• २७ फागुन २०८२, बुधबार

रक्तपातविहीन ऐतिहासिक निर्वाचन : गृहमन्त्री अर्याल

blog

गृह मन्त्रालयमा आयोजित भर्चुअल बैठकमा सहभागी गृहमन्त्री ओमप्रकाश अर्यालसहित । तस्बिर : गृहमन्त्रीको सचिवालय

काठमाडौँ, फागुन २७ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोस्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

गृह मन्त्रालयमा आयोजित भर्चुअल बैठकमा निर्वाचनको समीक्षा गर्दै मन्त्री अर्यालले रक्तपातविहीन ऐतिहासिक निर्वाचन सम्पन्न गर्न आ–आफ्नो भूमिका सफलतापूर्वक निर्वाह गरेकोमा सुरक्षा निकाय र स्थानीय प्रशासनको प्रशंसा गर्नुभयो । 

बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, चारवटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरूका साथै सातै प्रदेशका प्रमुख सचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता थियो ।

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको र राजनीतिक सुशासनको जग बसेको उल्लेख गर्दै मन्त्री अर्यालले भन्नुभयो, “यस ऐतिहासिक उपलब्धिको हिस्सेदार केन्द्रदेखि फिल्डमा खटिने सबै तहका कर्मचारी हुनुहुन्छ । सामूहिक र साझा प्रयासबाट मात्रै यो सफलता सम्भव भएको हो ।” उहाँले निर्वाचनका क्रममा अमूल्य सल्लाह र सुझाव दिने सबैप्रति आभार समेत प्रकट गर्नुभयो ।

सो अवसरमा गृहसचिव राजकुमार श्रेष्ठले कर्मचारीहरूले व्यावसायिक निष्ठा र असल नियतका साथ जिम्मेवारी पूरा गरेका कारण अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूबाट समेत निर्वाचनको उच्च प्रशंसा भएको बताउनुभयो ।

बैठकमा सहभागी प्रदेश कमाण्ड पोस्ट र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले निर्वाचन सुरक्षा व्यवस्थापनका अनुभव सुनाउनुभएको थियो । उहाँहरूले विगत तीन दशकका निर्वाचनको तुलनामा यस पटकको निर्वाचन बढी स्वच्छ र त्रुटिरहित भएको उल्लेख गर्दै गृहमन्त्रीको कुशल नेतृत्व र अभिभावकत्वको सराहना गर्नुभयो ।