प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन २७ गते । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रमेशकुमार मल्लले सल्यानको प्रमुख यातायात मार्गका रूपमा रहेको राप्ती लोकमार्गको विस्तार तथा स्तरोन्नति कार्यप्रति चासो व्यक्त गर्नुभएको छ ।
मङ्गलवार बिहान उहाँले दाङ–सल्यान सडक खण्डअन्तर्गत पर्ने हर्नौटी–राम्री खण्डमा भइरहेको सडक निर्माण तथा स्तरोन्नति कार्यको स्थलगत अवलोकन गर्दै निर्माणको प्रगतिबारे जानकारी लिनुभएको हो । अवलोकनका क्रममा उहाँले सडक निर्माणको अवस्था, निर्माण सामग्रीको प्रयोग, प्राविधिक पक्ष तथा निर्माणको गतिलगायतका विषयमा सरोकारवालासँग छलफल गर्नुभयो ।
सो अवसरमा हर्नौटी–राम्री सडक खण्डको विस्तार तथा स्तरोन्नतिको ठेक्का लिएको पिके निर्माण सेवाका तर्फबाट खटिएका इन्जिनियर प्रेम भण्डारीले सडक निर्माणको काम योजनाअनुसार अगाडि बढिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सडक विस्तार, ढल निकास निर्माण, ग्राभेलिङ तथा आवश्यक संरचना निर्माणका काम क्रमशः अघि बढाइएका छन् ।
भण्डारीका अनुसार उक्त सडक निर्माणका लागि गत जेठ महिनामा सम्झौता भएको थियो । सम्झौताअनुसार २०८२ जेठ ४ गतेसम्म काम सम्पन्न गर्ने समयसीमा निर्धारण गरिएको छ । यद्यपि, निर्माण कम्पनीले निर्धारित समयभन्दा पाँच–छ महिनाअघि नै काम सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा काम गरिरहेको उहाँले बताउनुभयो ।
अवलोकनका क्रममा प्रतिनिधिसभा सदस्य मल्लले सडक विस्तार तथा स्तरोन्नतिको काम गुणस्तरीय ढङ्गले र समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । विकास निर्माणका काममा गुणस्तरलाई पहिलो प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उहाँले स्थानीय बासिन्दाको सहज आवतजावतका लागि सडकलाई दिगो र सुरक्षित बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले वर्षायाममा सडकमा हिलो र पहिरोका कारण हुने समस्या न्यूनीकरण गर्न तथा अन्य समयमा धुलो नियन्त्रणका लागि निर्माण कम्पनीले आवश्यक पूर्वतयारी गर्नुपर्ने बताउनुभयो । साथै निर्माण कार्यका क्रममा स्थानीय बासिन्दालाई कमभन्दा कम असर पर्ने गरी काम अघि बढाउन पनि उहाँले आग्रह गर्नुभयो ।
यसैबिच राप्ती लोकमार्गका विभिन्न खण्डमा तीनवटा निर्माण कम्पनीले सडक स्तरोन्नति, विस्तार तथा मर्मतका काम गरिरहेको सडक डिभिजन दाङका सूचना अधिकारी इन्जिनियर अशोक चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार राप्ती लोकमार्गका तीनवटा खण्डमा गरी करिब नौ किलोमिटर सडक 'डबल लेन' विस्तार तथा स्तरोन्नतिका लागि करिब ४० करोड रुपियाँको लागतमा पिके निर्माण सेवाले ठेक्का पाएको छ । यसअन्तर्गत सडक चौडा बनाउने, कालोपत्रे गर्ने, नाली निर्माण गर्ने तथा सडक सुरक्षासम्बन्धी संरचना निर्माणका काम भइरहेका छन् ।
त्यसैगरी राम्री–कपुरकोट सडक खण्डमा आरडी उज्ज्वल लोक मणि जेभीले र चोरखोला–खौला सडक खण्डमा सुरत टक्सार जेभीले सडक निर्माण तथा स्तरोन्नतिको काम गरिरहेका छन् ।
राप्ती लोकमार्ग सल्यान जिल्लाको प्रमुख यातायात मार्ग मात्र नभई कर्णाली प्रदेशलाई लुम्बिनी प्रदेशसँग जोड्ने महत्त्वपूर्ण सडक सञ्जालका रूपमा रहेको छ । यस सडकको स्तरोन्नतिले सल्यानसहित आसपासका जिल्लाका बासिन्दाको आवतजावत सहज हुनुका साथै व्यापार, कृषि उत्पादन ढुवानी तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
प्रतिनिधिसभा सदस्य मल्लले सल्यानको 'लाइफलाइन' का रूपमा रहेको राप्ती लोकमार्गको डबल लेन विस्तार तथा स्तरोन्नतिका लागि आफूले निरन्तर खबरदारी गर्दै सरोकारवाला निकायसँग समन्वय गरेर कामलाई तीव्रता दिन पहल गरिरहने बताउनुभयो ।