• २९ फागुन २०८२, शुक्रबार

धुलिखेल-खावा सडक कालोपत्रे

blog

कालोपत्रेका लागि तयार गरिँदै अरनिको राजमार्ग अन्तर्गतकाे धुलिखेल–खावा सडक । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना

बनेपा, फागुन २९ गते । निर्माण व्यवसायीको लापरवाहिका कारण लामो समयदेखि निर्माण हुन नसकेको अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्ड अब कालोपत्रे हुने भएको छ । साढे तीन वर्षदेखि धुलिखेल–खावा सडक विस्तारको काम सुरु गरिएको भएपनि निर्माण व्यवसायीका कारण यो सडकको काम पुरा हुन सकेको थिएन ।

१४ महिनाभित्र सडकको काम पुरा गर्ने सर्त अनुसार कात्तिक २४ गते सडक डिभिजन भक्तपुर र सिएम-एवान-काली जेभी काठमाडौँबीच नयाँ ठेक्का सम्झौता भएपछि सडक विस्तारको कामले गति लिएको थियो । सडक विस्तारको कामले गति लिएसँगै चैत ७ गतेबाट उक्त सडक खण्ड कालोपत्रे गर्ने तयारी भएको सडक डिभिजन भक्तपुरले जनाएको छ । 

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले निर्माणाधिन अरनिको राजमार्गको धुलिखेल–खावा सडक चैत ७ गतेदेखि कालोपत्रे सुरु गरिने बताउनुभयो । उहाँले चैत ७ गतेबाट कालोपत्रे सुरु हुने भएकोले चैत २० गतेसम्म उक्त खण्डमा ट्रिपर सञ्चालनमा रोक लगाउने निर्णय भएको बताउनुभयो । उहाँले शुक्रबार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको सरोकारवालाको बैठकले सडक कालोपत्रे गर्ने समयमा ट्रिपर सञ्चालनमा रोक लगाउने निर्णय भएको बताउनुभयो । 

सडक कालोपत्रे अवधिमा साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवहाक बस, मालवहाक तथा चार पाङ्ग्रे सवारी साधन समेत चलाउन रोक लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाँईले बैठकले सडक कालोपत्रे गर्ने समयमा बैकल्पिक रुटहरुमा सवारी चलाउनका लागि प्रबन्ध तथा सहजीकरण गर्नका लागि जिल्ला ट्राफिक प्रहरीलाई निर्देशन दिइएको बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अधयक्षतामा बसेको बैठकमा पाँचखाल नगरपालिका र मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुखहरु, सुरक्षा निकायका प्रमुख-प्रतिनिधिहरु, सडक कार्यालयका प्रमुख, साइट हेर्ने इन्जिनियर, निर्माण व्यवसायीको सहभागिता रहेको थियो । डिभिजन प्रमुख सिडिई योगेशले नयाँ ठेक्का अनुसार चैत महिनाभित्र कालोपत्रे गरिसक्ने सम्झौता अनुसार नै कामले गति लिएको कारण कालोपत्रे सुरु गर्न लागिएको बताउनुभयो । आगामी १४ महिनाभित्र धुलिखेल–खावा सडक खण्डको काम सम्पन्न गर्ने गरी डिभिजन र सिएम-एवान-काली जेभी काठमाडौँबीच ३१ करोड ५६ लाख रुपियाँको सम्झौता भएको थियो ।

सडक डिभिजनले धुलिखेलदेखि खावासम्मको सडक सात मिटर चौडाईको रहेको जनाएको छ । सिडिई योगेशले सडक कालोपत्रेसँगै सडकमा रहेको पहिरो व्यवस्थापनका लागि पहिलाको डिजाइनमा समावेश नभएको स्वायल नेलिङ, जुट नेटिङ, सर्फेस ड्रेनेज (भित्री भागको पानीलाई पाइपको माध्यमबाट पानी बाहिर निकाल्ने काम)लगायतका केही नयाँ कामहरु समेत गरिने बताउनुभयो । उहाँले धुलिखेल–खावा सडक खण्डमा ट्रिपर धेरै गुड्ने भएकोले सडकको दिगोपनाको लागि सिमेन्ट बेश समेत हालिने बताउनुभयो ।

यसअघि सम्झौता भएको २२ महिनाभित्र सडक विस्तारको काम सम्पन्न गर्ने गरी धुलिखेलदेखि–खावासम्मको चार दशमलव १५५ किलोमिटर सडक विस्तार गर्नका लागि सडक डिभिजन भक्तपुर र गौरी पार्वती निर्माण सेवा प्रालिबीच २०७९ जेठ २० गते ठेक्का सम्झौता भएको थियो । 

उक्त निर्माण कम्पनीले पटक-पटक म्याद थप गर्दा समेत सन्तोषजनक काम नगरेपछि डिभिजनले २०८१ फागुन १५ गते निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो ।