काठमाडौँ, फागुन २७ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि मौसम क्रमिक रुपमा सुधार हुने सम्भावना रहेको बताएको छ ।
महाशाखाले बुधबार अपरान्ह जारी गरेको विशेष मौसम बुलेटिन अनुसार बिहीबारदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँहरुमा क्षणिक वर्षाको सम्भावना पनि देखिएकोले मौसमको हालको अवस्था क्रमिक रुपमा सुधार हुने सम्भावना छ ।
नेपालको उपल्लयो वायुमण्डलमा उच्च चापीय मौसम प्रणाली स्थिर रही पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसकेको महाशाखाले जनाएको छ ।
वायुमण्डलको तल्लो तहमा न्यून चापीय गतिविधि बढ्न नसकेको कारणले पर्याप्त वर्षा हुन नसकी प्रदुषण वायुमण्डलको तल्लो तहमै संचित भएर रहँदा केही दिनदेखि देशका धेरै भू-भागहरु तुँवालो प्रभावित भएको छ ।
तुँवालोका कारण स्वास्थ्यमा पर्न सक्ने असरबाट बच्न आवश्यक सुरक्षाका उपाय अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।