• ३० फागुन २०८२, शनिबार

गोरक्षपात्रदेवता–देविपाटन महायात्रा हुने

blog

घोराही–१७ चौघेरास्थीत गोरक्षपात्रदेवता सिद्धरत्ननाथ मठ। तस्बिर : लीलाधर वली

लीलाधर वली
घोराही, फागुन ३० गते।
धार्मिक तथा ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ देविपाटन महायात्रा–२०८२ चैत १ गतेदेखि १५ गतेसम्म हुने भएको छ।

चैत एकादशीको अवसरमा दाङ, घोराही–१७ चौघेराबाट भारतको बलरामपुर जिल्ला तुलसीपुरस्थित पाटेश्वरी मन्दिर पुग्नेगरी यो महायात्रा आयोजना हुनेछ। गोरक्षपात्रदेवता–देविपाटन महायात्रालाई लुम्बिनी प्रदेशको धार्मिक तथा ऐतिहासिक गौरवको यात्रा मानिन्छ।

गोरक्षपात्रदेवता देविपाटन महायात्रा व्यवस्थापन एवं सञ्चालन समितिका सदस्य सचिव डा। गोविन्द आचार्यका अनुसार महायात्रा घोराही उपमहानगरपालिका–१७ चौघेरा मठबाट सुरु भएर घोराही–३ चौपट्टास्थीत महामृत्युञ्जय मन्दिर, लमही–६ देउपुरस्थीत गोरक्षपात्रदेवता मठ, गढवा गाउँपालिका अन्तर्गत जमुनीबास, कोइलावास र भारतका धार्मिक स्थलहरूमा विश्राम र पूजापाठ गर्दै चैत ९ गते तुलसीपुरस्थित देवीपाटन मन्दिर पुग्नेछ।

चैत ९ गतेदेखि १४ गतेसम्म तुलसीपुरस्थित देवीपाटन मन्दिरमा पूजा–आराधना र विश्राम गरिनेछ भने चैत १५ गते महायात्रा दाङको चौघेरा मठ फिर्ता हुनेछ। पाटन पुगेपछि देवीपाटन मन्दिरमा पाँच दिनसम्म नेपाली पुजारीले पूजापाठ गर्ने परम्परा रहेको छ।

यात्रामा गोरक्षपात्रदेवता सिद्धरत्ननाथ चौघेराका पिर, पुजारी, भण्डारी, सिराना, साधुसन्त, सामाजिक र धार्मिक व्यक्तित्व तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने छ। यो यात्रा विसं ८०९ मा सिद्धरत्ननाथले सिद्धि प्राप्त गरेपछि निरन्तर हुँदै आएको विश्वास गरिन्छ।

डा। आचार्यका अनुसार यो महायात्राले नेपाल र भारतको धार्मिक–सांस्कृतिक सम्बन्धलाई प्रत्येक वर्ष नवीकरण गर्ने अवसर प्रदान गर्दछ। उहाँले भन्नुभयो, “भारतमा गोरक्ष देवताको ठूलो महत्व छ। नेपालबाट पुजारी पुगेपछि नफर्किदासम्म देवीपाटन मन्दिरमा पूजापाठको जिम्मा नेपाली पिर, पुजारी, भण्डारी र सिरानाले गर्ने परम्परा छ।”

महायात्रा रातीको समयमा हुने र दिउँसो विश्राम गर्ने प्रचलन रहेको छ। यस वर्षको महायात्रा लुम्बिनी प्रदेश सरकार, पर्यटन विकास परिषद् तथा अन्य विभिन्न संघ–संस्थाको सहयोगमा आयोजना हुँदैछ।

परम्परागत रूपमा चौघेराबाट करिब एक महिनाको यात्रापछि पाटेश्वरी मन्दिर पुग्ने भए पनि हाल महायात्रा अवधि घटाइएको गोरक्षपात्रदेवता–देविपाटन महायात्रा व्यवस्थापन एवं सञ्चालन समितिले जनाएको छ।