रामकृष्ण बोहरा
बागलुङ, फागुन ३० गते । पश्चिम बागलुङका दुई पालिका आठ विद्यालयमा ४० लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ । गलकोट समाज जापानले आठ विद्यालयमा पाँच/पाँच लाख रुपियाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको हो ।
गलकोट नगरपालिकाका शिव मावि काँडेबास, चौराहा मावि दुदिलाभाटी र हटिया बजारस्थित गलकोट मावि तथा ताराखोला गाउँपालिकामा रहेका प्रजातन्त्र मावि माझखर्क, जनप्रेम मावि भुस्कात, दुर्गा भवानी मावि तारा, हरि मावि हिल र अर्गल माविमा छात्रवृत्ति अक्षयकोष स्थापना गरी हस्तान्तरण गरिएको गलकोट समाज जापानका अध्यक्ष रत्नसिंह बस्नेतले जानकारी दिनुभयो ।
समृद्ध राष्ट्र निर्माणका लागि जिवनोपयोगी शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी गर्ने उद्देश्यले गलकोट र ताराखोलाका सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरी हस्तान्तरण गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो । बस्नेतका अनुसार, गलकोट समाज जापानले आयोजना गरेको ‘नयाँ वर्ष सांगीतिक श्रृंखला २०२५–२६’ मा संकलन भएको रकमबाट छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको हो ।
अध्ययन र कामको शिलशिलामा विदेशी भूमिमा रहेपनि आफ्नो जन्मभूमिको शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा विकास गर्ने उद्देश्यसहित समाजले रचनात्मक काम गर्दै आएको बस्नेतले बताउनुभयो । छात्रवृत्ति अक्षयकोषले आर्थिक अभावकै कारण शिक्षाबाट बञ्चित बालबालिकालाई राहत पुग्ने बस्नेतले विश्वास व्यक्त गर्नुभयो ।
समाजले अक्षयकोष सञ्चालन, व्यवस्थित र पारदर्शी बनाउन तयार गरेको कार्यविधि समेत विद्यालयलाई हस्तान्तरण गरेको छ । छात्रवृत्ति अक्षयकोषबाट हुने आम्दानीबाट शिक्षा क्षेत्रका गतिविधि सुदृढ हुने समाजले अपेक्षा गरेको छ । विदेशमा रहेका गलकोटेहरुले जन्मगाउँको विकासमा गरेको योगदान प्रशंसनिय रहेको गलकोट नगरपालिका वडा नं. ८ का वडाध्यक्ष तेजप्रसाद सापकोटाले बताउनुभयो ।
समाजले पश्चिम बागलुङको शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ । अक्षयकोषले विद्यालयका गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई राहत पुग्ने समाजका महासचिव दिलिप पौडेलले बताउनुभयो ।
गतवर्ष समाजले गलकोट र ताराखोलाका ११ विद्यालयमा पाँच/पाँच लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको थियो । हरेक वर्ष विद्यालयमा छावृत्ति अक्षयकोष स्थापना कार्यक्रमलाई विस्तार गर्दै लैजाने अध्यक्ष बस्नेतले योजना सुनाउनुभयो ।