बाटो एउटै भए पनि यात्रुको मन कहिल्यै एउटै हुँदैन । कसैलाई अघि दौडिएको गाडी भेट्ने हतार हुन्छ, कसैलाई छिटो घर पुग्ने चटारो । कसैलाई बजार चाँडै पुगेर सरसामान जुटाउने दौडधुप तर मलाई अलि परै उभिएर त्यो लोहोरो आकारको सुन्दर ताललाई हात जोडेर नमन गर्नुबाहेक केही गर्न नसकिने नियति परेछ । तालको दिव्यतामा चक्षु लोटाएर र परैबाट टोलाइरहनु नियति बन्यो । तालको वक्षस्थलमा थकान बिसाउँदै आँखा झिम्क्याउने अवसर जुरेन । त्यस पवित्र अनुपम छातीमा आफ्ना भावना सेचन गर्ने सौभाग्यको नसिब पनि मिलेन ।
रुकुमकोटको सडकछेउमा पर्ने ‘कमल दह’ निकै सुन्दर, फराकिलो र स्वच्छ रहेछ । चौतर्फ फुलिरहेका कमलका फूल स्पर्श गर्न र नाकनजिकै लगेर सुगन्ध लिन असाध्यै मन थियो । हजारौँ कमलका दिव्य ज्योतिले भूस्वर्ग झैँ रङ्गिएको त्यो ताल तिनै पुष्पका राजका कारणले नामकरण नै ‘कमलताल’ भएको अनुमान लगाउन हम्मे परेन ।
झन्डै एक हजार ७७२ मिटरको विशाल क्षेत्रमा फैलिएको त्यो सम्मोहक ताल त्यस भेगकै ठुलो र प्रमुख आकर्षक तथा पर्यटकले सर्वाधिक खोज्ने स्थानमध्ये पर्दो रहेछ । तालको पश्चिमतर्फ प्रवेशद्वार, टिकट काउन्टर, स्नानकक्ष तथा शौचालय सुव्यवस्थित रूपमा रहेको जानकारी पाइयो । सिस्ने गाउँपालिका–५ को यो ताल बन्नुभन्दा पहिला त्यहाँ ‘गौरीगाउँ’ नामक सानो गाउँ भएको पनि थाहा पाएँ ।
मिथकमा कमलताल
शङ्कर भगवान् भेष बदलेर घुम्दै जाँदा साँझ परेपछि त्यही बास बस्न इच्छा गरेछन् । थुप्रै घर चहार्दा पनि बास पाएनछन् । रात अबेर भइसकेको र अन्यत्र जान नसकिने अवस्थाले बुढीआमैकोमा गएर नम्रतापूवर्क बास मागेछन् । दयामय बुढीआमाले प्रसन्नतापूर्वक बास र कनिकाको आतिथ्य दिइछन् ।
बिहान झिसमिसेको उज्यालो छिरलिँदै गर्दा, शङ्कर भगवान्ले पानीले भरिएको कमण्डलु हातमा लिएर बुढीआमैसँग बिदा मागेछन् । बिदा माग्दै गर्दा उनले आमैलाई कुखुराको खोरमा हेर्न आग्रह गरे छन् । त्यसपछि केही पर गएर कमण्डलुको पानी भुइँमा घोप्ट्याएछन् ।
खोर हेर्न गएकी बुढीले कुखुराका अन्डा जस्ता सुनका डल्ला प्राप्त गरिछन् । पानी पोखिएको ठाउँमा क्रमशः रह बन्दै गएछ । त्यहाँका घर पनि डुबानमा पर्दै गएछन् । अचम्म ! बुढीआमैको घर पानीले छोएको थिएन रे !
अहिले तालको बिचमा एउटा मन्दिर उभिएको छ । स्थानीयका अनुसार ‘त्यो मन्दिर नै ती बास दिने बुढीआमैको घर हो’ भन्ने विश्वास गरिँदो रहेछ । त्यस तालमा स्नान गरेमा हरेक प्रकारका रोग निको हुने जनविश्वासका कारण प्रत्येक वर्ष माघेसङ्क्रान्तिमा देशविदेशबाट सर्वसाधारण, भक्तजन र पर्यटकको ठुलो भिड लाग्दो रहेछ । बडादसैँ र तिजमा पनि त्यहाँ धुमधाम मेला लाग्ने विषयमा स्थानीयले जानकारी गराए ।
तालवरिपरि ठुलठुला होटेल र रेस्टुरेन्ट व्यवस्थित रूपमा रहेकाले पर्यटकलाई बस्न र खान कुनै असुविधा रहेनछ । तालबाट पूर्वउत्तर पर्ने बस्ती निकै फराकिलो र सुन्दर देखिन्छ । चारैतिर हरियाली डाँडाले काखमा राखेर निर्माण भएको रुकुमकोट जोकोही मानवका लागि पनि भूस्वर्गको छनक हुन सक्छ । स्थानीयका अनुसार त्यो तालको खाट्टी नाम ‘रुक्मिणिताल’ भए पनि प्रशस्त ‘कमलका फूल’ पाइने हुनाले स्थानीयले ‘कमलताल’ भन्ने गरेका होलान् भन्ने झिनो अनुमान लगाएँ ।
रुकुम जिल्लामा कमल दहबाहेक स्यार्पुताल, सुन दह, गुप्ता दह, सम्पेताल रहेको जानकारी पाएँ । त्यहाँबाट सिस्ने र पुथा हिमालको अवलोकन गर्न सकिने रहेछ ।
टिकट काटिदिने काठमाडौँका भाइले ‘तपाईंको बस खलङ्गासम्म जान्छ । त्यसपछिको यात्रा जिपमा हुने छ’ भनेर अथ्र्याएका थिए तर बसले रुकुमकोट पु¥याएर अगाडि नबढ्ने स्पष्ट सङ्केत देखायो । हामी एकछिन असमञ्जसमा प¥यौँ । यद्यपि त्यो क्षण एकछिनपछि रमाइलोमा परिणत भयो । मेरो मनले संवाद ग¥यो । ‘त्यो बसले नलगे के भयो त ? जिप पाइहालिन्छ नि ! त्यो पनि नपाए आज यहीँ बसिन्छ । यहीँ बसेर यसै ठाउँको सूक्ष्म रूपले अध्ययन गरिन्छ । आखिर हामी दाजुभाइ यिनै ठाउँहरू घुम्न, चहार्न, जान्न र बुझ्न आएका होइनौँ र ?’
झोला काँधमा राखेर बसबाट ओर्लें । दायाँबायाँ नजर लगाएँ । आहा रुकुमकोट ! कौतूहलले मन भरियो । आज जिप नपाए केही बात छैन । जहाँ जाला जोगी भातै खाला । चारैतिरको आँखाले खाम्न नसकिने स्वर्गसमानको कालीकोटको भिडियो मेरो मोबाइलमा अटेसमटेस हुने गरी कैद गरेँ । हो, पवित्र धरतीको मन छुने गीत त्यसै सिर्जना भएको रहेनछ । म त एकाएक गुनगुनाउन थालेँ ।
कम्मरैमा पटुकी कसेर
मुसुमुसु हाँसेकी बसेर,
रुकुम मैकोट
आँखानी राम्रै हो, मनपर्ने ओठ
म यै गीत गुनगुनाउँदै पूर्वतर्फको विशाल रुकुमकोटको बस्तीमा नजर लगाउँदै थिएँ । मेरो हलचलाई भाइले ‘अर्को गाडी नपाइने भयो । कस्तो फसाद प¥यो ?’ भनेर दाजु आत्तिनु भयो क्यार भन्ने पो अड्कल काट्नु भएछ । उहाँले केही बेरपछि त एउटा सुन्दर जिप पो लिएर आउनुभयो । ‘कालीकोटको स्वादिष्ट भात खान लेखेको रहेन छ’ भन्दै लुसु लुसु जिप भएतिर बढेँ र ड्राइभर भाइ पछाडिको सिटमा गएर थुचुक्क बस्नुभयो ।
जिप समथर, पहाड, वन, चौर हुँदै अगाडि बढ्यो । घरी कच्ची त घरी पक्की बाटो हुँदै भुइँपत्ताल दगुरायो ।
विसं २०७२ पछि रुकुम जिल्लालाई रुकुमपूर्व र रुकुमपश्चिम जिल्लामा विभाजन गरिएको रहेछ । रुकुमपूर्व लुम्बिनी प्रदेशमा र रुकुमपश्चिम कर्णाली प्रदेशमा पर्दो रहेछ । यस जिल्लाले धवलागिरि हिमालको पश्चिमी भागमा रहेको ढोरपाटन सिकार आरक्षणको ६० प्रतिशतभन्दा बढी भाग ओगटेको रहेछ । सात हजार २४६ मिटरको उचाइमा रहेको धवलागिरि द्वितीय पर्वत शृङ्खलाको पश्चिम छेउमा अवस्थित यस जिल्लाको सबैभन्दा अग्लो हिमाल पुथा हिउँचुली (धवलागिरि साताँै) हो । पूर्वी रुकुम लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला पनि हो । पूर्वी रुकुम जिल्लालाई नेपाल सरकारले ‘नेपालको उत्कृष्ट यात्रा गन्तव्य’ मा सूचीकृत गरेको सुन्न पाउँदा हर्षको सीमा रहेन । रुकुमपूर्वको सदरमुकाम रुकुमकोट रहेछ ।
भुमे गाउँपालिका–१ मा पर्ने लुकुमपूर्व गाउँ हाल आन्तरिक पर्यटनका लागि राम्रो सम्भावना बोकेको गाउँ रहेछ । कालान्तरमा त्यो ठाउँ पर्यटनका लागि केन्द्रविन्दु नबन्ला भन्न सकिन्न । झन्डै तीन वर्षअघि कालो बिच्छ्याइएपछि सुरु भएको त्यो लोकमार्गमा चल्ने यातायातले दिन गनेर विस्तार हुँदै छ भन्ने मैले लख काटेँ । रुकुमपूर्वमा रहेको यो ठाउँ बागलुङ, पर्वत, बेनी र कास्की जिल्लाबाट छोटो दुरीमा पर्ने भएकाले अधिकांशको रोजाइ लुकुम हुन सक्ने मेरो बुझाइ रह्यो ।
कालीकोटे जिप चढेर रानीकोट, भोर खानी (मृगलगायतका जनावर पाइने ठाउँ), किटेनी, रिम्ना दोभान (ठुलीभेरी र सानीभेरीको सङ्गमस्थल, दोभान) वैरी दह, साँख (मङ्सिर महिनामा लट्ठी जुधाएर नाच्ने व्रिmया), भण्डारी काँडा, शीतल पोखरी हुँदै मुसीकोट पुग्यौँ । कालीकोटदेखि मुसीकोट जम्मा ४३ किलोमिटर रहेको बुझियो ।
मुसीकोट, खलङ्गा दिउँसो २ बजे पुगेका थियौँ । राधा पौडेलले आफ्नो अनुभव सँगालेर २०५९ मा लेख्नुभएको ‘खलङ्गामा हमला’ मा भने होइन । त्यो जुम्लामा भएको दर्दनाक घटना पढेपछि मलाई त्यस ठाउँका बारेमा जान्न र जायजा लिन असाध्यै मन लागेको थियो । थुप्रो त्यो रहर मेरो सपनामै सीमित रहिरह्यो । जागिरबाट छुटकारा नपाउँदासम्म लामो यात्रा असम्भव जस्तै थियो । मदन पुरस्कार विजेता ‘खलङ्गामा हमला’ नामक पुस्तकले त्यतिबेलै मेरो मथिङ्गलमा नराम्ररी गिजोलेको थियो । थुप्रै सर्वसाधारण, सेनाका जवान र पुलिसले अनाहकमा जीवन अर्पण गरेका त्यो बलिदानी भूमिमा माथा टेकाउने मेरा असीमित रहर उग्र अभिभूत बनेर बसेको थियो ।
त्यसैको छनक दिने अर्को घटना २०६१ चैत २५ गते रुकुमपश्चिमको खारास्थित सैन्य अखडामा भएको माओवादीको भीषण आक्रमणले झन्डै तीन सय जना नेपालीलाई एउटै चिहान पारेको थियो । खारातर्फ हात तेस्र्याउँदै एक जना स्थानीयले, “यहाँबाट हजुर हिँडेर पनि जान सक्नुहुन्छ । गएर आउनुहोस् न । त्यति परको मानिस सधैँ आइराख्ने कुरा हुँदैन,” भनेर सुझाउनुभएको थियो । मैले मुखभरि जिज्ञासा लिएर अर्काे पनि प्रश्न गरेँ, “अहिले त्यहाँ त्यतिबेलाको स्मरण गर्ने लायकका केही चिज देख्न पाइन्छ र हजुर ?” उहाँले लाचार हुँदै “त्यो त मलाई पनि था’छैन । म पनि त्यहाँ गएको छैन,” भनेर उत्तर दिनुभयो ।
खाराका घटना रुकुमेलीका मनमा मात्र होइन, सम्पूर्ण नेपालीका हृदयमा कहिल्यै निको नहुने गरी कालो धब्बा बनेर बसेको छ । त्यो त्रासदीपूर्ण भयावह क्षणले नेपाली जनता मात्र होइन नेपाल आमा नै रोएकी थिइन् ।
मुसीकोट भनौँ वा खलङ्गा बजार जे भने पनि त्यो ठाउँको गौरवमय गाथामा कत्ति पनि तलमाथि नपर्ला । विभिन्न पुस्तक वा पत्रपत्रिकामा पनि मुसीकोट देवीको महिमा अध्ययन गरेको थिएँ । उनी इमानदार, राजभक्ति र आफ्नो अस्मिता बचाएर राख्न सक्ने एउटा महान् दासी भएर नै होला राजाले त्यस ठाउँमा उनैको सालिक बनाएर छाडिदिए । नत्र भने दासीको सालिक यत्रतत्र विरलै पाइन्छ । आजसम्म पनि त्यै मुसीकोटे देवीको इमानजमानमा स्थानीयको ‘पथ चल’ हुनु सौभाग्यको सवाल हो ।
डाँडाको टाकुरामा अवस्थित खलङ्गा बजार मेरा आँखाले निकै भद्र देख्यो । भालेको सिउर झैँ एउटा धर्सोमा तानिएको सो बजार हरेक प्रकारका खाद्यान्न, सुन पसल, भाँडाकुँडा, लत्ताकपडा, चिया पसल, फलफूल, तरकारी र बालबच्चाका आभूषणले खचाखच भरिएका थिए । फराकिलो बजार नहुनाले ससाना सवारीसाधन र मानिसका ताँती एकैसाथ हिँडे गुडेको प्रतित हुन्थ्यो । अत्याधुनिक पोसाकमा सजिएर महँगा प्रसाधनमा पोतिएका युवकयुवतीभन्दा प्रकृतिका अनुपम छटामा सजिएका युवकयुवती मुखरित भएको पाएँ । अनावश्यक खर्च गरेर आफूलाई प्रदर्शन गर्ने हिसाबले नभई दैनिक गुजाराका लागि कर्तव्यनिष्ट भएको पाउँदा ‘मेरो देश दुर्गम भेगमा बसेको छ,’ जस्तो लाग्यो ।