- अर्थशास्त्रीदेखि सांसदसम्म : डा. वाग्लेको काँधमा मुलुकको आर्थिक भरोसा
अमरराज नहर्की
तनहुँ, फागुन २७ गते । नेपालको सार्वजनिक नीति र अर्थतन्त्रका बहसमा लामो समयदेखि सुपरिचित नाम हो— डा. स्वर्णिम वाग्ले । अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउनुभएका डा. वाग्ले पछिल्ला वर्षमा सक्रिय राजनीतिमा प्रवेश गर्दै अहिले तनहुँ क्षेत्र नम्बर १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा डा. वाग्ले ३८ हजार ४० मतसहित विजयी हुनुभएको हो । उहाँले आफ्ना मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ हजार ८०९ को फराकिलो मतान्तरले पराजित गर्नुभएको छ । भट्टराईले १६ हजार २३१ मत प्राप्त गर्नुभएको थियो ।
उहाँको यो शानदार जित र विषयगत विज्ञतालाई दृष्टिगत गर्दै धेरैले उहाँलाई मुलुकको ‘भावी अर्थमन्त्री’ का रूपमा समेत चर्चा गर्न थालेका छन् । विशेष गरी देशको शिथिल अर्थतन्त्रलाई गति दिन सक्ने सामर्थ्य उहाँमा रहेको भन्दै आम नागरिक र लगानीकर्तामा उहाँप्रतिको भरोसा उच्च देखिएको छ ।
गोरखा जिल्लामा जन्मनुभएका वाग्ले सामान्य परिवेशमा हुर्कनुभएको हो । बाल्यकालदेखि नै अध्ययनमा विशेष अभिरुचि राख्ने उहाँले नेपालको विद्यालय शिक्षापछि उच्च शिक्षाका लागि विश्वका प्रतिष्ठित विश्वविद्यालयको यात्रा गर्नुभयो ।
उहाँले बेलायत, अस्ट्रेलिया र अमेरिकाका प्रख्यात शिक्षण संस्थाबाट अर्थशास्त्र र सार्वजनिक नीतिमा उच्च शिक्षा तथा विद्यावारिधिको उपाधि हासिल गर्नुभएको छ ।
अध्ययनका क्रममा उहाँले विकास अर्थशास्त्र, सार्वजनिक नीति र आर्थिक सुधारका विषयमा विशेष अनुसन्धान गर्नुभएको थियो भने यही प्रखर अध्ययनले उहाँलाई अन्तर्राष्ट्रिय स्तरका नीतिगत बहसमा सहभागी गराएको हो ।
उच्च शिक्षापछि डा. वाग्लेले विभिन्न अन्तर्राष्ट्रिय निकायमा रहेर काम गर्नुभयो । विशेष गरी विश्व बैंक र संयुक्त राष्ट्रसङ्घ जस्ता संस्थामा आबद्ध भई उहाँले विकास, गरिबी न्यूनीकरण र आर्थिक नीतिका विषयमा विश्वका विभिन्न मुलुकमा कार्य गर्नुभएको अनुभव छ । स्वदेश फर्किएपछि उहाँले राष्ट्रिय योजना आयोगको सदस्य र पछि उपाध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो ।
लामो समय नीतिगत क्षेत्रमा काम गरेपछि डा. वाग्लेले केवल नीति निर्माण मात्र पर्याप्त नभएको र त्यसलाई कार्यान्वयन गर्न सबल राजनीतिक नेतृत्वकै आवश्यकता पर्ने महसुस गर्नुभयो । यही चिन्तनका साथ उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत सक्रिय राजनीतिमा होमिनुभएको थियो ।
उहाँको राजनीतिमा प्रवेशलाई धेरैले प्राविधिक विज्ञताबाट जनमतको नेतृत्वतर्फको सार्थक यात्राका रूपमा हेरेका छन् । तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचन लड्दा उहाँले विकास, सुशासन, स्वरोजगारी र आर्थिक सुधारका विषयलाई मुख्य कार्यसूचीका रूपमा अघि सार्नुभएको थियो ।
मतदातासँग प्रत्यक्ष संवाद गर्दै उहाँले प्रस्तुत गर्नुभएको नयाँ सोच र परिणाममुखी राजनीतिको मार्गचित्रलाई तनहुँका बासिन्दाले सहर्ष अनुमोदन गरेका छन् ।
डा. वाग्ले आज नेपाली राजनीतिमा नीतिगत दक्षता भएको नेतृत्वका रूपमा स्थापित हुनुहुन्छ र उहाँको अनुभवले संसदमा दरिलाे आवाज थप्ने मात्र नभई सरकारको आर्थिक बागडोर सम्हाल्ने बलियो सम्भावना समेत देखाएको छ ।
संसदमा नीतिगत बहसलाई प्रभावकारी बनाउने र मुलुकको आर्थिक सङ्कट समाधानमा ठोस योगदान दिने अपेक्षाका साथ उहाँलाई मतदाताले पुन: विजयी गराएका हुन् । विज्ञता र जनमतको यो संयोगले आगामी दिनमा उहाँको भूमिका कस्तो रहन्छ भन्ने विषयलाई थप कौतूहलपूर्ण बनाएको छ ।
केन्द्रीय उपसभापति र अर्थशास्त्री भएको नाताले पनि उहाँले अर्थमन्त्रीको जिम्मेवारी पाउने अपेक्षा गरिएको रास्वपा तनहुँका सभापति विश्वनाथ बास्तोला बताउनुहुन्छ ।