• २९ फागुन २०८२, शुक्रबार

५३ वर्षीय गोविन्द : सात निर्वाचनमा म्यादी प्रहरी

blog

म्यादी प्रहरी भई राष्ट्रिय सेवा गरेर फर्किनुभएका गोविन्द देवकोटालाई स्थानीयले गरेको सम्मान । तस्बिर: प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, फागुन २९ गते । नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य स्वागत गरिएको छ । खाँडाचक्र नगरपालिका–३, ताडी निवासी ५३ वर्षीय गोविन्द देवकोटालाई स्थानीयवासी तथा आफन्तजनले सम्मानसहित स्वागत गरेका हुन् ।

निर्वाचन सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै पटक–पटक म्यादी प्रहरीको जिम्मेवारी पूरा गरेका देवकोटा बिहीबार जिल्ला प्रहरी कार्यालयबाट बिदाइ भई गाउँ पुग्नुभएको थियो । उहाँलाई स्थानीय युवा तथा दाजुभाइले रुपैयाँको माला र अबिर लगाएर भव्य स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा बोल्दै देवकोटाले आफूले कालीकोटमै रहेर सात वटा निर्वाचनमा म्यादी प्रहरीको भूमिका निर्वाह गरेको बताउनुभयो । "एकातिर निर्वाचन शान्तिपूर्ण बनाउनु थियो भने अर्कोतर्फ आम्दानीको स्रोत पनि हुने भएकाले मैले पटक–पटक सेवा गर्ने अवसर पाएँ," उहाँले भन्नुभयो । उहाँले वि.सं. २०५४ देखि २०८२ सम्मको आफ्नो सेवा यात्रा इमानदारीपूर्वक पूरा गरेकोमा गौरव व्यक्त गर्नुभयो ।

स्थानीय लक्ष्मणबहादुर शाहीले गाउँकै व्यक्तिले सात पटकसम्म राज्यको सुरक्षा निकायलाई विश्वास दिलाएर जिम्मेवारी पूरा गर्नु गर्वको विषय भएकाले स्वागत गरिएको जानकारी दिनुभयो ।

देवकोटाले वि.सं. २०५४ सालको स्थानीय निर्वाचनमा पहिलो पटक म्यादी प्रहरीका रूपमा सेवा सुरु गर्नुभएको थियो । त्यतिबेला उहाँले चार हजार दुई सय रुपैयाँ पारिश्रमिक पाउनुभएको थियो । हाल २०८२ सालको आम निर्वाचनमा अन्तिम पटक सेवा गर्दा उहाँले ४९ हजार रुपैयाँ बुझ्नुभएको छ ।

वि.सं. २०२९ सालमा जन्मिनुभएका देवकोटा अहिले ५३ वर्ष पुग्नुभएको छ । म्यादी प्रहरीका लागि ५४ वर्षको उमेर हद तोकिएकाले अब आउने निर्वाचनमा सहभागी हुन नपाउनेमा उहाँ केही चिन्तित देखिनुहुन्छ ।

उहाँले वि.सं. २०५४ को स्थानीय निर्वाचनपछि २०५६ को आम निर्वाचन, २०६४ र २०७० को संविधान सभा निर्वाचन, २०७४ को स्थानीय, सङ्घ तथा प्रदेश निर्वाचन, २०७९ को स्थानीय, सङ्घ तथा प्रदेश निर्वाचन र अन्तिममा २०८२ को आम निर्वाचनमा सुरक्षाको जिम्मेवारी सफलतापूर्वक पूरा गर्नुभएको छ ।