• ३० फागुन २०८२, शनिबार

पेट्रोलियम पदार्थ र ग्यास भण्डारण नगर्न प्रशासनको आग्रह

blog

जिल्ला प्रशासन कार्यालय लमजुङ । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, फागुन ३० गते ।
जिल्ला प्रशासन कार्यालय लमजुङले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको अनावश्यक भण्डारण नगर्न सर्वसाधारण तथा व्यवसायीलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले अत्यन्तै जरुरी सूचना जारी गर्दै जिल्लामा हालसम्म पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको आपूर्ति सहज रुपमा भइरहेकाले कृत्रिम अभाव सिर्जना हुने गरी भण्डारण नगर्न अनुरोध गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार केही व्यक्ति तथा खुद्रा बिक्रेताले बढी मूल्यमा बिक्री गर्ने वा सञ्चय गर्ने उद्देश्यले आवश्यकताभन्दा बढी पेट्रोलियम पदार्थ र ग्यास भण्डारण गरी लुकाएर राखेको भन्ने गुनासो प्राप्त भएपछि प्रशासननले अनावश्यक भण्डारण नगर्न चेतावनी दिएको हो ।

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले बजारमा आधा सिलिन्डर ग्यास पठाउन समेत सुरु गरिसकेको प्रशासनले जनाएको छ । सूचनामा सबै नागरिकले अत्यावश्यक सेवा सहज रुपमा पाउने अधिकारलाई ध्यानमा राख्दै पेट्रोल पम्पहरूले सवारीसाधनबाहेक ड्रम, जर्किन, बोतललगायतका भाँडामा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न निर्देशन दिइएको छ । साथै कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा पेट्रोलियम पदार्थ र ग्यास बिक्री वितरण नगर्न पनि आग्रह गरिएको छ ।

प्रशासनको सूचनाको उल्लङ्घन गरी पेट्रोलियम पदार्थ र ग्यासको कृत्रिम अभाव सिर्जना गर्दै कालोबजारी गरेको पाइएमा कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम कडा कारबाही गरिने चेतावनी जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।