काठमाडौँ, फागुन २६ गते । अन्तर्राष्ट्रिय सन्त महामण्डलेश्वर स्वामी श्रीश्री १००८ बाबा कालीदास कृष्णानन्द परमहंसजी महाराज (कालीबाबा) ले नेपाल समुन्नति, सुशासन र राजनीतिक स्थिरताको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएपछि कालीबाबाले दुईतिहाइको जनादेशले नेपाली नागरिकको शान्ति र स्थिरताको चाहना अभिव्यक्त गरेको उल्लेख गर्नुभएको हो ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसहित निर्वाचित सबै उम्मेदवारलाई बधाई ज्ञापन गर्नुभएको छ । "नेपालका नवयुवाले भ्रष्टाचार र कुशासनको दुष्चक्रबाट देशलाई मुक्त गर्न आन्दोलन गरेका हुन् । 'जेनजी' आन्दोलनको कार्यादेशलाई जनताले एकल बहुमतमार्फत अनुमोदन गरेका छन्," सन्देशमा भनिएको छ, "रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहसहित सबै विजयी उम्मेदवारलाई बधाई छ । मतदाताले सुम्पिएको जिम्मेवारी पाँच वर्षभित्र पूरा हुनेमा म विश्वस्त छु ।"
कालीबाबाले मुलुकलाई आर्थिक उन्नति र विकासको मार्गमा अगाडि बढाउन अब बन्ने बलियो सरकारले नवीनतम् अवधारणासहितका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै यसका लागि आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, "आर्थिक उन्नतिका लागि धार्मिक पर्यटनमा सरकारले ध्यान दिनुपर्छ । नेपाल मेरो मातृभूमि र भारत कर्मभूमि हो । म भारतीय श्रद्धालुहरूलाई पशुपतिनाथको दर्शनका लागि प्रोत्साहित गरिरहनेछु । नयाँ सरकारलाई सन्त समाजको पूर्ण साथ रहने छ ।"
कालीबाबाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु र रास्वपा विजयी हुनुलाई नेपालको इतिहासमा 'स्वर्णिम मोड' का रूपमा व्याख्या गर्नुभएको छ । उहाँले यस जितलाई राजनीतिक दलको विजय मात्र नभई परिवर्तनप्रतिको जनचाहनाको परिणाम भएको बताउनुभयो ।
यसैबिच, कालीबाबाले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री सुशीला कार्की र नेपाल सरकारप्रति आभार व्यक्त गर्नुभएको छ ।