• ३० फागुन २०८२, शनिबार

निर्वाचित सांसद भण्डारी घरदैलोमा जनताको समस्या सुन्दै

blog

बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद भण्डारी जिल्लाभर घरदैलो कार्यक्रममा । तस्बिर : केशव राज भट्ट

केशव राज भट्ट
वाशुलिङ (बैतडी), फागुन २८ गते ।
बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद भण्डारी जिल्लाभर घरदैलो कार्यक्रममार्फत जनताको भेटघाटमा व्यस्त हुनुहुन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भण्डारी बैतडीका दुर्गम र ग्रामीण बस्तीहरूमा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या सुन्ने कार्यमा जुट्नुभएको छ।

निर्वाचन अघि प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गरेको स्मरण गर्दै उहाँले अहिले जनतालाई धन्यवाद दिन र उनीहरूको समस्या बुझ्न पुनः गाउँ–गाउँ पुगिरहेको बताउनुभयो। ग्रामीण क्षेत्रका समस्या नजिकबाट बुझेर समाधानका लागि आवश्यक पहल गर्ने उहाँको भनाइ छ।

आफू सम्पूर्ण जिल्लावासीको प्रतिनिधि तथा अभिभावक भएको उल्लेख गर्दै सांसद भण्डारीले जस्तोसुकै समस्या पर्दा निसंकोच आफूलाई सम्झन स्थानीयलाई आग्रह गर्नुभएको छ।

पूर्वाधार विकास, विद्युत् विस्तार, शिक्षा र स्वास्थ्य सेवाको सुदृढीकरणलगायत जनजीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा सुधार ल्याउन आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।