‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ (२०८१ सातौँ संस्करण) पढेर भर्खरै सकेँ । यो किताब अनुसन्धान, आविष्कार र नवप्रवर्तनका अभियन्ता सच्चा राष्ट्रभक्त एवं सङ्घर्षशील जीवनका जीवित प्रतिमूर्ति महावीर पुनको आत्मकथा हो ।
यस किताबमा १८ वटा प्रमुख शीर्षक छन् । सुरुका पाइला, मोड र घुम्तीहरू; हाइस्कुलदेखि कलेजसम्म; शिक्षक हुँदाका काम र देखेका सपना; आक्रोशले ल्याएको नयाँ मोड; अमेरिकामा सुरुका ४ वर्ष; गाउँमा गरेका अनेकौँ अनुभवका २० वर्ष; दुर्गम गाउँहरूमा वायरलेस सञ्जाल र इन्टरनेट विस्तारको कथा; पछ्याउँदै आएका पदक र सम्मानहरूको ओइरो; ग्रामीण पर्यटन विकासका प्रयासहरू; केही व्यक्तिहरूले गरेका शङ्का उपशङ्काहरू र त्यसका उत्तर; राष्ट्रिय आविष्कार केन्द्र : अचानक देखेको एक बृहत् सपना; त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हातामा बसाइँसराइ; राष्ट्रिय आविष्कार केन्द्रलाई आत्मनिर्भर बनाउन गरिएका प्रयासहरू; उत्तराधिकारीको सवाल; अनुसन्धान तथा नवप्रवर्तनका लागि धर्ना र आन्दोलन; कथा लेखिसक्दासम्म नेपाल सरकारसँग भएका केही सहकार्यहरू; आफ्नै परिवारका कुरा र अन्त्यमा यस कृति अन्तर्गतका प्रमुख शीर्षक हुन् । यी प्रमुख शीर्षकहरूलाई प्रमाणित र पुष्टि गर्ने अनेक उपशीर्षक पनि यसमा छन् । यो किताब आद्योपान्त पढेर सक्दा महावीर पुनलाई सजिलोसँग चिन्न र गहिरोसँग उनको अन्तर्मन बुझ्न पर्याप्त सहयोग पुग्छ ।
कवि, दार्शनिक र वैज्ञानिकहरू प्रायः लहडी प्रकृतिका हुन्छन् । समाजले उनीहरूलाई अर्धपागलसमेत ठान्दछ भन्छन् । यस्तो गुण महावीर पुनमा पनि देखिन्छ । म्याग्दी जिल्लाको नाङ्गी गाउँमा जन्मेर हुर्केका महावीर पुनको आत्मकथा अचम्मलाग्दो छ । जिज्ञासा, उत्साह, हिम्मत, आशावाद, कर्मवाद, सङ्घर्ष, स्वअभियानमा अथक निरन्तरता, स्वाभिमान, सकारात्मक सोच, विकासप्रति प्रतिबद्धता, राष्ट्रवादी चिन्तन, त्यागको भाव, बोली र व्यवहारमा एकरूपता, सादा जीवन, उच्च विचारको दर्शन, केही हठ जस्ता अनेक गुणका एउटै व्यक्ति हुनुहुन्छ– महावीर पुन । वस्तुतः पुन पूर्णरूपेण स्वार्थको घेराबाट बाहिर निस्केका सक्कली समाजसेवी र अवैतनिक राष्ट्रसेवक हुनुहुन्छ ।
बाल्यकालदेखि नै जिज्ञासु प्रकृतिका पुनले सर्वप्रथम कुनै पनि वनस्पतिको जरामा पर्ने गरी मान्छेले लगातार केही दिन पिसाब गरेमा त्यो मर्दो रहेछ भन्ने पत्ता लगाएको कुरा यसमा उल्लेख गर्नुभएको छ । आफ्नो लगनशीलता र बुवाको सहयोगले आइएस्सीसम्मको शिक्षा आर्जनपश्चात् चितवनमा १३ वर्ष शिक्षण सेवा गरेको अनुभव सँगालेका पुनको जीवनको मोड त्यहाँका प्रमुख जिल्ला अधिकारीसँग भएको विवादपश्चात् अचानक बदलिन्छ । बाल्यकालदेखि नै सङ्घर्षको जीवन बाँच्न सिकेका पुनको जीवनको वास्तविक सङ्घर्ष यसपछि सुरु हुन्छ । शिक्षकको स्थायी जागिर छोडेर काठमाडौँ गई भौँतारिँदै गरेका पुनलाई कुनै शुभचिन्तकले अमेरिका जाने तयारी गर्न सुझाव दिएका थिए । त्यसपछिको तयारी र पटक पटकका असफलतापश्चात् उहाँको अमेरिका पढ्न जाने सपना पूरा हुन्छ । अन्ततः अमेरिकाबाट स्नातक र स्नातकोत्तर गरेका पुनले त्यहाँबाटै मानार्थ विद्यावारिधिको उपाधि पाउनुभएको पाइन्छ ।
नेपाल फर्किएपछि उहाँ चितवन नबसेर म्याग्दीको नाङ्गीमै गएर त्यस ठाउँको विकासमा केही गर्ने प्रतिज्ञा गर्नुहुन्छ । त्यहाँ उहाँले शिक्षा, सञ्चार र पर्यटन विकासका क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको देखिन्छ । गाउँमा माध्यमिक विद्यालय खोलेर त्यसको सञ्चालन गर्न आर्थिक स्रोत जुटाउन उहाँले गरेका कामहरू क्रमशः यसप्रकार छन्– प्लास्टिकको टनेल बनाएर गोलभेडा फलाउने, भैँसीको मासुको मम बनाएर बेच्ने, आरुबखडाको जाम बनाउने, नाङ्गीमा पर्यटकलाई बास बस्न चौरमा क्याम्प बनाउने, अङ्गोरा जातको खरायो पालेर त्यसको ऊन बेच्ने, नेपाली हातेकागज बनाउने, माहुरीपालन गर्ने, माछापालन गर्ने, गाईको दुधबाट चिज बनाउने आदि । यसबाहेक गाउँमा स्वास्थ्य सेवाका निम्ति उहाँले गरेको प्रयास पनि उत्तिकै महत्वपूर्ण छन् । माइक्रो हाइड्रोजन, गुगलको जन्म नहुँदै नेपालको बारेमा जानकारी दिने पहिलो वेबसाइट निर्माण, चौँरीपालनको सुरुवात, टेलिफोनको व्यवस्था, दुर्गम गाउँमा वायरलेस सञ्जाल र इन्टरनेट विस्तार जस्ता चुनौतीपूर्ण काम गर्दागर्दै पछि उहाँमा एकाएक राष्ट्रको आर्थिक उन्नतिका लागि केही नयाँ काम गर्ने विचार जागृत हुन्छ । देशको विकासमा शिक्षाको भूमिका महत्वपूर्ण हुन्छ भन्ने कुरा सामान्य हो भने अनुसन्धान, आविष्कार र नवप्रवर्तन प्रमुख कुरा हुन् । यिनलाई उच्च प्राथमिकता दिनु पर्छ भन्ने कुरालाई पुनले जोड दिनुभएको पाइन्छ । यसका लागि सरकारमा असल र सबल नेतृत्व लिने व्यक्तिको भूमिकाले महत्व राख्ने कुराप्रति उहाँले पुस्तकमा चर्चा गर्नुभएको छ । महावीर भन्नुहुन्छ, “व्यक्तिमा इच्छाशक्ति हुनु पर्छ, असम्भवलाई पनि सम्भवमा बदल्न सकिन्छ ।”
गाउँको विकास अभियानबाट फड्को मार्दै राष्ट्रको विकास कसरी गर्न सकिन्छ भन्ने गहिरो सोच लिएर अगाडि बढ्नुभएको पुनमा अचानक नवप्रवर्तनको चिन्तन प्रभावित हुन्छ । यसका लागि नै उहाँले ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरेको स्पष्ट हुन्छ । कसैले विकास गरेको कुनै प्रविधिलाई खोतलखातल गरेर सिक्ने र त्यसमा अलिकति नयाँ र सिर्जनशील विचार थपेर विकास गर्ने कामलाई नवप्रवर्तनको काम भनिन्छ (यसै पुस्तकबाट, पृष्ठ–१९६) । पुनको विचारमा नेपालले कहिल्यै पनि जिडिपीको आधा प्रतिशत पनि खर्च नगरेकाले देशको अर्थतन्त्र नसुध्रेको हो भने अर्थतन्त्र नसुध्रेकै कारण देशभित्र रोजगारीको अवसर सिर्जना हुन नसकेको हो । अनुसन्धान र नवप्रवर्तनका काम भएनन् भने देशमा कुनै पनि वस्तु बन्दैनन् र उद्यमीहरू जन्मिँदैनन् । उद्यमीहरू नजन्मेपछि देशमा रोजगारी सिर्जना हुँदैन । फलतः मुलुकको व्यापार घाटा चरम सीमामा पुग्छ र अर्थतन्त्र धराशायी हुन्छ ।
पुनले ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरेपछि राज्यबाट यसको विकासका लागि सहयोगको अपेक्षा गर्दै पाँच वर्षसम्म पटक पटक सिंहदरबार धाएको र पाँच पाँच जना प्रधानमन्त्रीलाई भेटेको, उनीहरूबाट वचन पाए पनि सहयोग केही नपाएको कटु अनुभव पुस्तकमा व्यक्त गर्नुभएको छ । मन्त्रीका कुरा सचिवले अवज्ञा गर्ने तथा अर्थसचिव र मुख्य सचिवका बिच मेल नहुने रहेछ भन्ने कुरा पनि पुनले यसमा व्यक्त गर्नुभएको छ । समग्रतः नेपालमा राजनीति गर्ने नेतृत्व र कर्मचारी प्रशासनका उच्चपदस्थ व्यक्तिहरूमा मुलुकको विकासबारे खासै सोच र चिन्तन नभएको तथ्योद्घाटन यसमा गरेको पाइन्छ ।
नेपालको राज्यसंयन्त्र मुलुकमा व्यावहारिक अनुसन्धानका लागि अलिकति पनि सचेत र जिम्मेवार छैन भन्ने कुरा यस कृतिको अध्ययनबाट स्पष्ट हुन्छ । राज्यले परोक्षतः नेपाली युवाको विदेश पलायनलाई प्रश्रय दिएको छ भन्दै पुनले यसमा चिन्ता प्रकट गर्नुभएको छ ।
मात्र दुई वर्षको अन्तरालमा १७ औँ संस्करणसम्म दुई लाख ५० हजार प्रति प्रकाशित भएको यो किताब बेचेर पुनले वीरगन्जमा पुनः सञ्चालन गरिएको ‘कृषि औजार कारखाना’ का लागि लगानी गर्नुभएको छ । समाज र राष्ट्रको उत्थान र मानव सेवामा समर्पित, जस्तो बोली उस्तै व्यवहारका महावीर पुन वास्तवमा बहुसङ्ख्यक नेपालीको ऐनामा देखिने परावर्तन हुन् भन्ने कुरालाई यस किताबले प्रमाणित गरेको छ ।
यस कृतिको भाषा सम्पादन अत्यन्त राम्रोसँग गरिएको छ । वर्णविन्यासगत त्रुटि कतै कतै भेटिन्छ । वाक्यगत त्रुटि पनि नगण्य छ । केही महत्वपूर्ण व्यक्ति तथा उपकरणका फोटोहरू र लिखित दस्ताबेजहरू पनि यस किताबमा समावेश छन् । महावीर पुनको उद्देश्यमूलक सङ्घर्षशील जीवनको आत्मकथा र उहाँबाटै उहाँका कर्मको नढाँटीकन र नबङ्ग्याईकन वर्णन गरिएका रोचक र रोमाञ्चक घटना एवं प्रसङ्गहरूले भरिएको यो कृति पठनीय, सन्देशमूलक र प्रेरणादायी छ । खास गरी राजनेता तथा योजनाविद्हरूले त नपढी नहुने किताब हो यो ।