• २९ फागुन २०८२, शुक्रबार

कोहलपुर प्राइड लिग: एसपीए कलेजलाई हराउँदै ब्राइटल्याण्डको जित

blog

 सिराज खान

नेपालगन्ज, फागुन २९ गते । कोहलपुरमा सञ्चालन भइरहेको ‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा ब्राइटल्याण्ड कलेज विजयी भएको छ । ब्राइटल्याण्डले सुदूरपश्चिमको एसपीए कलेजलाई चार विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको एसपीए कलेजले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४६ रनको योगफल तयार पारेको थियो । एसपीएका लागि सागर साउद र नीरज ऐरले समान ४४–४४ रन तथा हरिस बमले २७ रनको योगदान दिनुभयो । बलिङतर्फ ब्राइटल्याण्डका साहब आलम र सुनिल भण्डारीले दुई–दुई विकेट लिनुभयो ।

१४७ रनको लक्ष्य पछ्याएको ब्राइटल्याण्ड कलेजले आक्रामक ब्याटिङ गर्दै १३.३ ओभरमै ६ विकेट गुमाएर १५१ रन बनाउँदै जित सुनिश्चित गर्‍यो । ब्राइटल्याण्डको जितमा विनोद भण्डारीले सर्वाधिक ३० रन बनाउनुभयो भने सुनिल भण्डारीले २६, तुलबहादुर थापाले २५ र युवराज शर्माले २१ रन जोड्नुभयो ।

एसपीएका बलर नीरज ऐर र विमल कटुवालले तीन–तीन विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सक्नुभएन । खेलमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्नुभएका ब्राइटल्याण्डका सुनिल भण्डारी 'प्लेयर अफ द म्याच' घोषित हुनुभयो ।

प्रतियोगिताका मिडिया कोअर्डिनेटर सञ्जय मण्डलका अनुसार केपीएलको विजेताले नगद चार लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद दुई लाख रुपैयाँ पाउनेछ । यस्तै, विधागततर्फ उत्कृष्ट ब्याटर र बलरलाई १०–१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताका निर्देशक विनायक गिरीले बाँकेमा पहिलो पटक राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागितामा यस्तो भव्य प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । विभिन्न ६ वटा टोली सहभागी रहेको यो प्रतियोगिता आगामी चैत २ गतेसम्म सञ्चालन हुनेछ ।