काठमाडौँ, फागुन २७ गते । नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ ।
निगमले मङ्गलबार एक उडान सूचना प्रकाशन गर्दै आज राति ११ः१५ बजे वाइडबडी विमानबाट नेपालमा रोकिएका यात्रु दुबई लैजाने छ भने दुबईबाट काठमाडौँ आउनका लागि रोकिएका यात्रुलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने भएको हो ।
दुबईबाट उडेको आरए २३० (दुबई–काठमाडौँ) वाइडबडी बिहीबार बिहान ४ः१० बजे काठमाडौँ फर्किने तालिकामा उल्लेख गरिएको छ ।
अमेरिका–इरान युद्ध सुरु भएपश्चात् रोकिएका यात्रुको उद्धारका लागि १२औँ दिनपछि पहिलोपटक निगमले दुबईमा विशेष उडान भर्न लागेको निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार ‘पहिलो जो आउँछ उसैलाई पहिलो सेवा’ भन्ने मान्यताका साथ यात्रुलाई प्राथमिकतामा राखिएको छ । उहाँले आज राति २७० देखि २८० जना यात्रु दुबई पुग्ने जानकारी दिनुभयो ।
उहाँका अनुसार आरए २२९ (काठमाडौँ–दुबई) आज राति ११ः१५ बजे र आरए २३० (दुबई–काठमाडौँ) बिहीबार बिहान ४ः१० बजे स्वदेशका लागि उडान भर्ने तालिका छ ।
गत २८ फेब्रअरीदेखि ९ मार्च सम्म टिकट लिई यात्रा गर्न असमर्थ रहेका यात्रुले मात्रै आज राति यात्रा गर्न पाउनेछन् । निगमबाट टिकट पुनः प्रमाणित गराई यात्रा गर्न सूचनामार्फत निगमले सबैमा अनुरोध गरेको छ । रासस