• २७ फागुन २०८२, बुधबार

भाषा आयोगका सदस्य मानन्धरको अन्तिम संस्कार

blog

भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरको अन्तिम संस्कारका लागि लगिदै । तस्बिरः मनोजरत्न शाही

गोरखापत्र अनलाइन

काठमाडौँ, फागुन २७ गते । भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरको आज श्रद्धाञ्जलीसभापछि अन्तिम संस्कार गरिएको छ । हृदयाघातका कारण उहाँको सोमबार निधन भएको थियो । 

श्रद्धाञ्जलीका लागि उहाँको पार्थीव शरीर आज विहान ९ देखि दिउँसो १२ बजेसम्म विजयश्वरीस्थित नेपाल भाषा मंकाः खलको प्राङ्गणमा राखिएको थियो । सोपछि रथयात्रा गर्दै उहाँको आजै अन्तिम संस्कार गरिएको छ । श्रद्धाञ्जलीसभामा सरकारका मन्त्री, भाषा आयोगका अध्यक्षसहित सदस्यहरु, राजनीतिक दलका नेताहरु, सांसदहरु, कागमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोल, पत्रकार, समाजसेवी तथा नेवा समुदायका बौद्धिक व्यक्तित्वहरुको सहभागिता थियो । 

५९ वर्षीय मानन्धर नेपालभाषा टाइम्सका पूर्व सम्पादक, साहित्यकार एवम् लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो। एक कार्यक्रममा सहभागी हुने क्रममा अचानक हृदयाघात भएपछि मानन्धलाई शिक्षण अस्पतालको मनमोहन कार्डियाक सेन्टर लगिएको थियो । चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए। 

नेपाल भाषाको साप्ताहिक पत्रिका इनापबाट पत्रकारिता सुरु गर्नुभएका मानन्धर विश्वभूमि दैनिकको प्रकाशन गर्नुभयो । सन्ध्या टाइम्स तथा नेपालभाषा टाइम्समा सम्पादकको जिम्मेवारीमा रहनुभयो।  

यसैगरी, अप्सरा फिल्म म्यागजिन, कोशल्वहं चिनाखँ स्वलापौ, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकासशत हुने थाय्भू पत्रिकाको सम्पादक मण्डलमा रहेर योगदान दिनुभयो । २०२३ साल कात्तिकमा जन्मिनुभएका मानन्धरका श्रीमती र दुई सन्तान छन् ।