अजय शाह
गौशाला (महोत्तरी), फागुन २९ गते । बजारमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको हल्ला फैलिन थालेपछि बर्दिवास क्षेत्रमा अनुगमन तीव्र पारिएको छ। अभावको चर्चा बढेसँगै सर्वसाधारणले अतिरिक्त ग्यास मौज्दात गर्न थालेपछि बजारमा असहज अवस्था देखिन थालेको हो।
स्थानीय उपभोक्ताका अनुसार केही विक्रेताले ग्यास अभाव भएको भन्दै बिक्री गर्न अस्वीकार गरिरहेका छन्। नियमित रूपमा ग्यास किन्ने विक्रेतासँग ग्यास लिन जाँदा पनि दुई दिनदेखि रित्तै फर्किनुपरेको बर्दिवास नगरपालिका–३ की बासिन्दा लीला आले मगरले बताउनुभयो।
पश्चिम एसियामा जारी युद्धका कारण भविष्यमा अभाव हुनसक्ने अनुमानले उपभोक्ताहरूले ग्यास मौज्दात गर्न थालेपछि बजारमा माग एकाएक बढेको स्थानीय ग्यास विक्रेताहरूले बताएका छन्। उनीहरूका अनुसार ग्यास आयात नियमित रूपमा भइरहे पनि उपभोक्तामा मौज्दात राख्ने प्रवृत्ति बढेकाले मागअनुसार आपूर्ति गर्न कठिन भएको हो।
यसैबीच, बजारमा ग्यास र पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरिएको हल्ला फैलिएपछि बर्दिवास क्षेत्रमा बजार अनुगमन गरिएको छ। इलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुख माधवराज न्यौपानेका अनुसार ग्यास र पेट्रोलियम पदार्थको कालोबजारी तथा कृत्रिम अभाव रोक्न अनुगमन सुरु गरिएको हो।
उहाँले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन खाली सिलिन्डर आधिकारिक विक्रेतालाई बुझाएर कुपन लिनुपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। सो कुपनका आधारमा भोलि वा पर्सिपल्ट ग्यास उपलब्ध गराइने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो। यसरी गर्दा विक्रेताले उपभोक्ताले कहिले ग्यास लिएको भन्ने विवरण राख्न सक्ने र सबै घरधुरीले सहज रूपमा ग्यास पाउने अपेक्षा गरिएको छ।
बर्दिवासका ग्यास विक्रेता र पेट्रोल पम्पहरूमा इलाका प्रशासन कार्यालय, बर्दिवास नगरपालिका, व्यापार संघ, होटल तथा पर्यटन व्यवसायी लगायतका संघ–संस्थाको सहभागितामा संयुक्त अनुगमन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने व्यक्तिमाथि कडा कारबाही गरिने भन्दै सार्वजनिक सूचना जारी गरिसकेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उपभोक्तालाई ग्यासको अभाव हुन नदिन एक परिवारलाई एक सिलिन्डर मात्र वितरण गर्ने व्यवस्था मिलाइएको छ। मिति सहितको लगत राखी आपूर्ति व्यवस्थापन गरिने र आपूर्तिकर्ता कम्पनीहरूसँग पनि समन्वय भइरहेको उहाँले बताउनुभयो।
यसैबीच नेपाल आयल निगमले बजारमा आधा सिलिन्डर ग्यास पठाउन सुरु गरेको छ। एकैपटक अत्यधिक माग बढेपछि आपूर्तिले धान्न नसक्ने अवस्था आएपछि निगमले शुक्रबारदेखि ७।१ किलोग्रामको आधा सिलिन्डर ग्यास बजारमा पठाउन थालेको जनाएको छ।
तर अहिले बजारमा देखिएको एलपी ग्यासको अभाव वास्तविक हो वा दबाबका कारण सिर्जित अवस्था हो भन्ने विषयमा स्पष्ट हुन सकेको छैन। निगमले भने सम्भावित अभावलाई ध्यानमा राख्दै उपभोक्ताले एकैपटक ठूलो परिमाणमा ग्यास माग गर्दा बजारमा असहज अवस्था देखिएको जनाएको छ।
नेपालमा दैनिक औसत १२० बुलेट ग्यास आवश्यक पर्ने भए पनि हाल भारतबाट करिब ८० बुलेट हाराहारीमा मात्र ग्यास आइरहेको बताइएको छ। नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट ग्यास खरिद गर्दै आएको छ।
यसअघि २०७२ सालमा भारतले नाकाबन्दी लगाएको समयमा पनि सरकारले आधा सिलिन्डर ग्यास वितरणको व्यवस्था लागू गरेको थियो।