काठमाडौँ, फागुन २६ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधिसभाको हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको सानदार जितका लागि सो पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिनुभएको छ ।
प्रधानमन्त्री मोदीले टेलिफोन संवाद र आफ्नो आधिकारिक ‘एक्स’ ह्यान्डलमार्फत रास्वपाका सभापति लामिछाने र वरिष्ठ नेता शाहसँग हार्दिक दिनुभएको हो ।
निर्वाचनमा प्राप्त विजय र रास्वपाको सफलताका लागि दुवै नेतालाई बधाई दिँदै मोदीले आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले दुई देशको आपसी समृद्धि, प्रगति र हितका लागि मिलेर काम गर्ने भारतको प्रतिबद्धता समेत दोहोर्याउनु भएको छ । "हाम्रो संयुक्त प्रयासबाट आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ लिनेमा म विश्वस्त छु," उहाँले उल्लेख गर्नुभएको राससकाे समाचारमा उल्लेख छ ।
यसैबीच, रास्वपाका सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई आपसी सम्मान र साझा समृद्धिका आधारमा सुदृढ बनाउन पार्टी र सरकार प्रतिबद्ध रहने बताउनुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको बधाई सन्देशको प्रत्युत्तर दिँदै लामिछानेले नेपाली जनताको लोकतान्त्रिक जनादेशलाई सम्मान गरेकोमा आभार व्यक्त गर्नुभयो ।
सामाजिक सञ्जालमार्फत उहाँले प्रधानमन्त्री मोदीलाई धन्यवाद दिँदै रास्वपाले आफ्नो परराष्ट्र नीतिमा ‘विकास कूटनीति’ लाई प्राथमिकता दिने उल्लेख गर्नुभयो ।
नेपालले भारतसँग कनेक्टिभिटी, सांस्कृतिक पर्यटन, ऊर्जा र व्यापार जस्ता क्षेत्रमा थप सहयोग सुदृढ गर्न चाहेको लामिछानेको भनाइ छ । दुई छिमेकीबीचको प्रवर्द्धित सहयोगले दुवै देशका जनताको उज्ज्वल भविष्य सुनिश्चित गर्न मद्दत पुग्ने उहाँले बताउनुभयो ।