• ३० फागुन २०८२, शनिबार

माथिल्लो मर्स्याङ्दी मा उच्चस्तरको मर्मत सुरु

blog

लमजुङको भुलभुलेमा रहेको माथिल्लो मर्स्याङ्दी –ए जलविद्युत आयोजना । तस्बिर :नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, फागुन ३० गते । मर्स्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनामा उच्च स्तरको मर्मत थालिएको छ ।

शनिबारदेखि सुरु गरिएको मर्मतकार्य सकिन डेढ महिना लाग्ने आयोजनाले जनाएको छ ।विद्युत गृहका टर्बाइन र बाँधस्थलको मर्मत सुरु गरिएको आयोजनाका दोभाषे दयाराम दहालले जानकारी दिनुभयो ।

आयोजनाले विद्युत उत्पादन थालेको नौ वर्ष भएको छ । २५÷२५ मेगावाटका दुई वटा फ्रान्सिस टर्बाइन रहेको उक्त आयोजनामा टर्बाइनको मर्मतसम्भार चाइनाबाट आएको प्राविधिक टोलीले गरिरहेको छ ।

दोभाषे दहालले भन्नुभयो, “यसपटक एउटा टर्बाइनको उच्चकोटीको मर्मत गरिनेछ भने, अर्को मध्यमस्तरको मर्मत हुनेछ । उच्च स्तरमा बिग्रिएका मेसिनको मर्मत नभई नयाँ जडान हुनेछ ।”

मर्मतको समयमा एउटा युनिटबाट मात्र विद्युत उत्पादन हुनेछ । रन अफ रिभर (पानीको बहावमा आधारित) आयोजनाको बाँधक्षेत्रमा पनि मर्मत भइरहेको छ ।

चाइनिज कम्पनी ब्युरो सातसँग मिलेर नेपाली निर्माण व्यवसायीहरूले मर्मतको काम गरिरहेका छन् भने टर्बाइन मर्मतमा चिनियाँ विशेषज्ञसहितको इन्जिनियर तथा प्राविधिकहरू खटिएका छन् ।

बर्खामा खोलामा मिसिएका पहिरोसहितको ढुङ्गामाटो र बालुवाका कणले टर्बाइनका दाँतहरू खियाउने भएकाले हिउँदको समयमा वर्षैसाल मर्मत गरिदै आएको आयोजनाले जनाएको छ । आयोजनाबाट हिउँदको समयमा २८ देखि ३० मेगावाट विद्युत उत्पादन हुनेगर्दछ । मर्मतको काम सकिएपछि दुबै टर्बाइनबाट विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ । 

 सन् २०१३ को जनवरीमा निर्माण सुरु भई २०१७ जनवरीबाट व्यावसायिक विद्युत् उत्पादन थालेको यो आयोजना चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको सगरमाथा हाइड्रोपावर कम्पनीको १० प्रतिशत लगानीमा बनेको हो । आयोजनाको उत्पादन प्रविधि विभाग प्रमुख तोङ चियाङ्पोले वार्षिक तीन करोड ३५ लाख किलोवाट आवरको विद्युत उत्पादनको अपेक्षा भन्दा माथि उठेर आयोजनाले विद्युत उत्पादन गरिरहेको बताउनुभयो । 

यस आयोजनाबाट नेपालको ऊर्जा क्षेत्रमा राम्रो योगदान दिएको उहाँको भनाइ छ ।आयोजनाबाट उत्पादित विद्युत काठमाडौँ र पोखरा लगायतका क्षेत्रमा पठाइँदै आएको छ । जसले विशेषगरी सुख्खा मौसममा देखिने विद्युत अभाव न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको छ ।

आयोजनाले पछिल्लो आठ वर्षमा सुरक्षा तथा उत्पादनका दृष्टिले निकै सबल कार्य सम्पन्नता देखाएको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताउनुभयो ।