• २९ फागुन २०८२, शुक्रबार

आदिवासी महासङ्घको एघारौं महाधिवेशन चैत ५ र ६ गते काठमाडौँमा हुने

blog

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११ औँ महाधिवेशनका सन्दर्भमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सहभागी अगुवाहरु। तस्बिर : केशब गुरुङ

काठमाडौँ, फागुन २९ गते । नेपाल आदिवासी जनजाति महासङ्घको एघारौं महाधिवेशन चैत ५ र ६ गते काठमाडौँमा आयोजना हुँदैछ । 

नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) का अध्यक्ष तथा  महासङ्घको एघारौं महाधिवेशन आयोजक समितिका संयोजक गेल्जे लामा शेर्पाका अनुसार यसअघि माघ ९ र १० गते विराटनगरमा हुने भनिएको अधिवेशन निर्वाचन आचारसंहिताका कारण स्थगित भएको थियो ।

महाधिवेशनको उदघाटन राष्ट्रपति रामचन्द्र पौडेलले चैत ५ गते गर्नुहुनेछ । अध्यक्ष शेर्पाका अनुसार उदघाटनसत्र नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा दिउँसो १ बजे सुरु हुनेछ । सोअघि विभिन्न जातीका जातीय सांस्कृतिक प्रदर्शन गरिने छ । भृकुटीमण्डप प्रदर्शनीमार्गबाट सुरु हुने सांस्कृतिक प्रदर्शन प्रज्ञा प्रतिष्ठानमा पुग्नेछ । 

महाधिवेशनमा ५६ वटा जातिय संस्थाबाट चार/चार जना, सचिवालयका २१ जना, १२ वटा सम्बन्धन सङ्गठन, २४ वटा प्रवास सङ्गठन र प्रदेशबाट तीन/तीन जना र ७७ जिल्लाबाट दुई/दुई जना प्रतिनिधि तोकिएको छ ।   

अध्यक्ष शेर्पाले देशमा ३५.३६ प्रतिशत आदिवासी जनजातिको जनसङ्ख्या रहेको भन्नुहुँदै यसका मुद्दा उठाउनुपर्ने आवश्यकता रहेको भनाइ राख्नुभयो । उहाँका अनुसार महाधिवेशनको अनुमानित खर्च २५ देखि ३० लाख रुपियाँ रहेको छ ।

महासङ्घका महासचिव दिवस राईले राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा समुद्घाटन समारोह आयोजना हुने जानकारी दिनुभयो । सो दिन सांस्कृतिक झाँकीसहितको र्‍याली बिहान ११ बजे भृकुटीमण्डप, भद्रकाली, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, जमल, घण्टाघर हुँदै कमलादी क्षेत्रमा प्रदर्शन हुनेछ । उहाँले महाधिवेशन आयोजनाका लागि १३ उपसमिति गठन गरिएको र संयोजक तोकिएको बताउनुभयो ।

प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजक महासङ्घका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती, प्रचारप्रसार तथा पत्राचार उपसमितिको संयोजक महासचिव दिवस राई, खाद्य तथा आवास व्यवस्थापन उपसमितिका संयोेजक उपाध्यक्ष युवराज जिरेल, आर्थिक व्यवस्थापन उपसमितिका संयोजक कोषाध्यक्ष विमल सारु मगर, प्रतिनिधि कार्ड, ब्याच, ब्यानर, पोष्टर तयारी उपसमितिका संयोजक सचिव गोविन्द लामा ह्योल्मो, लजिस्टिक व्यवस्थापन उपसमितिका संयोजक उपाध्यक्ष लाक्पा ढोक्प्या, सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक उपाध्यक्ष जिमी लामालाई तोकिएको छ । 

यसैगरी, विधान संशोधन उपसमितिका संयोजक वरिष्ठ उपााध्यक्ष बुद्ध घर्ती, स्वयम्सेवक व्यवस्थापन उपसमितिका संयोजक विमल सारु मगर, झाँकी ¥याली व्यवस्थपन उपसमितिका संयोजक बुद्ध घर्ती, अतिथि सत्कार तथा व्यवस्थापन उपसमितिका संयोजक उपााध्यक्ष श्रुती कुमाल, साङ्गठनिक प्रतिवेदन उपसमितिका संयोजक महासचिव दिवश राई, आर्थिक प्रतिवेदन उपसमितिका संयोजक विमल सारु मगरलाई जिम्मेवारी तोकिएको छ । 

महाधिवेशनको बन्दसत्र चैत ६ गते स्वयम्भुमा हुनेछ । बन्दसत्रले अध्यक्षसहित २१ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ । अध्यक्ष शेर्पाका अनुसार सर्वसम्मत कार्यसमिति चयनका लागि अन्तिम समयसम्म प्रयास गरिनेछ । सर्वसम्मत नभएमा विधानअनुसार लोकतान्त्रिक प्रक्रियाअनुसार नेतृत्व चयन गरिनेछ । महासंघमा आवद्ध विभिन्न ५६ जातीय संस्थाका प्रतिनिधिहरुको तर्फबाट ५६ जनाले मात्र मतदान गर्न पाउने महासंघको विधानमा व्यवस्था छ ।