• २९ फागुन २०८२, शुक्रबार

स्व. नेता कोइरालाको सम्झनामा पाँच लाखको अक्षयकोष स्थापना

blog

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ पराजुलीलाई पाँच लाखको चेक हस्तान्तरण गर्नुहुँदै स्व. कोइरालाका श्रीमती तथा परिवारका अन्य सदस्य । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, फागुन २९ गते । तत्कालीन नेकपा (एकीकृत समाजवादी)का नेता स्वर्गीय अशोक कोराइलाको वार्षिक पुण्यतिथिको अवसरमा बाँकेको कोहलपुर–१२ स्थित ज्ञानज्योति माध्यमिक विद्यालय चप्परगौडीमा पाँच लाखको अक्षयकोष स्थापना गरिएको छ । शुक्रबार उहाँको सम्झनामा वार्षिक पुण्यतिथिको अवसर पारेर विद्यालयमा पाँच लाखको अक्षयकोष स्थापना गरिएको हो । 

ज्ञानज्योती माध्यमिक विद्यालयमा स्वर्गीय नेता कोइरालाको पनि योगदान गरेकाले विद्यालयमा अक्षयकोष स्थापना गरिएको कोइरालाका दाजु गोविन्द कोइरालाले बताउनुभयो । स्वर्गीय नेता कोइरालाको सम्झनामा पुण्यतिथिको अवसर पारेर विद्यालयमा अध्ययन गर्ने गरिब, जेहेन्दार र पिछाडिएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराउन अक्षयकोषले मद्दत पुग्ने उहाँले बताउनुभयो ।

तत्कालीन एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहनुभएका कोइराला बाँके जिल्लाको इन्चार्जका रुपमा जिम्मेवारीमा रहँदै गर्दा उहाँको अकल्पनीय निधन भएको उहाँले जानकारी दिनुभयो। स्वर्गीय नेता कोइरालाको काम, योगदान र सम्झनालाई जीवन्त राख्नलाई पारिवारिक सल्लाहबमोजिम ज्ञानज्योति माविमा अक्षयकोष स्थापना गरिएको उहाँको भनाइ थियो । 

उहाँलगायत कोइराला परिवारका सदस्य स्वर्गीय नेता कोइरालाकी श्रीमती मञ्जु कोइराला, छोरा आशिस कोइराला, छोरी आस्था कोइरालाले विद्यालयका प्रधानाध्यापक सुमित्रा न्यौपाने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ पराजुलीलाई पाँच लाखको चेक हस्तान्तरण गर्नुभएको थियो । 

स्वर्गीय कोइरालाको मृत्यु भए पनि परिवारले पुण्य काम गरेर जीवन्त राख्ने काम गरेको विद्यालयका प्रधानाध्यापक न्यौपानेले बताउनुभयो । विद्यालयमा स्थापना गरिएको अक्षयकोषले हरेक वर्ष गरिब र जेहेन्दार विद्यार्थीहरुको मुहारमा उज्यालो ल्याउनुका साथै स्वर्गीय नेता कोइरालाको सम्झना रहिरहने उहाँले बताउनुभयो । 

उहाँले विद्यालयलाई विश्वास गरेर अक्षयकोष स्थापना गरेकोमा कोइराला परिवारलाई धन्यवाद प्रदान गर्दै स्वर्गीय नेता कोइराला र परिवारलाई पनि विद्यालयले रहेक वर्ष सम्झने बताउनुभयो। 

पार्टीकै कामको सिलसिलामा कपिलवस्तुमा रहँदा कोइरालालाई मस्तिष्कघात भएको थियो । भैरहवामा उपचारपश्चात् थप उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । त्यहाँ उपचारका क्रममा गत वर्ष चैत ११ गते उहाँको निधन भएको थियो ।