• ३० फागुन २०८२, शनिबार

कालोपत्रेले गति लिएपछि स्थानीय हर्षित

blog

सडक कालोपत्रेको तयारी गरिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, फागुन ३० गते ।
तनहुँको भिमाद नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको भिमाद–मसारडाँडा सडक खण्ड कालोपत्रे गर्ने कार्यले तीव्रता पाएपछि स्थानीय बासिन्दामा उत्साह छाएको छ । वर्षौँदेखि हिउँदमा धुलो र वर्षामा हिलोको सास्ती खेप्दै आएका यस क्षेत्रका नागरिकहरू आफ्नै घरदैलो अगाडिको सडक चिल्लो हुन थालेपछि निकै हर्षित देखिएका छन् । सडक स्तरोन्नति र कालोपत्रे गर्ने कार्य अहिले अन्तिम चरणमा पुगेको छ ।

कालोपत्रे गर्ने कार्यलाई गुणस्तरीय र सुरक्षित रूपमा अघि बढाउनका लागि केही दिन बन्द गरिएको सडक खण्डमा अहिले कामलाई निरन्तरता दिँदै सवारी आवागमन समेत सुचारु गरिएको छ । नगरपालिकाले सिद्ध गुफा अन्तर्गत केउलेदेखि मसारडाँडा जाने चोकसम्मको खण्डमा कालोपत्रे कार्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढाएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले निर्माण कार्यलाई स्तरीय बनाउन केही दिन सवारी रोकेर विशेष प्राविधिक तयारी गरिएको र अहिले बाटो खुला गरेर बाँकी कामलाई द्रुत गतिमा अघि बढाइएको जानकारी दिनुभयो । उहाँले निर्धारित समयमै काम सकेर नागरिकलाई आधुनिक सडक सुविधा प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

भिमाद नगरपालिकाको वडा नम्बर ७ र ९ लाई जोड्ने यो महत्त्वपूर्ण सडक खण्ड एक करोड रुपियाँको लागतमा कालोपत्रे गरिएको नगरपालिकाकी सूचना अधिकारी टेकावती ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार पोखराको इको जोन आर्किटेक्ट एण्ड कन्स्ट्रक्सन प्रालिले करिब एक किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएको छ ।