शिवकुमार रिजाल
मनहरी (मकवानपुर), फागुन २७ गते । मकवानपुरको राक्सिराङ गाउँपालिका–७ का ६६ वर्षीय खैरसिं प्रजा (चेपाङ) ले आफ्नो खोरियामा उत्पादन भएको १०४ धार्नी तरुल बिक्री गर्नुभएको छ ।
हालै तरुल बिक्री गरेर उहाँले एकै पटक २० हजार ८ सय रुपियाँ आम्दानी गर्नुभएको हो । प्रतिधार्नी २०० रुपियाँका दरले गाउँमै तरुल बिक्री भएपछि खैरसिंले सन्तोष व्यक्त गर्नुभएको छ ।
मकवानपुरको दुर्गम क्षेत्रस्थित राक्सिराङ गाउँपालिका–९, धिराङ र दाराङका चेपाङ बस्तीमा उत्पादित तरुल बीउका लागि 'सूक्ष्म पुष्प समाज' नामक गैरसरकारी संस्थाले सङ्कलन गरिदिएको हो । संस्थाले बीउका लागि तरुल सङ्कलन गरेर सोही गाउँका अन्य ५० जना किसानलाई वितरण गर्न लागेको चेपाङ पहिचान तथा खाद्य प्रवद्र्धन कार्यक्रमका पहिचान संयोजक विशुमान प्रजा (चेपाङ) ले जानकारी दिनुभयो ।
“खैरसिं बाजेले नै सबैभन्दा बढी तरुल हामीलाई बेच्नुभयो,” विशुमानले भन्नुभयो, “उहाँ मिहिनेती र हरेक वर्ष व्यावसायिक रूपमा तरुल उत्पादन गर्ने किसानका रूपमा चिनिनुहुन्छ ।” खैरसिंले १० कट्ठा क्षेत्रको खोरिया र कान्लामा लगाउनुभएको तरुल र सखरखण्ड अझै बिक्रीका लागि बाँकी छन् । उहाँको घरमा अझै केही परिमाणमा तरुल र एक क्विन्टलभन्दा बढी सखरखण्ड तयारी अवस्थामा रहेको बताइएको छ ।

पछिल्ला केही वर्षयता स्थानीय स्तरमा लोप हुने अवस्थामा पुगेका तरुल, सखरखण्ड, पिँडालु लगायतका जरेबालीको प्रवद्र्धनका लागि संस्थाले कार्य गरिरहेको छ । कार्यक्रमअन्तर्गत सहभागी किसानले अहिले जरेबाली खेतीमा विशेष ध्यान दिन थालेका छन् । चेपाङ समुदायको जनजीविकासँग जोडिएका तरुल, गिठ्ठा र भ्याकुरजस्ता जमिनमुनि उत्पादन हुने खाद्यवस्तुको जगेर्नाका लागि समुदायलाई नै परिचालन गरिएको छ ।
संस्थाले गरेको अध्ययनअनुसार सो क्षेत्रमा पाँचभन्दा बढी प्रजातिका तरुल फेला परेका छन् । तीमध्ये 'हलो' नामको तरुल छिटो उत्पादन हुने र स्वादिलो हुने भएकाले लोकप्रिय छ । तरुलको उत्पादन वृद्धि गरी चेपाङ समुदायको खाद्य सुरक्षामा टेवा पुर्याउने र परम्परागत खाद्यान्नको प्रवर्द्धन गर्ने कार्यलाई स्थानीय सरकारसँगको समन्वयमा निरन्तरता दिइएको सूक्ष्म पुष्प समाजले जनाएको छ ।