• ३० फागुन २०८२, शनिबार

चैत ४ बाट तेस्रो लालबन्दी महोत्सव

blog

तेस्रो लालबन्दी महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, फागुन ३० गते ।
‘आर्थिक समृद्धि र स्वरोजगारको आधार : कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नारासहित तेस्रो लालबन्दी महोत्सव चैत ४ गतेदेखि सुरु हुने भएको छ ।

आयोजक उद्योग वाणिज्य सङ्घ लालबन्दीले शुक्रबार पत्रकार सम्मेलन गरी चैत ४ देखि १५ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो । महोत्सव व्यवस्थापन समितिका संयोजक दीपेन्द्रकुमार बलम्पाकीका अनुसार लालबन्दी नगरपालिका–९, बस्तीपुरस्थित भूदेव खाद्य उद्योग परिसरमा महोत्सव सञ्चालन हुने छ ।

महोत्सवमार्फत स्थानीय उत्पादन तथा सेवाको बजारीकरण, आन्तरिक तथा बाह्य लगानी प्रवर्धन, रोजगारीका अवसरहरुको सिर्जना, उद्यमशीलताको विकास तथा स्थानीय कला–संस्कृति, परम्परा र पहिचानको संरक्षण एवम् प्रवर्धनमा योगदान पुग्ने विश्वास लिइएको उद्योग वाणिज्य सङ्घ लालबन्दीले जनाएको छ । १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाख २० हजार दर्शक आउने आयोजकको अपेक्षा छ ।

महोत्सवमा करिव १० करोड रुपियाँ बराबर आर्थिक कारोबार हुने अनुमान गरिएको व्यवस्थापन समितिका संयोजक बलम्पाकीले बताउनुभयो । उहाँका अनुसार महोत्सव सञ्चालन गर्न करिव एक करोड पाँच लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

महोत्सवमा कृषि उत्पादन प्रदर्शनी, औद्योगिक तथा व्यवसायिक स्टल, अटोमोबाइल प्रदर्शनी, घरेलु तथा हस्ताकला प्रदर्शनी, होटल तथा रेस्टुरेन्ट सेवा, स्थानीय पर्यटकीय स्थलको प्रचार, होमस्टे अवधारणा प्रवर्धन, राष्ट्रियस्तरका कलाकारबाट प्रत्येक दिन साँस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ । महोत्सवस्थलमा सर्वसाधारणका लागि १०० रुपियाँ र विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रका आधारमा ५० रुपियाँ प्रवेश शुल्क तोकिएको छ ।

महोत्सस्थलमा १५० को हाराहारीमा स्टल रहने बताइएको छ । महोत्सवको चैत ४ गते मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलको प्रमुख आतिथ्यतामा उद्घाटन गर्ने गरी तीव्र रुपमा तयारी भइरहेको उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष महेशकुमार महतोले बताउनुभयो ।