विष्णुप्रसाद पोखरेल
दमक, फागुन ३० गते ।झापामा विहीबार रातीदेखि शुक्रबार बिहानसम्म अविरल वर्षासहित आएको हावाहुरीका कारण केरा खेती र कृषिमा ठूलो क्षति पुगेको छ ।
हावाहुरीले केरा खेती, कुखुरा फार्म, चिया प्रशोधन कारखानामा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा गाउँपालिका वडा नं.७ मा पूजा खनालले लगाएको केरा खेतीमा हावाहुरीका कारण ठूलो क्षति पुगेको छ ।
हावाहुरीले करिब ३२ सय वटा केरा बोट पूर्ण रूपमा ढाल्दा करिब १६ लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्थानीय किसानका अनुसार हावाहुरीले खेतभरि लगाइएका केरा बोट ढालेपछि उत्पादनमा समेत ठूलो असर पर्ने बताएकाछन्।
स्थानीय किसान चन्द्रबहादुर बस्नेतका अनुसार केराका बोटहरू लडेर धेरै क्षति भएको छ । घरी लागेका केराका बोट लडेका कारण धेरै क्षति पुगेको हो । यस्तै हल्दीबारी–२ मा प्रदीपकुमार गुरुङले सञ्चालन गरेको वृन्दा कृषि फर्ममा पनि हावाहुरीका कारण क्षति पुगेको छ ।
टिनको छानो, तारजाली र त्रिपालले घेराबारा गरिएको उक्त फर्ममा राखिएका ब्रोइलर कुखुराका चल्लाहरू मरेका छन् ।१० दिनका करिब एक हजार चल्ला र २५ दिनका थप एक हजार चल्ला सहित फर्मको संरचनामा क्षति पुगेको गुरुङले बताउनुभयो।
करिब सात लाख रुपैयाँ बराबरको नोक्सान भएको छ।भीम राईले सञ्चालन गरेको तेहेङ मत्स्य तथा कृषि पशुपङ्क्षी फर्ममा रहेको ब्रोइलर फर्ममा पनि हावाहुरीले क्षति पुऱ्याउँदा तीन लाख भन्दा बढिको क्षति पुगेको छ ।
फर्मको संरचनामा लगाइएको टिनको छानो उडाएको छ । तारजालीले घेरिएको संरचनामा पनि क्षति पुगेको छ । यता झापाको मेचीनगर–१५ निलकोठीमा रहेको माता पाथिभरा प्लाइउड इन्डष्ट्रिज प्रालिको गोदामको छाना उड्दा गोदामभित्र पानी पसेर ठूलो क्षति पुगेको बताइएको छ ।
गोदाममा राखिएको भेनियर भिज्दा करिब ८७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको उद्योगले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार क्षति सङ्कलन गर्ने क्रम र क्षतिको विवरण लिने काम भइरहेको छ ।