• २७ फागुन २०८२, बुधबार

दूध बजार पुर्‍याउन र विद्यालय जान सजिलो

झोलुङ्गे पुलले छोट्यायो दुई घण्टाको बाटो

blog

कर्णाली नदीमाथि रास्कोट क्षेत्र जोड्न निर्माण गरिएको झोलुङ्गे पुल। तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, फागुन २७ गते । कर्णाली नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय बासिन्दाको आउजाउ सहज भएको छ। जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–१, रेगिल र खाँडाचक्र नगरपालिका–३, रास्कोट जोड्ने झोलुङ्गे पुल बनेपछि आवतजावतमा सुविधा पुगेको हो।

खाँडाचक्र–३, ताडीस्थित पशुचौपाया पाल्ने मुख्य क्षेत्र रास्कोटमा यसअघि पुल नहुँदा स्थानीयले निकै सास्ती खेप्नुपरेको थियो। अहिले पुल निर्माण भएपछि पशुपालक किसान उत्साहित छन्। स्थानीय मनिराज पाण्डेका अनुसार रास्कोट क्षेत्र घाँसका लागि प्रचुर रहेकाले गाउँका धेरैले त्यहाँ गोठ बनाएका छन्।

“पहिला यहाँ धेरैको बसोवास थियो, तर सडक पुगेपछि बसाइँसराइले गर्दा पातलो भयो,” पाण्डे भन्नुहुन्छ, “पशुपालन गर्ने किसानका लागि रास्कोट निकै उपयोगी भएकाले यहाँका बासिन्दालाई यो पुल वरदान साबित भएको छ।” झोलुङ्गे पुल बनेपछि रास्कोट, बाढीच्युरा, लामाखर्क, सिम, धनाडी र कुना लगायतका करिब ३० घरधुरी लाभान्वित भएका छन्।

पुल बनेपछि विशेष गरी भैँसीको दूध स्थानीय बजारसम्म पुर्‍याउन सजिलो भएको छ। विगतमा दूध बिक्रीका लागि बजार पुग्न दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता थियो। स्थानीय माधवप्रसाद पाण्डेका अनुसार अहिले फुकोट कर्णाली अर्धजलाशययुक्त आयोजनाको निर्माण क्षेत्रमा कार्यरत कर्मचारी र मजदुरका लागि दूध पुर्‍याउन दुई घण्टाको घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हटेको छ।

अहिले दूध लिएर घरबाट निस्किएको १० देखि १५ मिनेटमै रेगिल पुग्न सकिन्छ। पुलले विद्यार्थीलाई पनि ठुलो राहत दिएको छ। सान्नी त्रिवेणी–१ स्थित शङ्कर माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने रास्कोट, लामाखर्क र सिम धनाडीका बालबालिकालाई विद्यालय जान निकै सहज भएको छ। अहिले बालबालिका यही पुल भएर विद्यालय जाने र फर्कँदा बजारमा दूध पुर्‍याउने कामसमेत सँगै गरिरहेको पाण्डेले जानकारी दिनुभयो।