• ३० फागुन २०८२, शनिबार

बाइनरीको बाँसुरी एल्गोरिदमको नृत्य

blog

हामी ‘डिजिटल सुरुङ’ तर्फको यात्रामा छौँ । जहाँ मानव चेतना ‘एल्गोरिदम’ को घेरा र ‘बाइनरी’ का भित्तामा ठोक्किएर आएको आफ्नै प्रतिध्वनि सुन्ने प्रयास गरिरहेछ । आजको युगबारे प्रश्न मनमा खेलाउँदा उत्तरको ताँती लागेर आउँछ । त्यो ताँतीको एक शृङ्खला बन्छ, अग्लोहोचोको हिमशृङ्खला जस्तै । डिजिटल युग, बाइनरी युग, प्रविधिको युग । सूचना सञ्चारको पराकाष्ठा । एल्गोरिदमको साम्राज्य । भर्चुअल संसार । ‘रोबोटिक्स’ र ‘एआई’ (कृत्रिम बुद्धिमत्ता) को युग । डाटावाद र निगरानी पुँजीवादको युग । ‘हाइपर कनेक्टेड’ संसार र ‘सिमुलेसन’ को पराकाष्ठा । विश्वव्यापीकरण र विश्वग्राम । यी यावत् शब्दले बन्ने त्यो श्रेणी समग्रमा डिजिटल विश्व हो । 

हामीले हजारौँ वर्षदेखि अनुभूत गरिआएको ज्ञान हो– सूर्योदय पूर्वबाट हुन्छ तर आजको सूर्योदय पश्चिमबाट भइरहेछ । पश्चिमी क्षितिजबाट भएको त्यो नयाँ सूर्योदय, जसको प्रकाश कुनै रातो रश्मि होइन, त्यो त एउटा ‘सिलिकन’ चिप्सबाट निस्किएको निलो आभा हो । त्यही निलो प्रकाशमय क्रान्तिबाट आजको यो डिजिटल विश्व सृजित भएको मान्नु पर्छ । प्राकृतिक सूर्योदय आज पनि पूर्वबाटै त भइरहेछ । प्रविधिको कृत्रिम सूर्योदय भने पश्चिमबाटै भएर त्यसको निलो आभा सर्वत्र फैलँदो छ । 

मानव मस्तिष्कको एउटा यस्तो अदृश्य विस्तार, जसले भूगोलका सीमालाई कागजको पाना झैँ मुठीमा खुम्च्याइदिएको छ । एउटा यस्तो आविष्कार, जसको रफ्तार सूर्य रश्मि झैँ देखिन्छ । जसले समयको गतिलाई एक क्लिकमा कैद गरिदिएको छ । ब्रह्माण्डको फैलावट प्रकाशवर्षमा नाप्न सम्भव भएको छ । विद्वान्हरू भन्छन्, “मानिस नै ईश्वरको सर्वश्रेष्ठ रचना हो ।” तर आज मानिस ‘डिजिटल ईश्वर’ रचना गर्न अग्रसर छ । 

बाइनरीको बाँसुरी

सृष्टिको आदिमकालमा मानिसले ढुङ्गा रगडेर आगो बाल्यो तर आज उसले ‘शून्य’ र ‘एक’ को रगड्याइँबाट बाइनरीको उज्यालो बालेको छ । डिजिटल संसारको भाषा केवल शून्य र एक हो । जसलाई प्रविधिको दुनियाँमा हामी बाइनरी भन्छौँ । संसारका सारा रङ र शब्द अन्ततः यही शून्य र एकको सुरुङमा अटाएका छन् । शून्य– जुन रिक्तता हो तर सारा सृष्टिको गर्भ पनि । एक– जुन पूर्णता हो तर एक्लोपनको प्रतीक पनि । बाइनरीको यो लुकामारी नै आधुनिक युगको नयाँ माया (भ्रमजाल) हो, जहाँ एउटा यन्त्रले शून्यताबाट पूर्णताको धुन बुनिरहेछ । त्यही बाइनरी प्रकाशले सारा संसारलाई हत्केलामा समेटेको छ । नाडीमा बाँधेको छ । केवल एक कालो स्क्रिनमा विश्व ब्रह्माण्ड अटाएको छ । यो कस्तो अचम्म ! कस्तो इन्द्रजाल ! एउटा मसिनो तारको सञ्जालभित्र सिङ्गो संसारका पुस्तकालय अटेका छन् । त्यहीभित्र समग्र सङ्गीतका राग र मानवीय संवेग पौडी खेलिरहेछन् । भूगोलको दुरी र ज्ञानको महासागर, ब्रह्माण्डको यात्रा सबै यही स्क्रिनमा अट्न सम्भव कसरी भयो ? 

सोच्दासोच्दै मलाई यस्तो लाग्छ– अब मानिस पञ्चमहाभूतको पुत्ला मात्र रहेन, भर्चुअल आकाशमा उडिरहेको बाइनरी पुतली बनिसक्यो । हाम्रा पखेटा भौतिक छैनन् तर हामी सात समुद्र परका क्षितिजलाई निमेषभरमा चुम्न सक्छौँ । हो, हामी बाइनरीको बाँसुरीमा पखेटा नचाउँदै हरक्षण मग्न छौँ । त्यो धुनमा हामी एकोहोरिएका छौँ । हाम्रो ध्यान यसरी खिचिएको छ कि ऋषि तपस्वीका साधना मिथक लाग्न थाल्छन् । 

एल्गोरिदमको नृत्य

ऋषिमुनि अनेक साधना र तन्त्रमन्त्रले बाँधिएका हुन्थे । आजका हामी मानव एल्गोरिदमले बाँधिएका अर्थात् डोहोरिएका छौँ । प्रविधिको यो महासागरमा एल्गोरिदम एउटा यस्तो अदृश्य मन्त्र हो, जसले हाम्रो चाहनाको पदचापलाई पछ्याइरहेको हुन्छ । हामी के चाहिरहेका छौँ, के खोजिरहेका छौँ ? निमेषभरमा त्यसले बुझिहाल्छ । जसरी वसन्त ऋतुले फूललाई फुल्न र शिशिरले पातलाई झर्न एउटा प्राकृतिक नियम सिकाउँछ, त्यसरी नै यो एल्गोरिदमले हाम्रो रुचि, तृष्णा र विचारका लहरलाई एउटा निश्चित दिशामा डोहो¥याइरहेको छ । 

बिहान उठ्नेबित्तिकै मोबाइल हेर्नेदेखि राति सुत्ने बेलासम्म हामी कतिपय कुरा यन्त्रले डोहो¥याएको बाटोमा गरिरहेका छौँ । हाम्रो व्यवहार अब ‘डाटा’ मा रूपान्तरण भएको छ । सामाजिक सञ्जालमा कसको पोस्ट देख्ने वा अनलाइनमा कुन सामान किन्ने भन्ने कुरा हाम्रो इच्छाले मात्र होइन, पृष्ठभूमिमा चलिरहेको एल्गोरिदमले तय गर्छ । हामीले के हेर्ने, के सुन्ने र के सोच्ने– फैसला अब हाम्रो दिमागले गर्न छाडिसकेको छ । यसले हाम्रो छनोटको स्वतन्त्रतालाई सुस्तरी नियन्त्रण गरिरहेको छ । एल्गोरिदम स्वयम् त बाइनरीको बासुँरीमा निलो झिलिमिलीभित्र हरक्षण नाचिरहेछ, सँगै हामीलाई समेत उसको इसारामा नचाइरहेछ । 

आज एल्गोरिदम महान् गणितज्ञ ‘अल–ख्वारिज्मी’ को नामबाट जन्मिएको केवल शब्द मात्र होइन, यो आधुनिक विश्वको ‘डिजिटल व्याकरण’ पनि हो । जसरी व्याकरणले भाषालाई एउटा लय र नियममा बाँध्छ, एल्गोरिदमले अनियन्त्रित डाटालाई एउटा निश्चित नृत्यमा ढाल्छ । यो एउटा यस्तो अदृश्य सूत्र हो, जसले मेसिनको हृदयमा तर्कको बिउ रोपेर त्यसलाई मानव झैँ सोच्न सक्ने बनाउँछ ।

मानवता र यन्त्रको दोभान

आकाशगङ्गा जस्तै आज डिजिटल गङ्गाको फैलावट बढिरहेछ । यस डिजिटल गङ्गाको छालमा एउटा अनौठो विरोधाभास देखिन्छ । एकातिर, विश्व नै मानव समुदायको विशाल परिवार जस्तो बनाएको छ– जहाँ भाषा, वर्ण र भूगोलको पर्खाल ढलेको छ । अर्कातिर, मानिस आफ्नै घरको कोठामा बसेर पनि एक्लो भएको छ । हामी स्क्रिनको झिलिमिलीमा एकोहोरिइरहँदा कतै मानवीय आत्मीयता र न्यानोपन बिर्सिरहेका त छैनौँ ? के एआईले आमाको ममताको त्यो सुवास र एउटा प्रेमीको विरही सुस्केरालाई महसुस गर्न सक्ला ? जुन दिन प्रविधिले मुटुको धड्कनलाई केवल ‘ग्राफ’ मा सीमित गर्छ, त्यो दिन मानवताको अवसान भएको हुने छ ।

हामीले एउटा यस्तो संसार रच्यौँ, जहाँ रूखका पातको सुसाइभन्दा बढी मोबाइलको नोटिफिकेसनले हाम्रो ध्यान खिच्छ । यो डिजिटल छलाङले हामीलाई प्रकृतिको काखबाट छुटाएर अलग्गै विद्युतीय सुरुङभित्र हुल्दै छ । आजको मानिस गुगलमा त सबथोक भेट्छ तर आफ्नै आत्मज्ञानको कुहिरोभित्र रुमल्लिरहेको छ । एआईले उसका लागि जुनसुकै कठिन सूत्र सहज बनाइदिएको छ तर सिर्जनशीलतामा बिर्को लगाउँदै छ । एल्गोरिदमले हाम्रो पसिनाको गन्ध बुझ्दैन, उसले त केवल हाम्रो क्लिकको गति बुझ्छ । हाम्रो आँसुको रासायनिक संरचना त बुझ्ला तर त्यो खस्नुको पीडा बुझ्न सक्दैन । सिलिकनका चिप्समा बिजुली त दगुर्छ तर त्यहाँ संवेदनाको तरङ्ग हुँदैन । हामीले मेसिनलाई बुद्धि त दियौँ तर बोध दिन बाँकी नै छ । 

हामी मेसिनलाई मानिस जस्तै संवेदनशील बनाउन खोज्दै छौँ तर आफैँ एल्गोरिदमको इसारामा चल्ने यन्त्र बन्दै छौँ । हाम्रा चाहना, हाम्रा रुचि र हाम्रा निर्णय अब निजी रहेनन्; ती त ‘क्लाउड’ मा थुप्रिएका डाटाका प्रतिविम्ब जस्ता बन्न थाले । हामी ‘लाइक’ र ‘सेयर’ को एउटा यस्तो चक्रव्यूहमा छौँ, जहाँ एल्गोरिदमले नै हाम्रो खुसीको लय तय गर्छ । यसले समाजलाई गम्भीर हानिसमेत गरिरहेको छ, जुन नेपालमा भएको जेनजी विद्रोहका बेलासमेत प्रकट भएको छ ।

यद्यपि अब प्रविधिलाई सरापेर मात्र हामी महान् बन्नेवाला छैनौँ । प्रविधिको गति त पहाडी झरना जस्तो अविरल छ, जसलाई रोक्न सकिँदैन । मात्र यसको धारलाई सिर्जनाको खेतमा फर्काउन सकिन्छ । त्यो वेगबाट मानवताको नयाँ बिजुली बाल्न सकिन्छ । डिजिटल विश्वले हामीलाई तीव्रता दियो, सुविधा दियो र एउटा नयाँ सपना देख्ने आँखा दियो । अबको चुनौती भनेको यो ‘हाई टेक’ को यान्त्रिक युगमा ‘हाई टच’ अर्थात् मानवीय स्पर्शलाई जीवित राख्नु हो ।

भविष्य : मानवको कि यन्त्रको ? 

जब बाइनरीको बाँसुरी बज्छ, सारा संसार एल्गोरिदमको नृत्यमा झुम्न थाल्छ । हिजोका दिनमा मानिस आफ्ना संस्कार र मूल्यमान्यताबाट निर्देशित हुन्थ्यो । आज ऊ शून्य र एकको गणितीय निर्देशनबाट सञ्चालित छ । यो मेसिनको बुद्धि र मानव विवेकबिचको अनौठो द्वन्द्व हो ।

म कहिलेकाहीँ कल्पनाका पखेटा फटफटाउँछु– सायद भोलिको मानिसले शरीर नै त्यागेर डाटाका रूपमा अमरता खोज्ने छ । सायद हामी अर्को कुनै ग्रहमा बसेर पृथ्वीको डिजिटल नक्सा हेरिरहेका हुने छौँ तर प्रविधिले जतिसुकै छलाङ मारे पनि वा अर्को ब्रह्माण्डको खोजी गरे पनि मानिसको अन्तिम खोज– शान्ति र प्रेम नै हुने छ ।

जब यो डिजिटल संसारले मानिसको पसिनाको मूल्य र भावनाको ओजन बुझ्न थाल्ने छ तब मात्र यो छलाङ सार्थक हुने छ । महाकवि देवकोटाको विशाल हृदयको आँखाले हेर्ने हो भने यो डिजिटल विश्व पनि एउटा भिखारीको झोलीमा झरेको हिरा जस्तै चम्किलो हुन पर्छ । जो कि सबैका लागि सुलभ र सबैका लागि कल्याणकारी होओस् । देवकोटाको ‘पागल’ कविताको विद्रोह सम्झौँ त ! आज उनी बाँचेका भए यो यन्त्रवत् जीवनमाथि व्यङ्ग्य गर्थे होलान्– म मेसिनलाई आत्मा भन्छु, तिमी आत्मालाई डाटा भन्छौ ! डिजिटल विश्वको यो चमकधमकमा हामीले भुल्नु हुँदैन– सबैभन्दा ठुलो प्रविधि भनेको मानिसको मस्तिष्क हो र सबैभन्दा ठुलो सफ्टवेयर भनेको उसको हृदय हो । एल्गोरिदमले हामीलाई उही कुरा मात्र देखाउँछ, जुन हामीलाई मन पर्छ । जीवन त त्यो हो, जुन हामीलाई मन पर्दैन तापनि त्यसले हामीलाई परिपक्व बनाउँछ । मानव जीवन एउटा अव्यवस्थित सुन्दरता हो । यसमा आँसु छ, हाँसो छ । रोदन छ, उमङ्ग छ । गति छ, विश्राम छ र सबैभन्दा महत्वपूर्ण यसमा अनिश्चितता छ । एल्गोरिदमले जीवनलाई निश्चित बनाउन खोज्दै छ । यसले हाम्रो भोगाइलाई एउटा फर्मुलामा ढाल्न खोज्दै छ तर के प्रेमलाई कुनै सूत्रमा बाँध्न सकिन्छ ? के करुणालाई कुनै कोडमा अनुवाद गर्न सकिन्छ ? 

मलाई लाग्छ– भविष्य न पूर्णतः मानवको हुने छ न त पूर्णतः यन्त्रको । यो त बाइनरीको बाँसुरी र मानवकण्ठको संयुक्त सङ्गीत हुने छ । प्रविधिले हाम्रो श्रमलाई विस्थापित गर्ला तर हाम्रो स्वप्निल चेतनालाई कहिल्यै प्रतिस्थापन गर्न सक्ने छैन । अन्ततः एल्गोरिदमको नृत्य त्यतिबेला मात्र सार्थक हुन्छ, जब त्यसलाई हेर्ने र महसुस गर्ने एउटा जीवन बाँकी नै रहन्छ ।

भविष्यको बाटो निकै उज्यालो र उत्तिकै भयावह पनि छ । हामीले एल्गोरिदमलाई आफ्नो दास बनायौँ भने यसले मानवतालाई ज्ञानको नयाँ उचाइमा पु¥याउने छ तर यदि हामी यसको इसारामा नाच्ने पुत्ला मात्र बन्यौँ भने हाम्रो मौलिकताको अन्त्य अवश्यम्भावी छ । हामीले त यस्तो उज्यालो संसार निर्माण गर्नु पर्छ, जहाँ ‘आर्टिफिसियल इन्टेलिजेन्स’ त होस् तर मानव विवेकको प्रकाश कहिल्यै ननिभोस् ।