• २९ फागुन २०८२, शुक्रबार

साँगुरीगढी गाउँपालिका उपाध्यक्ष राई निलम्बित

blog

सागुरीगढी उपाध्यक्ष मुना राई ।

कविराज घिमिरे
हिले, फागुन २९ गते ।
नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई निलम्बन गरेको छ । पार्टी गतिविधि विपरीत काम गरेको आरोप लगाउँदै मङ्गलबार सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठकले उहाँलाई निलम्बन गर्ने निर्णय गरेको नेकपा एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला कमिटी बैठकमा विषय उठेपछि उपाध्यक्ष राईमाथि निलम्बनको कारबाही गरिएको हो । राई साँगुरीगढी गाउँपालिकाकी निर्वाचित उपाध्यक्ष हुनुहुन्छ । त्यसैगरी बैठकले प्रतिनिधि सभा निर्वाचनका क्रममा पार्टीविरुद्ध अन्तरघात गरेको आरोप लागेका कार्यकर्तामाथि कारबाही गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । भीम राईको संयोजकत्वमा गठन गरिएको समितिमा हिमादेवी भट्टराई र एम.पी. उपाध्याय सदस्य रहेका छन् ।

यता आफूलाई गरिएको भनिएको कारबाहीबारे प्रतिक्रिया दिँदै साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईले हालसम्म औपचारिक जानकारी प्राप्त नभएको बताउनुभयो । उहाँले विगतदेखि आफूलाई कारबाहीको नाममा दबाब दिने प्रयास भइरहेको बताउँदै यदि कारबाही भएको हो भने त्यसलाई स्वाभाविक रूपमा लिने प्रतिक्रिया दिनुभयो ।