काठमाडौँ , फागुन २८ गते । इरानका नयाँ सर्वोच्च नेता मुज्तवा खामेनीले इरानी सरकारी टेलिभिजनमार्फत पहिलो वक्तव्य दिनुभएको हो । उहाँको पहिलो औपचारिक वक्तव्यमा मारिएका इरानीहरूको ‘रगतको बदला लिने’ प्रतिबद्धतासमेत व्यक्त गरिएको बिबिसीले जनाएको छ ।
आफ्ना पिताको उत्तराधिकारी बनेपछि मुज्तवा खामेनी अहिलेसम्म सार्वजनिक रूपमा देखा पर्नुभएको छैन । यसैबीच, खाडी क्षेत्रमा इरानले कार्गो जहाजहरूमाथि आक्रमण तीव्र पारेको छ । इराक नजिक दुईवटा ट्याङ्कर र संयुक्त अरब इमिरेट्स (यूएई) नजिक एउटा कन्टेनर जहाजमाथि आक्रमण भएको छ । तीमध्ये कम्तीमा एउटा आक्रमणमा आफ्नो सेना संलग्न रहेको इरानी सरकारी सञ्चारमाध्यमले स्वीकार गरेका छन् ।
इरानभित्रै पनि तनाव बढ्दै गएको छ । अमेरिका र इजरायलले राजधानी तेहरानमा रहेका चेकपोइन्टलाई लक्षित गरी हवाई आक्रमण गरेका छन् । बासिज मिलिसियाले इरानमा हुने विरोध प्रदर्शनहरूलाई दबाउने कार्य गर्दै आएको छ ।