धीरेन्द्रप्रसाद साह
राजविराज, फागुन ३० गते । सप्तरीको साधारण ग्रामीण परिवेशमा जन्मिएका एक बालकले नदी किनारको बालुवामा घर बनाउँदै र औँलाले चित्र कोर्दै सुरु गरेको सिर्जनात्मक यात्राले आज नेपाली कला क्षेत्रमा प्रेरणादायी कथा रचेको छ ।
सप्तरीको खडक नगरपालिका-१० मा जन्मनुभएका ४५ वर्षीय चित्रकार गोपालप्रसाद चौधरी ले बाल्यकालदेखि नै चित्रकलाप्रति गहिरो रुचि देखाउनुभएको थियो ।

गाउँ नजिकैको नदी किनार उहाँको पहिलो ‘क्यानभास’ बनेको थियो । बालुवामा घर बनाउने, औँलाले साथीहरूको नाम लेख्ने र चित्र कोर्ने सानो रुचिले भविष्यका कलाकारको संकेत दिएको उहाँ सम्झनुहुन्छ ।
विद्यालय जीवनमै विभिन्न कला प्रतियोगितामा सहभागी भई सप्तरी तथा मोरङ जिल्लास्तरका पुरस्कारसमेत प्राप्त गर्नुभएका उहाँले औपचारिक शिक्षासँगै चित्रकलाको अभ्यासलाई निरन्तरता दिनुभएको थियो ।
आमाबुवाको चाहनाअनुसार इन्जिनियर बन्ने सपना बोकेर काठमाडौँ पुगे पनि उहाँले अन्ततः चित्रकलालाई नै आफ्नो जीवनको बाटो बनाउनुभयो ।
साथीहरू पुल्चोक इन्जिनियरिङ कलेजमाअध्ययनरत रहँदा आफूले भने चित्रकलाको औपचारिक अध्ययन थालेको उहाँ बताउनुहुन्छ ।
पढाइ खर्च रोकिने डरले सुरुमा यो कुरा अभिभावकलाई नबताएको उहाँले करिब अढाई वर्षपछि चित्रकला विषयको प्रविणता प्रमाणपत्र तहमा उत्कृष्ट नतिजा ल्याएपछि मात्र बुवालाई वास्तविकता जानकारी गराउनुभएको थियो ।
छोराले इन्जिनियर बन्ने सपना त्यागेको खबरले सुरुमा निराश भएका बुवाले गाउँकै आफन्त तथा वरिष्ठ कलाकारहरूको सल्लाहपछि भने यस क्षेत्रमा अघि बढ्न परिवारबाट सहयोग गरेको उहाँले बताउनुभयो ।
स्नातक तहको अध्ययनपछि नेपालमा चित्रकलामा स्नातकोत्तर तहको अध्ययन उपलब्ध नभएकाले केही समय अन्योलमा पर्नुभएका उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला गतिविधिमा सक्रियता बढाउँदै मूर्त र अमूर्त दुवै शैलीमा सिर्जना गर्न थाल्नुभयो ।
नेपाली वरिष्ठ कलाकारहरू शशिविक्रम शाह, के.के. कर्माचार्य, किरण मानन्धर, मनुजबाबु मिश्र, रागिनी उपाध्याय र गोपाल कलाप्रेमी श्रेष्ठ का कृतिहरूबाट आफू प्रभावित भएको उहाँ बताउनुहुन्छ ।
लियोनार्दो दा भिन्ची, पाब्लो पिकासो, साल्भाडोर डाली, भिन्सेन्ट भ्यान गग र एम।एफ। हुसेनका जीवनी र कलात्मक यात्राले आफ्नो सिर्जनात्मक दृष्टि समृद्ध बनाएको उहाँको भनाइ छ ।
उहाँले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट चित्रकलामा स्नातकोत्तर अध्ययनको क्रममा थारुहरूको रैथाने कला र शिल्प’, ‘हातको इशारा, मुद्रा र प्रतीकमार्फत अभिव्यक्ति’ तथा ‘भ्यान गग र उनका कला’ विषयमा अनुसन्धान गरी प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ ।
यस अवधिमा कलाकार दम्पती डा। सीमा साह र उमाशंकर साहबाट प्रभावित भई थारु लोककलाका तत्व प्रयोग गर्दै अमूर्त शैलीमा चित्र सिर्जना गर्न थाल्नुभएको उहाँ बताउनुहुन्छ ।उहाँको कला यात्राले थारु लोककलाको संरक्षण र प्रवद्र्धनलाई केन्द्रमा राखेको छ ।
करिब पाँच वर्ष काठमाडौँस्थित विभिन्न कलेजमा अध्यापन गर्नुभएका उहाँले सामाजिक अभियन्ताको रूपमा सक्रिय रहँदा सात वर्षसम्म उल्लेखनीय कला सिर्जना गर्न नसकेको पीडा व्यक्त गर्नुभयो ।
समाज र राज्य दुवैले कलाको बजारीकरणप्रति पर्याप्त ध्यान नदिँदा कलाकारले सिर्जनाको उचित मूल्य नपाउने अवस्था रहेको उहाँको भनाइ छ ।
हाल समग्र जन‑उत्थान केन्द्र लहान ९सिरहा०र जर्मन सहयोग नागरिक शान्ति सेवाको सहकार्यमा सन् २०२३ देखि स्थानीय शान्ति विज्ञका रूपमा कार्यरत उहाँलाई संस्थाका अध्यक्ष रामभरोसी महतो तथा शान्ति सल्लाहकार साधुराम तामाङले पुनः सिर्जनामा फर्किन प्रेरित गरेको बताउनुभयो ।
परिवारको साथ र सहकर्मीहरूको प्रेरणाले करिब एक दशकपछि पुनः क्यानभास समात्दै उहाँले प्रादेशिक कला प्रदर्शनी २०८२ मार्फत राष्ट्रिय कला प्रदर्शनीमा सहभागिता जनाउनुभएको छ ।
सप्तरीको नदी किनारबाट सुरु भएको उहाँको कला यात्राले संघर्ष, साहस र पुनर्जागरणको कथा बोकेको छ ।लोककलाको संरक्षण र प्रवद्र्धनलाई जीवनको ध्येय बनाएका कलाकार गोपालको आगामी सिर्जनात्मक यात्रा अझ उज्यालो हुने विश्वास मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीको भनाइ छ ।
