानमा महाप्रबन्धक सुशील कोइरालाको नेतृत्वमा भएको थियो । पछि विष्णुप्रसाद सुवेदी कार्यकारी अध्यक्ष र लालबहादुर ऐरी महाप्रबन्धक रहँदा २०८१ वैशाखमा नयाँ एप प्रयोगमा आएको देखिन्छ । यसबाट सबै प्रकारका मोबाइल, ट्याब्लेटमा सामग्री पढ्न सकिने भयो ।
५.११ क्युआर कोड प्रणालीको आरम्भ
गोरखापत्र संस्थानले द्रुत पहुँच भएको र तुरुन्तै जानकारी प्राप्त गर्न सजिलो (क्युआर प्रणाली) लागु गरेको छ । गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जनले तयार गरेको ‘डिजिटल गोरखापत्रमा क्युआर कोडको प्रयोग’ शीर्षकको प्रतिवेदनमा भनिएको छ, “डिजिटल गोरखापत्र र स्मार्ट गोरखापत्रको नयाँ अवधारणासँगै २१ औँ शताब्दीको सूचना र प्रविधिको युगमा मेलम्ची आयोजनाको पुनर्निर्माण र नयाँ डिजाइनसम्बन्धी भिडियो रिपोर्टलाई पहिलो पटक ‘क्युआर कोड’ मार्फत दुवै प्रकाशनमा उच्च प्राथमिकता दिएर २०८१ असार १९ गते प्रकाशित र प्रसारित गर्ने कामको थालनी भएको छ ।”
गोरखापत्र अनलाइनमा प्रकाशित भिडियो सामग्रीको क्युआर कोड बनाई गोरखापत्र दैनिकको पहिलो पृष्ठमा पहिलो पटक प्रकाशन भएको देखिन्छ । डिजिटलमा तयार भएको भिडियो सामग्रीको क्युआर कोड दैनिकको त्यसैसँग सम्बन्धित सामग्रीमा राखेर प्रकाशन गर्न थालियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रकाशित गरेको एक वर्ष (२०७९।१०।०३–२०८०।१०।०२) को विवरणमा गोरखापत्र संस्थानको प्रगति विवरण समावेश गरिएको छ । त्यसको पृष्ठ २६ मा लेखिएको छ, “गोरखापत्र संस्थानका प्रकाशनको पहुँचलाई सहज तथा प्रभावकारी बनाउन डिजिटल प्लेटफर्मको सञ्चालनमा स्तरीयता अभिवृद्धि गर्ने कार्य भएको । सामाजिक सञ्जालमार्फत समेत गोरखापत्र संस्थानका विविध प्रकाशन सामग्री सेयर गर्ने गरिएको । गोरखापत्र संस्थानका प्रकाशनहरूलाई क्युआर कोड (क्युआर) गरेर पढ्न र हेर्न मिल्ने व्यवस्था मिलाइएको । साथै विज्ञापन तथा ग्राहक शुल्क भुक्तानी प्रक्रियालाई सहज बनाउन क्युआर प्रणाली कार्यान्वयनमा ल्याइएको ।” यस प्रतिवदनले पनि गोरखापत्रको डिजिटल यात्रा तीव्र गतिमा अगाडि बढेको देखिन्छ ।
५.१२ स्मार्ट गोरखापत्र अभियान
स्मार्ट गोरखापत्र अभियानको सुरुवातले गोरखापत्रलाई एक बहुआयामिक डिजिटल प्लेटफर्मका रूपमा स्थापित ग¥यो । यो अभियानले अनलाइन मात्र नभई मोबाइल एप्लिकेसन र सामाजिक सञ्जालमार्फत पनि समाचार सम्प्रेषण गर्ने व्यवस्था भयो । यो अभियानले गोरखापत्रलाई स्मार्ट र डिजिटल बनाउन ठोस योगदान दियो । गोरखापत्रले सामाजिक सञ्जालहरू (फेसबुक, ट्विटर, युट्युब, टिकटक) को सक्रिय प्रयोग सुरु गरेको छ । यसले ताजा समाचार, भिडियो र विविध मल्टिमिडिया सामग्री डिजिटल प्रयोगकर्तालाई उपलब्ध गराउन सघायो ।
गोरखापत्रका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीको नेतृत्वमा डिजिटल युग सुहाउँदो ‘स्मार्ट गोरखापत्र’ नारा अघि बढ्यो । सुवेदी अनलाइन पत्रकारिता र ऐरी टेलिभिजन पत्रकारिताको पृष्ठभूमिबाट आएकाले पनि डिजिटल प्रविधिप्रति बढी आकर्षण बढेको हुन सक्छ । अध्यक्ष सुवेदीले सञ्चार मन्त्रालयका अधिकारीसमक्ष गरेको प्रस्तुतिमा लेखिएको छ, “वर्तमान डिजिटल युग सुहाउँदो ‘स्मार्ट गोरखापत्र’ को लक्ष्य हासिल गर्न संस्थानले डिजिटल प्रकाशनलाई प्राथमिकतामा राखेको छ । २०७९ वैशाख १ गतेदेखि ‘गोरखापत्र’ र ‘दी राइजिङ नेपाल’ दुवैको न्युज पोर्टल प्रभावकारी बनाउन यसलाई नयाँ डेभलपमेन्ट तथा डिजाइनसहित प्रस्तुत गरिएको छ । न्युजपोर्टलसहित नयाँ डिजाइनको डिजिटल प्लेटफर्म पनि हामीले लन्च गरिसकेका छौँ । सामाजिक सञ्जालमा हाम्रो उत्पादनको मर्यादित उपस्थितिलाई अझ प्रभावकारी बनाउने प्रयास हामी गरिरहेका छौँ । अब हाम्रो जोड डिजिटल प्लेटफर्मको आक्रामक विकासतिर छ । अखबार प्रकाशनको ९५ वर्षपछि इन्टरनेट प्रविधि प्रवेश गरेको छ ।”
युट्युब च्यानलमा ‘सांसदलाई संवाद’ २०८२ साउन १२ गते शनिबारबाट सुरु गर्यो । सांसद तारा लामा तामाङसँग गोरखापत्र अनलाइनका उपसम्पादक लक्की चौधरी, भिडियो ग्राफर मनोजरत्न शाही र केशव गुरुङले सवाल जवाफको भिडियो संस्थानमै छायाङ्कन गरिएको थियो । हुन त भिडियो सामग्री प्रसारण भने धेरै पहिलादेखि हुँदै आएको थियो । सांसदलाई सवाल गोरखापत्रको संस्थागत पहिलो शृङ्खलाबद्ध भिडियो प्रस्तुति हो ।
५.१३ ई हाजिरको व्यवस्था
विसं २०७५ भदौदेखि गोरखापत्र संस्थानले कर्मचारीको हाजिरी प्रणालीलाई विद्युतीय प्रणालीबाट अगाडि बढाउने क्रममा विद्युतीय मेसिनको प्रयोग गरेर हाजिर प्रणालीलाई व्यवस्थित बनायो । यसबाट समयको बचत हुनुका साथै कर्मचारीको विद्युतीय अभिलेख राख्न छिटो र प्रभावकारी भयो । यसले पारदर्शिता कायम गर्नुका साथै स्वचालित अभिलेख कायम हुन थाल्यो । यो कागजविहीन प्रणाली हो र यसले अनुशासनमा सुधार ल्याउँछ । यो प्रविधिको प्रयोगले गोरखापत्रको व्यवस्थापन प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउन मद्दत गर्याे ।
५.१४ सूचना प्रविधि विभाग गठन
संस्थानले सूचना प्रविधि क्षेत्रमा आएको परिवर्तनसँगै विसं २०७६ साउन १ गतेदेखि संस्थानमा सूचना प्रविधि विभागको गठन भयो । यो विभाग गठन गर्नुको मुख्य उद्देश्य भनेको परम्परागत मुद्रणबाट डिजिटल मञ्च (प्लेटफर्म) मा रूपान्तरण गर्न मद्दत गर्नु थियो । डिजिटल सामग्रीको व्यवस्थापन, प्रविधिको प्रभावकारी प्रयोग, साइबर सुरक्षा सुनिश्चित गर्ने, नवीन प्रविधिको अनुसरण गर्ने, डिजिटल अभिलेख राख्ने, गोरखापत्र अनलाइन संस्करणका प्रयोगकर्ताका लागि सहज र उपयोगी अनुभव प्रदान गर्ने र ई हाजिरी प्रणालीलाई व्यवस्थित गर्नु थियो । त्यस विभागको प्रमुखमा रेखादेवी श्रेष्ठलाई जिम्मेवारी तोकियो ।
५.१५ डिजिटल लेखा प्रणाली
विसं २०७७ साउन १ गतेदेखि गोरखापत्र संस्थानले लेखा प्रणालीलाई डिजिटल सिस्टम सञ्चालनमा ल्यायो । संस्थानले आफ्नो व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण गर्दै डिजिटल लेखा प्रणाली अपनाएको हो । यसले संस्थानको आर्थिक कार्य सञ्चालनलाई प्रभावकारी र पारदर्शी लक्ष्य राखेको छ । डिजिटल लेखा प्रणालीले आर्थिक विवरणको व्यवस्थापन गर्न सहज भयो । यसले परम्परागत कागजी प्रक्रिया हटाएर डिजिटल माध्यमबाट सम्पूर्ण वित्तीय प्रक्रिया सम्पन्न गर्न सहयोग गर्छ ।
५.१६ एकीकृत व्यवस्थापन प्रणाली
संस्थानले एकीकृत व्यवस्थापन प्रणाली लागु गर्न (जिआइओएमएस) २०७९ पुस २४ गते सञ्चार तथा सूचना प्रविधि विभाग, गैरीगाउँ काठमाडौँबाट प्राप्त पत्रमा एकीकृत व्यवस्थापन प्रणाली लागु गर्न गोरखापत्रलाई पत्राचार गरिएको पाइन्छ । कम्प्युटर इन्जिनियर सुदर्शन गुरागाईंले डिजिटल हस्ताक्षर गरेर पठाएको पत्रमा २०७९ साउन १ गतेबाट सिंहदरबारभित्रका मन्त्रालयमा लागु भइसकेको उल्लेख गर्दै गोरखापत्र संस्थानलाई पत्राचार गरिएको पाइयो । त्यही पत्र अनुसार गोरखापत्र संस्थानले २०७९ माघ २ गतेबाट दर्ता, चलानीको कार्य यो प्रविधिबाट अगाडि बढाउन थाल्यो । गोरखापत्रका सूचना प्रविधि विभागका प्रमुख रेखादेवी श्रेष्ठका अनुसार २०८० साउन १ गतेबाट दर्ता, चलानी, टिप्पणी उठाउनेदेखि सदर गर्नेसम्मका सबै कार्य डिजिटल प्रविधिबाट हुन थाले ।
गोरखापत्रले लागु गरेको यो प्रणालीले गोरखापत्रलाई डिजिटल हुन, द्रुत, पारदर्शी र कागजरहित प्रशासनमा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । यो प्रणालीले संस्थानको दर्ता, चलानी, टिप्पणी जस्ता कार्य डिजिटल प्रविधिबाट भइरहेका छन् । यसले सुदृढ प्रशासन, छिटो सूचना प्रवाह, पारदर्शिता, कागजरहित प्रशासन र खर्चको बचत गर्न सहयोग पु¥याएको छ ।
५.१७ डिजिटल हस्ताक्षर
गोरखापत्र संस्थानले नेपाल सरकारबाट मान्यता प्राप्त रेडियन्ट इन्फोटेक नेपाल प्रालिसँग विसं २०७९ फागुन २४ गते सम्झौता गरी डिजिटल हस्ताक्षरको सुरुवात गरेको देखिन्छ । त्यसको लगत्तै २०७९ फागुन २४ गतेदेखि कार्यकारी अध्यक्ष, महाप्रबन्धकदेखि प्रकाशन प्रमुख र विभागीय प्रमुखसहित अन्य अधिकारीहरूको ‘डिजिटल हस्ताक्षर’ गर्ने प्रणाली कार्यान्वयनमा ल्याएको पाइन्छ । डिजिटल हस्ताक्षर एक विशेष प्रकारको हस्ताक्षर हो, यसले प्रेषकको परिचय र उसले पठाएको सूचनाको प्रमाणीकरण गर्छ । यसले मुख्य रूपमा सूचना प्रसारणको प्रमाणीकरण, अखण्डता, मौलिकता र विश्वसनीयताको प्रत्याभूति गर्छ ।
५.१८ मल्टिमिडिया युनिट र स्टुडियो निर्माण
२०७९ मा भिडियो सामग्री सम्पादन गर्न सक्ने कम्प्युटर ‘एडिटिङ डेक्स’ उपलब्ध भएपछि संस्थानको भवनबाटै भिडियो उत्पादन सुरु भयो । त्यसभन्दा अगाडि जति पनि भिडियो सामग्री उत्पादन भए ती भिडियोग्राफर मनोजरत्न शाहीले आफ्ना उपकरणबाट घरमा उत्पादन गरेर गोरखापत्रमा ल्याउने गरेको देखिन्छ । भिडियो सम्पादन गर्नेसहित अन्य कम्प्युटर उपलब्ध भएपछि ‘मल्टिमिडिया युनिट’ स्थापना भई मनोजरत्न शाहीलाई संयोजकको जिम्मेवारी दिएको देखिन्छ ।
कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महप्रबन्धक लालबहादुर ऐरीको पहलमा डिजिटल प्लेटफर्मलाई सशक्त बनाउने योजना अन्तर्गत उपकरण उपलब्ध हुन थाले । त्यही योजना अनुसार, भिडियो छायाङ्कन गर्नका लागि संस्थानमै ‘गोरखापत्र स्टुडियो’ स्थापना भयो । गोरखापत्रको १२४ वर्षको इतिहासमा फोटोग्राफी र भिडियोग्राफीका लागि पहिलो स्टुडियो बन्न पुग्यो, गोरखापत्र स्टुडियो । सुरुमा गोरखापत्र दैनिकको एउटा खुला कक्षमा भिडियो रेकर्डिङ सुरु भएकोमा २०८१ पुसबाट नयाँ स्टुडियो निर्माण गरी ‘सांसदलाई सवाल’ लगायतका कार्यव्रmमको रेकर्डिङ सुरु भएको पाइन्छ ।
सन्दर्भ सामग्री
- अनलाइन पत्रकारिता, हाते किताब (२०७७) आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सञ्चार रजिस्ट्रारको कार्यालय, बागमती प्रदेश । डिजिटल फाउन्डेसन ।
- गोरखापत्र स्मारिका (२०७४) गोरखापत्र संस्थान । मुद्रक गोरखापत्रको छापाखाना
- गोरखापत्र संस्थानको सञ्चालक समितिको २०३८ र २०३९ को निर्णय
- गोरखापत्र प्रकाशन शैली (२०८१:८५। गोरखापत्र संस्थान, धर्मपथ, काठमाडौँ ।
- गौतम, नारद । सम्प्रेषण (२०७३:.१३५) गोरखापत्र संस्थान, धर्मपथ काठमाडौँ ।
- डिजिटल साक्षरता (२०७९) आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सञ्चार रजिस्ट्रारको कार्यालय, बागमती प्रदेश । डिजिटल फाउन्डेसन ।
- ‘डिजिटल गोरखापत्रमा क्युआर कोडको प्रयोग’ शीर्षकको प्रतिवेदन, २०८१, असार
- डिजिटल नेपाल फ्रेमवर्क, २०७६ : tps://giwmscdnone.gov.np/media/app/public/22/posts/1663305162_66.pdf)
- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रकाशित गरेको एक वर्ष (२०७९/१०/०३–२०८०/१०/०२) को प्रतिवेदन ।
- सम्प्रेषण (२०७१), नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाको स्मारिका (२०७१) मुद्रक : गोरखापत्र संस्थानको छापाखाना
- सम्प्रेषण (२०७३) नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाको सौगात (२०७३) मुद्रक गोरखापत्रको छापाखाना
- शतवार्षिकी स्मारिका (२०५७) गोरखापत्र संस्थान, धर्मपथ काठमाडौँ ।
- https://www.exelatech.com/blog/brief-history-digitization
- https://gorkhapatra.org.np/
- https://gorkhapatraonline.com/news/14076
- https://gorkhapatraonline.com/news/14076
- https://gorkhapatraonline.com/
- https://gorkhapatraonline.com/
- https://harsha-maharjan.medium.com/gorkhapatras-technological-transformation-ebfffeed1a48
- Mercantile Communications Pvt. Ltd.
- https://risingnepaldaily.com/
- https://www.techpana.com/2022/139320/first-internet-nepal-sanjib-rajbhandari-mercantile
- https://en.wikipedia.org/wiki/Digitization#Process
- राजुकुमार महत, प्रमुख, अर्थ विभाग, गोरखापत्र संस्थान ।
- निरञ्जन तिम्सिना, कम्प्युटर अधिकृत (सेवानिवृत्त), गोरखापत्र संस्थान ।
- रेखादेवी श्रेष्ठ, प्रमुख, सूचना प्रविधि तथा सामान्य प्रकाशन विभाग, गोरखापत्र संस्थान ।
- विनय श्रेष्ठ र असीम प्रधान, मर्कन्टाइल कुम्युनिकेसन प्रालि, काठमाडौँ ।
- त्रिरत्न मर्हजन, कम्प्युटर सहायक (सेवानिवृत्त), गोरखापत्र संस्थान ।
लेखक गोरखापत्र अनलाइनका डिजिटल प्रमुख (निमित्त कार्यकारी सम्पादक) हुनुहुन्छ ।
प्रस्तुत आलेख ‘ डिजिटल युगमा गोरखापत्र ’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।