• २७ फागुन २०८२, बुधबार

मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह

blog

काबुल, फागुन २७ गते । मध्यपूर्व क्षेत्रमा बढ्दै गएको द्वन्द्व र अस्थिरताले इरानमा बसोबास गर्दै आएका अफगान परिवारलाई स्वदेश फर्किन बाध्य बनाइरहेको छ । यसरी ठूलो सङ्ख्यामा फर्किरहेका परिवारसँगै बालबालिकाको अवस्था निकै जोखिमपूर्ण बन्दै गएको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले जनाएको छ । 

युनिसेफका अनुसार सीमावर्ती क्षेत्रमा आइपुग्ने धेरै परिवार अत्यन्त थकित, चिन्तित र आधारभूत सहयोगको आवश्यकता भएको अवस्थामा देखिएका छन् । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तस्थित इस्लाम काला सीमा नाका लगायतका विभिन्न प्रवेश बिन्दुमा इरानबाट फर्किने अफगान परिवारको सङ्ख्या पछिल्लो समय उल्लेख्य रूपमा बढेको छ । धेरैजसो परिवार अचानक यात्रा गर्न बाध्य भएका कारण उनीहरूसँग पर्याप्त खाद्यान्न, स्वास्थ्य सेवा वा सुरक्षित बसोबासको व्यवस्था नभएको अवस्था छ ।

लामो र कठिन यात्राका कारण विशेष गरी साना बालबालिका, गर्भवती महिला र वृद्ध व्यक्ति बढी प्रभावित भएका छन् । अफगानिस्तानका लागि युनिसेफका प्रतिनिधि ताजुद्दीन ओयेवालेले स्वागत केन्द्रमा पुगिरहेका आमा आफ्ना बालबालिकासहित अत्यन्तै थकित र मानसिक दबाबमा रहेको बताउनुभएको छ । उहाँका अनुसार धेरै बालबालिकाले लामो यात्रा, खानपानको अभाव र असुरक्षित अवस्थाका कारण शारीरिक तथा मानसिक समस्या भोगिरहेका छन् । 

उहाँले आगमनको संख्या अझै बढ्ने सम्भावना रहेको उल्लेख गर्दै यदि आवश्यक सहयोग तुरुन्त उपलब्ध गराउन सकिएन भने बालबालिकाको स्वास्थ्य र सुरक्षामा गम्भीर असर पर्ने चेतावनी दिनुभएको छ । उपलब्ध तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा मात्र करिब तीस लाख अफगान नागरिक छिमेकी देशबाट अफगानिस्तान फर्किएका छन् । तीमध्ये अधिकांश इरान र पाकिस्तानबाट फर्किएका हुन् । फर्किने व्यक्ति मध्ये झण्डै साठ्ठी प्रतिशत बालबालिकासहितका परिवार रहेका छन् ।

ठूलो सङ्ख्यामा परिवार एकैचोटि फर्किदा स्थानीय समुदाय, स्वास्थ्य सेवा, शिक्षा तथा अन्य आधारभूत सेवामा थप दबाब परेको छ । अफगानिस्तान पहिले नै आर्थिक कठिनाइ, बेरोजगारी, खाद्यान्न अभाव र कमजोर स्वास्थ्य संरचनाका कारण मानवीय संकटको सामना गरिरहेको देश हो । यस्तो अवस्थामा बाहिरबाट ठूलो सङ्ख्यामा फर्किने परिवारले देशको सीमित स्रोत साधनमाथि अझ बढी दबाब सिर्जना गरेका छन् । 

धेरै परिवार घरबारविहीन छन् र उनीहरूलाई बसोबास, खाद्यान्न, स्वास्थ्य सेवा तथा सरसफाइ सामग्रीको तत्काल आवश्यकता रहेको छ । युनिसेफले विशेष गरी बालबालिकाको पोषण अवस्था, स्वास्थ्य सेवा, सुरक्षित पिउने पानी, सरसफाइ र स्वच्छता सम्बन्धी सामग्री उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदाय, दातृ संस्था तथा मानवीय सहयोग निकायलाई सहयोग बढाउन आग्रह गरेको छ । 

संस्थाले सीमावर्ती क्षेत्रमा अस्थायी सहायता केन्द्र सञ्चालन गर्दै बालबालिका र आमालाई आवश्यक स्वास्थ्य सेवा, पोषण आहार तथा मनोसामाजिक सहयोग उपलब्ध गराउने प्रयास गरिरहेको जनाएको छ । युनिसेफका अनुसार समयमै पर्याप्त सहयोग नपुगेमा हजारौ बालबालिका कुपोषण, रोग तथा असुरक्षाको जोखिममा पर्न सक्छन् । त्यसैले अफगानिस्तान फर्किने परिवारलाई दीर्घकालीन सहयोग र पुनस्र्थापना कार्यक्रम आवश्यक रहेको संस्थाले जोड दिएको छ । रासस/सिन्ह्वा