• ३० फागुन २०८२, शनिबार

संसद्ले बनाउने कानुन र प्रवाह हुने सेवा जनमुखी हुनु पर्छ

blog

चन्द्र पन्दाक 

ताप्लेजुङ, फागुन  ३० गते  । ताप्लेजुङबाट निर्वाचित हुनुभएका क्षितिज थेबेको संसदीय यात्रा पारिवारिक विरासत बनेको छ । बुढो बाजे, बाजे, बाबु र आमाको राजनीतिक यात्रापछि क्षितिजले यसलाई विरासतकै रूपमा अगाडि बढाउने अवसर प्राप्त गर्नुभएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा उहाँ नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का तर्फबाट उम्मेदवार भई निर्वाचित हुनुभएको हो ।  

थेबेले विद्यालय तहमा अध्ययनरत रहँदादेखि नै राजनीति सुरु गरी एमालेनिकट अनेरास्ववियुको जिल्ला कमिटी सदस्य हुँदै एसएलसी र विज्ञान सङ्कायमा प्लस टु उत्तीर्ण गरेपछि बिएस्सी अध्ययनसँगै विद्यार्थी सङ्गठनमा पूर्णकालीन राजनीति सुरु गर्नुभएको हो । 

राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय सदस्य, सचिव, महासचिव हुँदै दुई कार्यकाल अध्यक्षको जिम्मेवारी पूरा गरिरहनुभएको छ । १० औँ महाधिवेशनबाट निर्वाचित भई पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा समेत रहनुभएको छ ।  थेबे ३८ वर्षमा  प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि उहाँले ताप्लेजुङवासी जनताको आवाज संसद्सम्म पु¥याउने जिम्मेवारी आफ्नो काँधमा आएको जिम्मेवारी बोध गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “म आफ्नो जिम्मेवारी र भूमिका निर्वाह गर्नमा कुनै कमी  हुन दिने छैन ।” 

उहाँ जिल्लाको विकास र समृद्धिका लागि सडकसहितका पूर्वाधार विकास, नगदे बाली अलैँचीको प्रवर्धनका साथै कृषिसँग सम्बन्धित किसानको समस्या समाधान गर्न निरन्तर लागिरहेन प्रतिबद्धता पनि व्यक्त गुर्नहुन्छ । उहाँले जनजीविकामा सुधार ल्याउने, गरिबी उन्मूलन गर्न संसद्ले बनाउने कानुन र सिंहदबारबाट प्रवाह हुने सेवा जनमुखी हुनुपर्नेमा जोड दिनुहुन्छ । 

थेबे आफ्नो प्रमुख एजेन्डामा किसानलाई मर्का नपर्ने गरी उत्पादित वस्तुको उचित मूल्य  निर्धारण र बजारीकरणमा राज्यले  विशेष ध्यान दिनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “किसानको आय वृद्धि गर्न र गरिबी उन्मूलन गर्ने  मेरो प्रमुख एजेन्डा रहने छ ।” थेबे जिल्लाको पर्यटन प्रवर्धन गरी पर्यटनलाई व्यवसायमा जोड्ने र कृषिलाई औद्योगिक रूपमा अगाडि बढाएमा जनतालाई आत्मनिर्भर बनाउन सकिने विश्वास गर्नुहुन्छ । उहाँ विधायकले उचित वातावरण बनाइदिए जनताको अवस्थामा  सकारात्मक परिवर्तन सम्भव हुने बताउनुहुन्छ । 

थेबेले गत २१ गते सम्पन्न निर्वाचनमा कुल १३ हजार ९६२ मत प्राप्त गर्नुभएको थियो ।  उहाँका बुवा भूपेन्द्र थेबे २०७० मा भएको दोस्रो संविधान सभा सदस्यको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । पञ्चायतकालीन समयमा प्रधानपञ्च हुँदै तत्कालीन बहुदलीय व्यवस्थामा नेकपा (एमाले) कै तर्फबाट दुई कार्यकाल तत्कालीन सिनाम गाउँ विकास समितिका अध्यक्ष हुँदै भूपेन्द्र थेबे संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

भूपेन्दपछि उहाँकी श्रीमती उर्मिला थेबे २०७९ मा एमालेकै समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्यको जिम्मेवारीमा पुग्नुभएको हो । त्यसो त क्षितिजका बाजे हजुरबुवा र बुढो बाजे पनि जनप्रतिनिधिको भूमिकामा रहनुभएको स्थानीयको भनाइ छ ।

क्षितिजका बाजे मनप्रसाद थेबे २०२४ देखि २०३२ सालसम्म तत्कालीन सिनाम गाउँ पञ्चायतका प्रधानपञ्च हुनुहुन्थ्यो भने बुढो बाजे (जिजु हजुरबुवा) भीमबहादुर थेबे पनि २०१७ देखि २०२४ सालसम्म प्रधानपञ्चकै जिम्मेवारीमा रहनुभएको बताइएको छ । पञ्चायतकालीन समयदेखि नै कम्युनिस्ट विचारमा आबद्ध थेबे परिवारले बहुदलीय व्यवस्थापछि नेकपा (एमाले) को राजनीति सुरु गर्नुभएको हो । अहिले पनि थेबेका बाबु भूपेन्द्र एमाले ताप्लेजुङका निवर्तमान जिल्ला कमिटी अध्यक्ष हुनुहुन्छ र आमा उर्मिला पार्टीको निवर्तमान केन्द्रीय कमिटी सदस्य हुनुहुन्छ ।